बेसीशहर, माघ २२ । दम तथा श्वास प्रश्वासको समस्याबाट ग्रस्त लमजुङको चितीका बासीन्दालाई खुशीको खबर छ ।
अब चितीमा स्वास प्रश्वासको समस्या भएका विरामीहरुलाई आवश्यक पर्दा अक्सिजन लगाउन जिल्ला अस्पताल वा जिल्ला बाहिर धाउन नपर्ने भएपछि खुशीको खबर छाएको हो ।
चितीमा रहेको चितीथला स्वास्थ्य चौकीलाई हालै ५ थान अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको छ । वडाध्यक्ष शिवप्रसाद जोशीको समन्वयमा हेक्याप नामक गैरसरकारी संस्थाले चितीथला स्वास्थ्य चौकीका लागि ५ थान अक्सिजन कन्सेन्ट्रेटर उपलब्ध गराएको हो ।
ती कन्सन्ट्रेटरहरु हेक्यापका हेक्यापका बोर्ड अफ डाइरेक्टर हरि तिवारीको पहलमा प्राप्त भएको वडा अध्यक्ष जोशीले जानकारी दिए ।
जोशी चितीकै बासीन्दा हुन् । समाजकल्याण परिषदमा लामो समय जागिरे उनी निवृत भइ हाल हेक्याप नेपालको बोर्ड अफ डाइरेक्टरको रुपमा कार्यरत रहेका जोशीले जानकारी दिए ।
वडाअध्यक्ष जोशीले भने, ‘स्थास्थ्य चौकीका लागि हेक्यापले उपलब्ध गराएको ५ थान अक्सिजन कन्सन्ट्रेटर काठमाडौंबाट बुझेर ल्याएको छु । यस अघि वडा नंं ११ मा एनआरएनले उपलब्ध गराएका ५ वटा कन्सन्ट्रेटर रहेकामा अब १० थान पुगेको छ । चितीमा दम लगायत अक्सिजन आबश्यक पर्ने बिरामी, वृद्धवृद्धालाई अक्सिजन लगाउनु परेमा खोज्ने झञ्झट गर्नु पर्दैन । हामी आवश्यक परेका बखत स्वास्थ्य केन्द्र मार्फत घरघरमा पुगेर सेवा प्रदान गर्नेछौं ।”
चितीमा तीनवटा स्वास्थ्य संस्था छन् । ती स्वास्थ्य संस्थामार्फत आवश्यक परेका विरामीहरुलाई कन्सन्ट्रेटर उपलब्ध गराइने उनले बताए । गाउँमा श्वास प्रश्वासका बिरामीहरुलाई शरीरमा अक्सिजन कमी हुँदा निकै सास्ती भोग्नु परेको छ । जिल्ला अस्पताल वा सुविधा सम्पन्न स्वास्थ्य केन्द्रमा मात्र उपलब्ध हुने यस्ता उपकरण गाउँको स्वास्थ्य केन्द्रमा उपलब्ध हुँदा स्थानीयले खुशी ब्यक्त गर्दै वडा कार्यालयका प्रशंसा गरेका छन् । अध्यक्ष जोशीले चितीमा शब बाहनको आबस्यकताको बारेमा पनि छलफल भइरहेको जानकारी दिए ।