आर्थिक वर्ष २०८२/८३ का लागि सुन्दरबजार नगरपालिकाको बजेट ६१ करोड

खबरकुञ्ज

बेसीशहर, असार ११ गते । लमजुङको सुन्दरबजार नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६१ करोड ४८ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

सोमबार आयोजित नगरसभाको १६ औं अधिवेशनमा नगर उपप्रमुख भवानी केसील बजेट प्रस्तुत गर्दै चालुतर्फ ४७ करोड ५३ लाख १३ हजार र पूँजीगतर्फ १३ करोड ६५ लाख ८१ हजार रुपैयाँ बजेट छुट्याइएको जानकारी दिइन् । उनका अनुसार कूल बजेटको ७७.६८ प्रतिशत बजेट चालुतर्फ छ । पूँजीगततर्फ जम्मा २२.३२ प्रतिशत बजेट छ ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख केसीले नगरको आवश्यकता, नगरबासीको माग र दिगो विकासको अवधारणा अनुरूप बजेट तयार गरिएको जानकारी दिईन्। प्रस्तुत बजेटको ठूलो हिस्सा ३६ करोड सामाजिक सेवाको क्षेत्रमा विनियोजन गरिएको छ।

बजेट कार्यान्वयनका लागि संघीय, प्रदेश र स्थानीय तहबाट प्राप्त अनुदान तथा आन्तरिक स्रोतहरू प्रयोग गरिने भन्दै केसीले आन्तरिक आयबाट  समेतबाट हुने गरी बजेट बनाइएको बताइन् । उनका अनुसार बजेटमा संघ सरकारबाट झन्डै ५३ करोड र प्रदेश सरकारबाट ३ करोड ८० लाख रुपैयाँ प्राप्त हुने अनुमान छ । नगरपालिकाको आन्तरिक आम्दानी २ करोड ५  लाख हुने अनुमानका साथ बजेट बनाइएको छ।

सुन्दरबजारले कृषि र पशुपालनको क्षेत्रलाई प्राथमिकतामा राख्दै २ करोड ६४ लाख रुपैयाँ बजेट छुट्याएको छ। त्यस्तै स्वास्थ्य क्षेत्रमा ७ करोड २० लाख र पूर्वाधार विकासका लागि ९ करोड ५९ लाख बजेट राखिएको छ । “समृद्ध र समुन्नत सुन्दरबजार” निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको समेत सो क्रममा बताईन्।

प्रतिक्रिया