देशकै गौरव बन्न सफल ब्यक्तिहरुलाई अमर बनाउन मर्स्याङदी गाउँपालिकाकाे अभियान

खबरकुञ्ज

बेसीशहर, चैत ८ गते । लमजुङकाे मर्स्याङदी गाउँपालिकाले स्थानीय भूगाेलमा जन्मेर बिभिन्न क्षेत्रबाट देश विदेशमा ख्याति आर्जन गरी देशकै गौरव बन्न सफल चर्चित र प्रतिष्ठित ब्यक्तिहरुलाई अमर बनाउने अभियान शुरु गरेको छ ।

आ–आफ्नो क्षेत्रमा अब्बल भएर जन्मस्थल र देशकै गौरव बन्न सफल ब्यक्तित्वहरुको नामलाई सदाका लागि अमर बनाउन गाउँपालिकाले यस्तो अभियानकाे शुरुवात गरेको हो । 

पालिकाले दिवंगत भइसकेका राष्ट्रकवि माधवप्रसाद घिमिरे र भूगोलविद डा. हर्क गुरुङकाे नाममा स्थानीय बिद्यालयकाे नामाङ्कन गरी उनीहरूलाइ चिरकालसम्म अमर बनाउन लागेकाे हाे । त्यस्तै साेही पालिकामा जन्मेर नेपाली महिला फुटबलकाे गाैरव बन्न सफल गोल मेसिन चर्चित स्ट्राइकर फुटबलर सावित्रा भण्डारी “साम्बा”को नाममा स्थानीय सडकाे चाेककाे नामाकरण गर्न लागेकाे हाे ।

गाउँपालिकाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मथलो वडा नंं ६ को बाहुनडाँडामा रहेको चन्द्रोदय माध्यमिक विद्यालयको नाम परिवर्तन गरी राष्ट्रकविको नाममा र वडा नं. ७ को तराञ्चेमा जन्मेका डा. हर्क गुरुङको नाममा त्यहाँ रहेको महेन्द्रदेव माध्यमिक विद्यालयको नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।

गएको फागुन १३ गतेको कार्यपालिकाको निर्णयले यस्तो निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले भने –“उहाँहरुले देशका लागि गर्नुभएको योगदानको कदरस्वरुप उहाँहरुलाई चिरकालसम्म चिनाउन यस्तो निर्णय गरिएको हो ।” उनले भने– उहाँहरुको सम्मान स्वरुप हामीले ती विद्यालयको नाम परिवर्तन गरी उहाँहरुको नाममा राख्ने निर्णय गरेका छौं । यो निर्णयलाई हामी शिक्षा मन्त्रालयमा पठाउदैं छौं । मन्त्रालयले स्वीकृत गरेपछि विद्यालकाे नाम परिवर्तन गर्नेछाैं ।

अध्यक्ष गुरुङले आगामी नयाँ बर्षसम्म दुवै विद्यालयको नाम परिवर्तन भइसक्नेमा आफूहरु आशावादी रहेको बताए । मन्त्रीस्तरीय निर्णयले यो सम्भव नभए शिक्षा मन्त्रीमार्फत क्याबिनेटबाट याे प्रस्तावलाइ स्वीकृत गराउन लागि पर्ने अध्यक्ष गुरूङले बताए ।

यसैबीच गाउँपालिकाले नेपाली महिला फुटबलमा नयाँ कीर्तिमान बनाउन सफल गोल मेसिनको नामले परिचित चर्चित फुटबलर सावित्रा भण्डारी (साम्बा)को सम्मानमा उनको जन्मस्थल नजिकैको सडक चोकलाई साम्बा चोक नामाकरण गर्ने निर्णय पनि गरेको छ ।

बेसीशहर चामे सडक अन्तर्गत मर्स्याङदी गाउँपालिका–९ र ३ जोड्ने खुदीखोलाको पुल वर बेसीशहर चामे सडक र सिम्पानी घनपोखरा हुँदै घलेगाउँ घनपोखरा जाने सडक जाेडिने चोकको नाम साम्बाचोक राख्ने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष गुरुङले भने– “हाम्रो पालिकामा जन्मेर देश विदेशमा चम्किएकी साम्बाको सम्मानमा चैत ३ गते बसेको कार्यपालिका बैठकले सर्वसम्मतिमा खुदीखोला वरको चोकलाई “साम्बाचोक” नामाकरण गर्ने निर्णय गरेको छ । सो चोकमा सावित्राको फोटोसहितको होर्डिङ बोर्ड राखेर साम्बाचोक नामाकरण गर्ने निर्णय हामीले गरेका छौं । 

गाउँपालिकाको यो निर्णयले साम्बा पनि खुशी भएकी अध्यक्ष गुरुङले बताए । “हामीले निर्णय गर्नु अघि उनीसंग सोधेका थियौं, उनले भने– उनीसंगै सल्लाह गरेर यो निर्णय भएको हो, उनी पनि यो सुनेर खुशी छन् ।”

साम्बाको नामाङ्कन गर्न लागिएको चोक उनको गाउँकाे प्रवेशद्वार समेत हो । साम्बा मर्स्याङदी गाउँपालिका–९ पामचोकमा जन्मेकी हुन् । नेपालका लागि ५७ अन्तराष्ट्रिय गोल  गरिसकेकी साम्बा नेपाली महिला फुटबलकै गहना हुन् । नेपाल बाहेक भारत, माददिभ्स, इजरालबाट ब्यवसायीक फुटबल खेलिसकेकी उनी अहिले फ्रान्सेलकी क्लबमार्फत अन्तराष्ट्रिय फुटबलमा सक्रिय छन् ।

प्रतिक्रिया