टेलिमेडिसिनमार्फत गर्भवती महिला र शिशुको यसरी बच्यो ज्यान

मिलन शर्मा दनाई

बेसीशहर, जेठ ८ गते । डाक्टरलाई त्यसै भगवान भनिएको होइन । बिरामीहरुको जीवन बचाउन र बिरामीप्रति उनीहरुको निस्वार्थ सेवाभावका कारण डाक्टरलाई भगवानको रुपमा ब्याख्या गरिन्छ । चिकित्सा धर्म अनुसार मृत्युको मुखमा पुगेका बिरामीलाई नयाँ जीवन दिनु, उनीहरुले भोगिरहेको पीडा कम गराउनु जस्ता कामले डाक्टरहरुले भगवानको दर्जा पाएका हुन् । मान्छेलाई जीवन त  भगवानले दिन्छन्, डाक्टरले भने बिज्ञानको आधारमा आफूले सिकेको उपचार पद्धतिले मृत्युको मुखमा पुगेका बिरामीलाई नयाँ जीवन प्रदान गर्छन् । 

भगवानले हाम्रो दुःख र कष्ट हटाउँछन् भनेर नै हामी भगवानको भक्ति गर्छौं । डाक्टरले पनि बिरामीको शारीरिक र मानसिक पीडालाई आफ्नो ज्ञान र सीपले निको निको पारिदिन्छन् । दिन होस या रात डाक्टरहरुको निस्वार्थ सेवा र त्यागले हामीलाई भगवानको अभाव हुन दिँदैन । मान्छे रोगले थलिएर निराश भएका बेला डाक्टरका मीठा बोली र उपचारले बिरामीलई बाँच्ने नयाँ आशा प्रदान गर्छ । यिनै गुण र सेवाभावले डाक्टरलाई भगवानको रूपमा सम्मान गरिन्छ ।

अस्पतालमा जचाउन आएका बिरामीलाई त डाक्टरहरुले जाँच गरेर निको पार्छन । तर प्रविधिले अहिले पहुँच बाहिरका बिरामीलाई पनि डाक्टरहरुले घरबाटै उपचार गर्न सक्छन् । चाहे बिरामी शहरमा होस् या दुरदराजका गाउँमा । गम्भीर प्रकृतिका रोग हुन या दुर्घटनाबाट घाइते भएका या सुत्केरी हुन लागेका महिला हुन् डाक्टरले टाढैबाट पनि उपचार, सहयोग र सल्लाहले बिरामीको उपचार गर्न सम्भव भएको छ ।

यही टेलिमेडिसिन सेवाबाट लमजुङमा एक गर्भवती महिला र नवजात शिशुको ज्यान जोगिएको छ । लमजुङको क्व्होेलसोथार गाउँपालिका वडा नंं ५ सिङदीमा बिहीबार रातीदेखि प्रसुति ब्यथाले छटपटिएकी एक महिलाको शुक्रबार टेलिमेडिसिनको मद्दतले सफल प्रसुति गराइएको छ ।

क्व्होलसोथार गाउँपालिका वडा नंं ५ सिङदीकी २६ बर्षिया प्रियङ्का गुरुङ प्रसुति ब्यथाले च्यापेर बिहीबार राती ८ बजेतिर सिङदी स्वास्थ्य चौकीमा पुगिन् । स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले उनको जाँच गरे । पाठेघर धेरै खुलेको थिएन, त्यसैले उनीहरुले बिरामीलाई स्वास्थ्य केन्द्रमा नै अब्जरभेसनमा राखे । सुत्केरी ब्यथा लागे पनि शुक्रवार  बिहानसम्म पनि उनले बच्चा जन्माउन सकिनन् । 

ब्यथा लागे पनि शुक्रबार बिहान ८ बजेसम्म पनि उनको पाठेघरको मांशपेशीहरु राम्रोसंग खुम्चने फुक्ने हुन नसकेपछि उनले बच्चा जन्माउन सकिनन् । आमा र बच्चालाई जोगाउन के गर्ने भन्ने सल्लाह भएपछि पोखराबाट हेलिकोप्टर बोलाउने सल्लाह पनि भयो । कसैले प्रदेश अस्पताल बेसीशहरमा लैजाने पनि भने । पोखरामा सुत्केरी हुने अबस्थाका महिलाहरुका लागि प्रदेश सरकारले ब्यवस्था गर्ने हेलिकोप्टरका लागि पनि पहल भयो । यता यो खबर पालिका अध्यक्ष सुर्यप्रसाद गुरुङकोमा पनि पुग्यो । पालिकामा एम्बुलेन्स नभएकाले पालिकाकै गाडीमा भए पनि उनलाई प्रदेश अस्पतालसम्म लैजाने सल्लाह पनि भइरहेको थियो । अध्यक्ष गुरुङ आफू चढ्ने गाडीबाट सुत्केरी महिलाको उद्धारका लागि तयार भए ।

त्यतिकैमा प्रदेश अस्पतालमा यो कुराको जानकारी गराइयो । प्रदेश अस्पतालका डाक्टरहरु बिहानको कन्फरेन्स र राउण्डसंगै एउटा शल्यक्रिया सकेर खाना खाने तयारीमा थिए । प्रदेश स्वास्थ्य मन्त्रालय पोखराबाट अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा शिशिर देवकोटा लगायत अस्पतालको गाइनो डिपाट्र्मेन्ट लाइ यो खबर आयो । 

सुत्केरीलाई रिफर गर्दा आमा र बच्चाको ज्यानको जोखिम हुने आकलन पछी अस्पतालका डाक्टरहरुले टेलिमेडिसिनको प्रयोग गर्ने निधो गरे र टेलिमेडिसिनमार्फत सिङदी स्वास्थ्य चौकीमा सम्पर्क गरे । अस्पतालकी स्त्रीरोग बिशेषज्ञ डा संचिता चापागाइँ खाना खाँदै थिइन् । खान छोडेर उनले सिङदी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई निर्देशन आवश्यक दिइन् । 

सुत्केरी ब्यथा लागे पनि गुरुङले बच्चा जन्माउन सकिरहेकी थिइनन् । यस्तो अवस्थामा इन्स्ट्रुमेण्टल डेलिभरी (बच्चा बाहिर निकाल्न सहायक उपकरणको प्रयोग गरिने प्रक्रिया ) गर्नुपर्ने अवस्था थियो ।  यसमन लनगि गर्भको बच्चाको टाउको समातेर सावधानीपूर्वक बाहिर निकाल्न चिम्टा–जस्तो उपकरण प्रयोग गरिन्छ । अर्को भ्याकुम डेलिभरी अर्थात बच्चाको टाउकोमा सानो कप टाँसेर हल्कासंग बाहिर निकाल्ने प्रविधिको प्रयोग गर्न सकिन्थ्यो, तर सिङदीमा त्यो पनि सम्भव थिएन ।

लामो समयसम्म प्रसव रोकिँदा जन्मन लागेको बच्चालाई अक्सिजन कमी हुन सक्छ । बच्चाको टाउको तल आइसकेको तर बाहिर ननिस्किएको अवस्थामा यस्ता विधि अपनाउने गरिन्छ । प्रसव लामो समयसम्म अड्किने, पाठेघरको मुख राम्रोसँग नखुल्ने र गर्भवतीलाई धेरै थकान भइ बेहोस नै हुन सक्ने अवस्था पनि आउँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्न सक्छ । यस्तो अवस्थामा औषधी दिएर कन्ट्राक्सन (ब्यथा लगाउने औषधी दिने) बढाउनु पर्ने वा शल्यक्रिया गर्नुपर्ने अवस्था आउँछ । 

ती गर्भवतीलाई साल्मो स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले औषधी पनि दिए तर सहजै बच्चा नजन्मेको बुझेपछि डा चापागाइँले टेलिमेडिसिनमार्फत आबश्यक सल्लाह दिँदै गइन् । उनको निर्देशन अनुसार स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले काम गर्दै गए । बीचबीचमा डा. चापागाइँ स्वास्थ्यकर्मीहरुलाई स्याबास स्याबास भन्दै हौसाउँदै थिइन् । बिहान ११ बजे अन्ततः प्रसुति सफल भयो । प्रियंका गुरुङले छोरी जन्माइन् ।

अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।


प्रतिक्रिया