बेसीशहर, जेठ ११ गते । लमजुङको सुन्दरबजार नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ऐतिहासिक प्रथम नगर अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । आइतबार सम्पन्न नगर अधिवेशनले बिमल प्रसाद अधिकारीको सभापतित्वमा नयाँ नगर समिति सर्बसम्मतिले निर्वाचित गरेको छ ।
नगर समितिको उपसभापतिमा राजेन्द्र अधिकारी, सचिवमा माधवप्रसाद तिमिल्सिना, सहसचिवमा सरिता घिमिरे अधिकारी निर्वाचित भएका छन् । समितिका सदस्यहरुमा भीमनाथ गौली, जीवन अधिकारी, आनन्दराज श्रेष्ठ, मीरा घिमिरे अधिकारी, डम्मर बहादुर थापा, सनिल बराल र मोहनकृष्ण भट्ट निर्वाचित भएका छन् ।
नगर अधिवेशनले प्रदीप पोखरेल र श्रीराम पोखरेललाई केन्द्रीय महाधिवेशन प्रतिनिधि, सुर्यबहादुर बुढापृथी र बुद्धिबहादुर खड्कालाई प्रदेश अधिवेशन प्रतिनिधि तथा जगतबहादुर खड्का, निर्मल केसी र दीपेन्द्र न्यौपानेलाई जिल्ला अधिवेशन प्रतिनिधि सर्वसम्मतिले निर्वाचित गरेको छ ।
समितिमा आदिवासी जनजाति, दलित महिला लगायतका सदस्यहरु निर्वाचित समितिले चयन गर्ने छ । रास्वपाका केन्द्रीय संगठन विभागका सदस्य एर्व प्रतिनिधि सभा सदस्य धर्मराज केसीको उपस्थितिमा आइतबार अबेर निर्वाचन समितिका संयोजक एवं गण्डकी प्रदेश समितिका सचिवालय सदस्य हरिबहादुर धितालले नयाँ नगरसमिति, महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि एवं जिल्ला अधिवेशन प्रतिनिधिहरु सर्बसम्मत निर्वाचित भएको घोषणा गरेका हुन् ।
नगर अधिवेशनको रास्वपाका केन्द्रीय सदस्य प्रदीप पाण्डे तथा प्रतिनिधि सभा सदस्य धर्मराज केसीले घण्टी बजाएर संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा शुभकामना ब्यक्त गर्दै सांसद केसीले रास्वपाको सरकारले केन्द्रीय सरकारका कामलाई कार्यान्वयन गर्न अब हुने स्थानीय तहको निर्वाचनमा पनि रास्वपालाई जिताउन तनमन दिएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे । उनले रास्वपाको सरकारले देश र जनताको पक्षमा सकरात्मक कामको शुरुवात गरेको र सरकार गठन भएदेखि नै जनताले सुशासनको महशुस गर्न थालेको भन्दै देशलाई सुशासनको जगमा विकासको पथमा अग्रसर हुन कसैले रोक्न नसक्ने भन्दै अबको ५ बर्ष मात्र नभइ ५० बर्षसम्म देशमा रास्वपाको सरकार रहने ठोकुवा गरे । उनले विभिन्न देशमा भएको विकासको उदाहरण दिँदै मानवीय श्रोत मात्र भएका देशले पनि विकासमा फड्को मारेको भन्दै सुशासनकै अभागमा असिमित श्रोत, साधन र जनशक्ति रहेको नेपालको विकास अहिलेसम्म हुन नसकेको बताए ।
पार्टीका केन्द्रीय सदस्य प्रदीप पाण्डेले रास्वपाको बिधान, नीति, कार्यक्रम र सरकारका सकरात्मक काम कारबाहीप्रति कार्यकर्ताहरु जानकार रहनुपर्नेमा जोड दिँदै पार्टी र सरकारले गरेका राम्रा काम जनताबीच प्रवाह गर्न आग्रह गरे । उनले रास्वपाका कार्यकर्ताहरु शालीन, भद्र भएर विपक्षीहरुसंग वैचारिक रुपमा बहस गर्न सक्नुपर्ने र त्यसका लागि सरकार र पार्टीका दस्ताबेजहरुको अध्ययन गर्नुपर्नेमा जोड दिए ।
केन्द्रीय प्रवास विभागका सचिव पदमराज पन्थीले पुराना राजनीतिक दलका कारण देशमा ब्यप्त भ्रष्टाचार, कुशासनका कारण जनताले रास्वपालाई रोजेका भन्दै पार्टी सरकार र कार्यकर्ताले समेत अब देश र जनताको हितमा अबिच्छिन्न काम गरेर जनताको मन जित्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा रास्वपाको उर्जा तथा जलस्रोत विभागका सदस्य राजेन्द्र वस्ती, श्रम तथा उपभोक्ता हित विभागका सदस्य कृष्णहरि अधिकारी, जनसम्पर्क विभागका सदस्य भोला शर्मा, गण्डकी प्रदेशका सचिवालय सदस्य हरि बहादुर धिताल, गण्डकी प्रदेशको संगठन विभागका सचिव सन्तोषी गौलीलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा गण्डकी प्रदेशको संगठन विभागका सदस्य ज्ञानेन्द्र शर्माको सहजीकरण गरेका थिए ।
खबरकुञ्ज