बेसीशहर, असोज ७ गते । लमजुङको राईनास नगरपालिका वडा नंं ६ धमिलीकुवामा यही आउँदो असोज ११ देखि २४ गतेसम्म प्रथम राईनास महोत्सव एवं दशैं मेला २०८१ आयोजना हुने भएको छ ।
राईनास क्षेत्रको कला, संस्कृति, कृषि, पर्यटन र खेलकुदको विकासका लागि र नजिकिँदो बडा दशैंमा राईनासबासीका लागि सुलभ मूल्यमा मालसामनको खरिद र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
हाम्रो पहिचान, कृषि, पर्यटन र खेलकुद राईनासको शान भन्ने नाराका साथ १४ दिनसम्म सञ्चालन हुने दशैं मेलामा विभिन्न प्रकारका सस्ता लत्ता कपडा, जुत्ता, चप्पल, कस्मेटिक तथा अन्य सामग्री, हस्तकलाका सामग्री, अटोमोबाइलका सामग्रीहरु विक्रीका लागि राखिने छन् ।
मेलामा हरेक दिन लाइभ दोहोरीका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति राखिएको छ ।
यसबाहेक मेलामा कृषि प्रदर्शनी, बैंक तथा वित्तिय संस्थाहरुको प्रदर्शनी विभिन्न जातजातिका भेषभूषा तथा परिकारहरु, राइनास नृत्य प्रतियोगिता चिल्ड्रेन पार्क तथा रमाइलो मेला र विभिन्न मनोरञ्जनात्मक खेलहरु आयोजना हुने छन् ।
गौलीटार क्षेत्रीय खेल मैदान समितिको आयोजना, विशशंकर युवा क्लव राईनास ९ को सह आयोजना र राईनास नगरपालिका एवं राईनासका सबै वडाहरुको संरक्षकत्वमा दशैं मेला आयोजना हुन लागेको हो ।
दशैं मेलाका अवसरमा राईनास ख्यातिप्राप्त लोकदोहोरी कलाकारहरु राजु परियार, पशुपति शर्मा, प्रिति आले, शान्तिश्री परियार, मञ्जु विक, हास्यकलाकारहरु धुर्मुस सुन्तली लगायतका कलाकारहरुले प्रस्तति दिने बताइएको छ ।
महोत्सव नारायणी फेयर एक्जीवेसन नेपाल चितवनकाे ब्यवस्थापनमा हुन लागेकाे हाे ।
महोत्सवमा राईनास आइडल खुला नृत्य प्रतियोगिता, प्रथम राईनास कप भेट्रान्स फुटबल प्रतियोगिता समेत आयोजना हुने छ । नृत्यतर्फ प्रथम हुनेलाई नगद २१ हजार, द्वितीय हुनेलाई नगद ११ हजार र तृतीय हुनेलाई नगद ५ हजारका साथमा पदक र प्रमाणपत्र दिइने छ । नृत्यतर्फ यही असोज १० गतेदेखि अडिसन शुरु हुने आयोजक गौलीटार क्षेत्रीय खेल मैदान समितिले जनाएको छ ।
खबरकुञ्ज