सर्वोदय सेवाश्रम धर्मनाथधाममा यस बर्ष पनि श्रावणी बोलबमको भब्य आयोजना हुँदै

खबरकुञ्ज

बेसीशहर, असार ३० गते । लमजुङको राईनास नगरपालिका वडा नंं ८ हर्राबोटमा रहेको सर्वोदय सेवाश्रम धर्मनाथधाममा यस बर्ष पनि श्रावणी बोलबमको भब्य आयोजना हुने भएको छ ।

सर्वोदय सेवाश्रमले मानवीय सेवासंगै सर्वोदय ज्येष्ठ नागरिक आश्रमलाई धार्मिक पर्यटनको केन्द्र समेत बनाउने उद्देश्यले आश्रम परिसरलाई धर्मनाथ धामको रुपमा विकास गरेकाो छ । गत बर्ष श्रावण महिनाभर सर्वोदयमा पहिलो पटक बोलबम मेला आयोजना भएकाोमा यस बर्ष गत बर्ष भन्दा पनि भब्य रुपमा बोलबम आयोजना गर्ने तयारी गरिएको छ । 


यस बर्षको श्रावणी स्नान बोलवम मेलाको शुभारम्भ नेपाल राष्ट्रका प्रथम जगद्गुरु चतराधामका पीठाधीश वालसन्त मोहनशरण देवाचार्य महाराजश्रीबाट हुने सर्वोदय सेवाश्रमले जनाएको छ । 

साउन महिनाको सोमबार शिवालयहरुमा बोलबम आयोजना हुने गर्छ । धर्मनाथ धामको रुपमा विकास हुँदै गरेको सर्वोदय सेवाश्रममा बोलबम मनाउन जिल्ला भित्र र बाहिरबाट समेत तीर्थालु भक्तजनहरु आउने छन् । बोलबम तीर्थयात्राले धर्मनाथ धामको प्रचारप्रसार सँगै धार्मिक पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने विश्वास गरिएको सर्वोदय सेवाश्रमका संस्थापक अध्यक्ष एवं धर्मनाथधामका परिकल्पनाकार कृष्णराज ओलियाले जानकारी दिए ।

सर्वोदय सेवाश्रमको मानवीय सेवासँगै आश्रमलाई गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक केन्द्रको रूपमा विकास गर्ने लक्ष्य साथ विभिन्न धार्मिक संरचनाहरुको निर्माण गरिएका छन् । 

आगामी साउन ४ गते सोमबार बोलबम मेलाको भब्य उद्घाटन हुने छ । साउन ११, १८ र २५ गते सोमबार धर्मनाथ धाममा बोलबमसहित विशेष पूजा अर्चनासहितका धार्मिक अनुष्ठान हुनेछन् । 

साउन ४ गते पहिलो सोमबार पूवांङ्ग, उद्घाटनसहित मञ्चका कार्यक्रमका साथ भजन कीर्तन, प्रवचन, प्रसाद वितरण र साँझ आरतीको कार्यक्रम तय गरिएको छ । साउन ११, १८ र २५ गते नियमित हवन, रूद्रिपाठ, प्राण प्रतिष्ठा, पूजा पाठ आध्यात्मिक गुरूहरूको विशेष प्रवचन, भजन किर्तन तथा धार्मिक सांस्कृतिक प्रस्तुतिका साथमा शिवलिङ्ग जलाभिषेक, प्रसाद वितरण हुने छ । साउनकाो अन्तिम सोमबार विशेष पुजा सहित पूर्णाहुति गरि समापन समारोह गरिने सर्वोदय सेवाश्रमका अध्यक्ष ओलियाले जानकारी दिए ।

बोबलम उद्घाटन समारोहमा जिल्लाका राईनास, धमिलीकुवा, कुन्छा, परेवाडाँडा, सुन्दरबजार, बेसीशहर लगायतका स्थानबाट आउने भजनमण्डलीले संगीतमय भजन कीर्तनसमेत गर्ने छन् ।


बोलबम धार्मिक मेलामा धर्मनाध धाममा रहेका १०८ गोमुखी धारामा स्नान, १०८ शिवलिङ्गसहितको कैलाश पर्वत परिक्रमाका साथमा १००८ शालीग्रामको दर्शन गर्न सकिने छ । यसबाहेक पूजाअर्चना, कथावाचन, भजन किर्तन सहित शिवलिङ्गमा जलार्पण लगायत धार्मिक अनुष्ठानका कार्यक्रम साउन महिनाभर गरिने छ ।

प्रतिक्रिया