बेसीशहर, फागुन २८ गते । पर्यटकीय पसगाउँलाई चिनाउन तल्लीन तत्कालीन पसगाउँ गाउँ विकास समितिका अध्यक्ष समाजसेवी बलराम गुरुङको निधन भएको छ ।
हालको क्व्होलसाेंथार गाउँपालिका वडा नंं ६, पसगाउँ निवासी गुरुङको कलेजो सम्बन्धी रोगका कारण सोमबार निधन भएको हो । सोमबारै सिकिस्त बिरामी परेर पोखराको फिस्टेल अस्पतालमा भर्ना भएका गुरुङको सोमबार राती १० बजे निधन भएको हो । उनी गुरुङ ६५ वर्षका थिए ।
२०५४ को स्थानीय निर्वाचनमा तत्कालीन पसगाउँ गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित गुरुङ पसगाउँलाई बाहिरी संसारमा चिनाउने ब्यक्ति हुन् । लमजुङको सुदुर पश्चिममा अबस्थित गुमनाम पसगाउँलाई बाहिरी संसारलाई चिनाउने ब्यक्तिको नाम हो बलराम गुरुङ । पसगाउँलाई पर्यटकीय गाउँको रुपमा विकास गर्ने उनको सपनाले मूर्त रुप लिँदै गर्दा उनको निधन भएको छ ।
स्वर्गिय गुरुङको बुधवार पोखरामा अन्त्येष्टी गरिएको छ । उनको अन्त्येष्टिमा ठूलो संख्यामा पसगाउँका बासीन्दा सहभागी भए । नेकपा एमाले गण्डकीका सचिव धनञ्जय दवाडी, क्व्होलसोंथार गाउँपालिकाका अध्यक्ष सुर्य गुरुङ, पूर्व अध्यक्ष प्रेम घले लगायत नेताहरु पनि उनको अन्त्येष्टिमा सहभागी भएका थिए ।

कलेजोको विरामी उनी विगत दुई बर्षदेखि पोखरा बस्दै आएका थिए । पसगाउँ जस्तो विकट ठाउँमा स्वास्थ्यमा समस्या आएपछि उनी उपचारका लागि पोखरा गएकामा उनलाई कलेजो सम्बन्धी रोग लागेको पत्ता लागेको थियो । उपचारका लागि अस्पताल गइ रहनु पर्ने भएकाले उनी पोखरामै बस्दै आएका थिए ।
यही फागुन १८ र १९ गते सञ्चालन भएको पसगाउँ महोत्सवका लागि उनी गाउँ फर्केका थिए । गाउँको महोत्सव सम्पन्न गरेर पोखरा गएको उनलाई रोगले च्यापेपछि पुनः अस्पताल भर्ना भएकामा सोमबार उनको निधन भएको हो ।
शान्त, निर्मल स्वभावका गुरुङ धेरै सुन्ने, कम बोल्ने र आँटेको काम पुरा गर्ने स्वभावका थिए । उनकै नेतृत्वमा पसगाउँले पर्यटकीय गाउँको छवि बनाएको हो । २०५७ मा घलेगाउँले ग्रामीण पर्यटन अन्तर्गत होमस्टे शुरु गरी पर्यटकलाई स्वागत गर्न थालेपछि पासगाउँलाई पनि पर्यटकीय गाउँ बनाई स्थानीयको जिवनस्तर उकास्न सकिन्छ भन्ने सपना देख्दै पसगाउँमा होमस्टे शुरु गरेका थिए । उनी पसगाउँ ग्रामीण पर्यटन विकास समितिको अध्यक्ष समेत भए ।
२०६० सालमा पसगाउँलाई देश विदेशमा चिनाउने उद्देश्यले आयोजित पहिलो पसगाउँ महोत्सव उनकै नेतृत्वमा भएको थियो । गाउँलाई पर्यटकीय गाउँको रुपमा विकास गर्न सडक सञ्जालले जोड्नुपर्ने देखेका उनले बेसीशहरबाट पसगाउँलाई जोड्ने सडकको निर्माणका लागि सक्दो भूमिका खेले । उनले बेसीशहर–बाग्लुङपानी–साल्मेभञ्ज्याङ–पसगाउँ–सिङदी हरित सडकको निर्माणमा नेतृत्वदायी भूमिका खेल्दै उक्त सडक उपभोक्ता समितिका अध्यक्ष समेत भई काम गरे ।
पसगाउँमा माध्यामिक विद्यालय उनकै नेतृत्वमा खुलेको थियो । निमावि सम्म अध्यापन हुने पसगाउँ ठाँटी निमावि उनकै सक्रियतामा मावि बनेको थियो । पसगाउँका अगुवा उनले पसगाउँको विकासका लागि सक्दो योगदान गरेका थिए । विरामी भइ गाउँ छोडेर पोखरा जानुपूर्व उनी पसगाउँका हरेक सामाजिक काममा सरिक हुन्थे । मृत्युको केही दिन अघि विरामी अबस्थामा पनि उनी १५ औं पसगाउँ महोत्सवमा सरिक हुन पसगाउँ पुगेका थिए ।
स्वर्गिय गुरुङका १ श्रीमती र १ छोरा छन् ।
खबरकुञ्ज