बेसीशहर, कार्तिक १० । लमजुङ र धादिङका दनै बन्धुहरुबीच बेसीशहरमा ऐतिहासिक पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ ।
तिहारको लगत्तै धादिङबाट ३० जना दनै बन्धुहरु पुनर्मिलन कार्यक्रममा सहभागी हुन शनिबार बेसीशहर आइपुगेका हुन् । धादिङको ज्वालामुखी गाउँपालिका वडा नंं ७ चैनपुरबेसी मूल थलो भइ हाल धादिङका विभिन्न ठाउँ, काठमाडौं, चितवनमा बसोबास गर्ने दनैबन्धुहरु पुख्र्यौली थलो र बंशाबलीको खोजीमा बेसीशहर आइपुगेका हुन् ।
यस अघि २०७५ कार्तिकमा लमजुङको बेसीशहर नगरपालिका वडा नंं ३ दनैगाउँ मूलथलो रहेका दनैबन्धुहरु धादिङ पुगेका थिए । १२ जनाको समूहमा पुगेका लमजुङे दनैहरुले दनैहरुको मूलथलो, बंशाबलीका साथै कूलदेवता पूजा सम्बन्धमा त्यहाँ छलफल गरेका थिए ।

आगन्तुकहरुलाई बेसीशहरका दनैहरुले करपुरेश्वर पार्कमा भब्य स्वागत गरे । स्वागतपश्चात परिचयात्मक कार्यक्रम आयोजना गरियो । कार्यक्रममा १४÷१५ बर्षका किशोरदेखि ८७ बर्षका ज्येष्ठ नागरिक समेत सहभागी थिए ।
आइतबार धादिङबाट आएका दनैबन्धुहरुले गाउँशहरमा रहेको ऐतिहासिक लमजुङ दरबार, कालिका भगवती, चण्डीदेवी, गोरखनाथ मन्दिर, शिवालय मन्दिरका साथै काउलेपानी होमस्टेको अवलकोकन गरे । त्यहाँबाट देखिने सुन्दर हिमश्रृंखलाहरुलाई पृष्ठभूमि बनाएर तस्वीर लिए । उनीहरुले दनैगाउँमा निर्माण भएका दनै कूल मन्दिरको पनि दर्शन गरे ।

आइतबार दनैहरुको पुख्र्यौली थलो दनैगाउँमा दुवै जिल्लाका दनैबन्धुहरुले थुप्रै बिषयमा अन्तरक्रिया गरे । अन्तरक्रियामा मूलतः दनैहरुको मूल थलो, बंशाबली र कूलदेवताको पूजनविधिका बिषयमा छलफल भएको दनाई कल्याणकारी समाज लमजुङका अध्यक्ष भूपाल बहादुर दनाईले जानकारी दिए ।

छलफलमा आर्यहरु उत्तर भारतबाट नेपाल प्रवेश गर्ने क्रममा दनै बन्धुहरु पनि नेपााल प्रवेश गरेका भए पनि नेपालमा उनीहरुको आदिम र मूल थलो लमजुङ वा धादिङ कहाँ हो भन्ने बारे विस्तृत अनुसन्धान हुनुपर्नेमा जोड दिइएको समाजका उपाध्यक्ष गमबहादुर दनाईले जानकारी दिए ।
सो अवसरमा लमजुङका दनैहरुले १६ औं सताब्दीमा राजा यशोब्रह्म शाहको दरबारमा दनैको पूर्वज विश्वनाथ उपाध्याय दनै मूल पुरोहितको रुपमा रहेका र सोबापत तत्कालीन राजाले विर्ता दिएका जानकारी गराए । धादिङका केही दनैहरुले पनि आफूहरु पनि विश्वनाथ दनैका सन्तान रहेको सुने पनि यसको पुष्टि हुन नसकेको बताए । छलफलमा पूर्वजहरु लमजुङबाट धादिङ गएका हुन् वा लमजुङका दनैहरु धादिङबाट आएका हुन् भन्ने स्पष्ट प्रमाण नभेटिएकाले यसबारे थप अनुसन्धान हुनुपर्नेमा जोड दिइयो ।
कार्यक्रममा धादिङ चैनपुरबेसीका पण्डित नविन दनैले धादिङका दनैहरुले बर्षको ४ पटक बडादशैं, न्वागी, चैतेदशै र साउने संक्रान्तिमा कूलदेवताको पूजा गर्ने चलन रहेको जानकारी गराए । त्यस्तै लमजुङका पुजारी करुणनिधि दनाईले लमजुङमा बर्षको दुईपटक बडादशैं र न्वागीमा कूलदेवता पूजन हुने गरेको जानकारी गराए । सो अवसरमा कूलदेवताको पूजाविधि र पूजा समयमा एकरुपता ल्याउने बिषयमा पनि छलफल भएको थियो ।

कार्यक्रममा दुवै जिल्लाका दनैहरु मूलतः एकै पुर्खाका सन्तति भएकामा विवाद नरहेको निश्कर्षसहित पुर्खाहरुको खोजी गरी बंशाबली तयार गर्न, दुवै जिल्लाका बन्धुहरुबीचको आपसी एकता, सदभाव र भाइचारालाई थप मजबुत बनाइ अघि बढ्न लमजुङ धादिङ समन्वय समिति गठन गरिएको छ । ७ सदस्यीय समन्वय समितको संयोजकमा दनाई कल्याणकारी समाज लमजुङका अध्यक्ष भूपाल बहादुर दनाई सहसंयोजकमा दनै कल्याणकारी समाज धादिङका अध्यक्ष चन्द्रप्रसाद दनै चयन भएका छन् । सदस्यहरुमा लमजुङबाट गम वहादुर दनाई, मन्दिरा दनाई, बालकृष्ण दनाई र धादिङबाट पंण्डित नबिन दनै र कमल प्रसाद दनै चयन भएका छन् ।
कार्यक्रममा दनै कल्याणकारी समाज धादिङका अध्यक्ष चन्द्रप्रसाद दनैले जातीय एकता र भाइचाराका लागि दनाई कल्याणकारी समाजले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्दै धादिङमा पनि लमजुङकै सिको गर्दै दनै कल्याणकारी समाजको गठन भएको जानकारी दिए ।
अन्तरक्रियाकै क्रममा गएको स्थानीय निर्वाचनमा धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका यमनाथ दनै, बेसीशहर नगरपालिकाको वडा नं. ३ मा वडाध्यक्ष निर्वाचित भएका चित्रबहादुर दनाई, बेसीशहर ८ को वडा सदस्यमा निर्वाचित सरोज कुमार दनाईलाई सम्मान गरिएको थियो । साथै कूलदेवता मन्दिर निर्माणमा सहयोग गर्ने धादिङका दुईजना दनै बन्धुहरुलाई पनि कदर पत्रले सम्मान गरिएको थियो ।
खबरकुञ्ज