जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि बेसीशहरले जित्याे

खबरकुञ्ज

बेसीशहर । १७ औं लमजुङ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८२ को  उपाधि बेसीशहर नगरपालिकाले जितेको छ ।

मर्स्याङदी गाउँपालिकाको ङादीमा शनिबारबाट सञ्चालन भएको प्रतियोगितमा बेसीशहर नगरपालिकाले १६ स्वर्ण, ८ रजत र ६ वटा कास्य पदक जितेर जिल्ला प्रथम भएको हो ।

प्रतियोगितामा ८ स्वर्ण, ११ रजत र ११ कास्यपदक जितेर राईनास नगरपालिकाले दोस्रो स्थान हात पारेको छ। प्रतियोगितामा ६ स्वर्ण, ४ रजत र ६ कास्य जितेर मध्यनेपाल नगरपालिकाले तृतीय स्थान आफ्नो पक्षमा सुरक्षित गर्न सफल भएको छ ।


जिल्ला खेलकुद विकास समिति लमजुङको आयोजनामा यही मंसिर ६ गतेदेखि शुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो । “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने मूल नाराको साथ आयोजित प्रतियोगिता मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले शनिबार उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले विभिन्न पालिकामा सञ्चालन भएका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट छनोट भइ आएकाले खेलाडी विद्यार्थीहरुले राम्रो प्रदर्शन गरी प्रतिस्पर्धाबाट आफूलाई अब्बल सावित गरेर जिल्लास्तरीय प्रतियोगितामा आएकाले अनुशासित भएर खेल्न प्रतियोगी विद्यार्थीहरुलाई आग्रह गरे । 

अध्यक्ष गुरुङले खेलाडी बन्नका लाग आफू स्वस्थ रहन आवश्यक रहेको र अनुशासित खेलाडीले मात्र प्रतियोगिता जित्न सक्ने भएकाले यसतर्फ मनन गर्न आग्रह गरे । उनले खेलसंगै शिक्षालाई संगै लैजान नसके भोलिका दिनमा खेल क्षेत्रमा स्थापित हुन नसकिने भन्दै उनले सावित्रा भण्डारीको दृढ संकल्पले उनलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्याति दिलाएको चर्चा गरे ।


प्रतियोगिताको समापनका अवसरमा विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । जिल्ला खेलकुद विकास समिति लमजुङका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षता भएको समापन समारोहमा प्रमुख अतिथिको रुपमा मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङ रहे । उनले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै खेलकुदले समाजमा एकता, अनुशासन र राष्ट्रिय गौरव बढाउने उल्लेख गरे ।

समापन कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रवक्ता हिरालाल विश्वकर्मा, मर्स्याङदी गाउँपालिका वडा नं ७ का अध्यक्ष तिलबहादुर गुरूङ, वडा नं–६ का अध्यक्ष मिनराशी गुरूङ, जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, सदस्य, प्रशिक्षक तथा सातै स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको थियो 

प्रतियोगिता सञ्चालन गरेका जिल्ला खेलकुद विकास समिति लमजुङका कोषाध्यक्ष रवि थापाले १८ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुन्दरबजार नगरपालिकामा आयोजना हुने औपचारिक जानकारी गराएका थिए ।

प्रतिक्रिया