सुन्दरबजार । लमजुङको सुन्दरबजार नगरपालिकाले कृषिमा आधुनिकीकरण र ब्यवसायीकरण गर्दै कृषि र पशुपालनका सामूहिक कामबाट रोजगारी सृजना गरी नगरको गरिबी घटाउने नीति अख्तियार गर्ने भएको छ । ।
शुक्रबार सुन्दरबजारमा आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख कृष्णप्रसाद कोइरालाले आगामी बर्ष शिक्षा र स्वास्थ्यका कामहरु गणुस्तरीय बनाई जनताको घरआँगनसम्म पुर्याउने, बाटोको सत्रु पानी, बाटोको सुरक्षाका लागि नालीमा लगानी अभियान अन्तर्गत भौतिक विकासका कामको प्राथमिकीकरण गर्ने, सुन्दरबजार नगरपालिकाका कर्मचारीको क्षमता विकासका कार्यक्रम मार्फत काम कर्तब्य र अनुशासन प्रति जागरुक बनाई जनमैत्री सेवा प्रवाह गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
नीति तथा कार्यक्रम प्रस्ुतत गर्दै नगरप्रमुख कोइरालाले जनप्रतिनिधि तथा कर्मचारीको अतिरिक्त भत्ता कटौति गरी चालु खर्च कम गर्ने र नागरिकलाई प्रत्यक्ष राहत हुने गरि पूँजीगत खर्च बढाइने जानकारी दिए । उनले नगरभित्र सडकका नयाँ ट्रयाक खोल्ने कार्यलाई निरुत्साहित गरी पुराना सडकहरुको स्तरोन्नति गर्ने नीति लिइने जानकारी दिए ।
उनले नगरका गौरवका योजना सञ्चालन गरी भौतिक तथा सामाजिक रुपमा सुन्दरबजारलाई सुसंस्कृत नागरिक बसोबास गर्ने स्थलको रुपमा परिचित गराउने अभ्यासमा जोड दिइने बताए ।
उनले ससाना योजनामा रकम छर्ने तत्कालका लागि नागरिकलाई खुशी पार्ने योजनाको सट्टामा जनताको जीवनस्तरमा दीर्घकालीन महत्व राख्ने योजना छनोट गरिने बताए । साथै सुन्दरबजारमा बहुद्देश्यीय सिटीहल, फोहोरमैला प्रशोधन केन्द्र स्थापना तथा सञ्चालन जस्ता योजनालाई प्राथमिकता दिइने बताए । उनले मूल सडकबाट वडा कार्यालय तथा स्वास्थ्य संस्था जोड्ने सडकको निर्माण र सडक स्तरोन्नतिका लागि सडक नालीको निर्माणमा विशेष जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख गरे ।
नीति तथा कार्यक्रममा सुन्दरबजारलाई शैक्षिक हबको रुपमा विकास गर्ने, लमजुङ कृषि क्याम्पसमा कृषि र पशु विज्ञानको स्नातकोत्तर कक्षा सञ्चालन गरी मातृभूमि क्याम्पसलाई त्रिविको आंगिक क्याम्पस बनाउन पहल गर्ने उल्लेख छ ।
नीति तथा कार्यक्रममा समृद्धिको आधार उद्योग र ब्यापार भन्ने मान्यतालाई चरितार्थ गर्न कृषि क्षेत्रको आधुनिकीकरण गरी आर्थिक बृद्धिको आधारलाई बलियो बनाइने उल्लेख छ ।
नीति तथा कार्यक्रम पुरै हेर्न यहाँ क्लिक गर्नुहाेस् ।