बेसीशहर, जेठ ३० गते । प्रदेश अस्पताल लमजुङमा पहिलो पटक भाँचिएको लिंग (पेनाइल फ्रयाक्चर) को सफल शल्यक्रिया गरिएको छ ।
गत जेठ २७ गते लमजुङकै एक २० बर्षिय विवाहित युवाको भाँचिएको लिङ्गको अस्पतालमा सफल सल्यक्रिया गरिएको हो । अस्पतालले दिएको जानकारी अनुसार लिङ्ग भाँचिएको १२ घण्टापछि ती युवा उपचारका लागि अस्पताल पुगेका थिए ।
अस्पतालका प्रमुख डा. शिशिर देवकोटा, जनरल सर्जन डा. नारायण प्रकाश शर्मा, एनेस्थेसियोलोजिष्ट डा. शिशिर खड्का, एनेस्थेसिया सहायक राम कृष्ण खत्री, स्टाफ नर्स करुणा रेग्मी र अनमी शोभा श्रेष्ठ शल्यक्रियामा संलग्न थिए ।
शल्यक्रिया गरिएका ती युवा हाल निको भइ घर फर्कि सकेका छन् । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएकाे छ ।
सामान्यतया पुरुषहरुमा यौन क्रिडाका बखत लिङ्ग भाँचिएका थुप्रै उदाहरण छन् । तर ती युवाको लिङ्ग भने यौन क्रिडाका क्रममा नभै अरु नै कारणले भाँचिएको र शल्यक्रियापश्चात एक/डेढ महिनापछि उनको लिङ्ग पूर्ववत अवस्थामा फर्कने अस्पतालका प्रमुख देवकोटाले जानकारी दिए ।
लिङ्ग भाँचिने दुर्लभ घटना हुन् । प्रायः यौन क्रिडाका बखत महिला पुरुष भन्दा माथि बस्दा लिङ्ग भाँचिने सम्भावना बढी हुने बताइन्छ । लिङ्ग भाँचिएपछि लिङ्गमा रगत जम्ने, उत्तेजित नहुने र निष्क्रिय हुने हुन्छ । समयमै शल्यक्रिया गरेमा भाँचिएको लिङ्ग पुर्ववत अवस्थामा फर्कने चिकित्सकहरु बताउँछन ।
केही दिन अघि दाङमा पनि २९ बर्षिय एक पुरुषको लिङ्ग भाँचिएपछि शल्यक्रिया गरिएको थियो ।
खबरकुञ्ज