बेसीशहर । लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं. ७ छिनखोलाका किसानलाई यतिबेला आलु खन्ने चटारो छ ।
कृषि ज्ञान केन्द्र लमजुङको सहयोगमा छिनखोलामा लगाइएको जनकदेव जातको स्थानीय आलु उत्पादन हुन थालेसंगै त्यहाँका किसानको ब्यस्तता बढेको हो । हिजो आज छिनखोला गाउँका किसानहरु आलु खन्ने र आलु खनेको बारीमा कोदो रोप्न ब्यस्त रहेको छिनखोलाका अगुवा किसान अजय तामाङले बताए ।

कृषि ज्ञान केन्द्र लमजुङले छिनखोलाका किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ उपलब्ध गराएको थियो । ज्ञान केन्द्रको सहयोगमा छिनखोलाका गाउँलेहरुले ५० रोपनी भन्दा बढी क्षेत्रफलमा आलु रोपेका थिए । तीन महिना अघि लगाइएको आलु अब खन्ने बेला भएको छ । कतिपय किसानले आलु खनिसकेका छन् । कोही आलु खन्दै छन् ।

आलु खन्ने कामसंगै छिनखोलाका किसानहरु कोदोसमेत संगै रोप्दै छन् । यतिबेला कोदो रोप्ने सिजन पनि हो । आलु खनिसकेपछि आलुबारीमा कोदो रोप्ने चलन छ । छिनखोला गाउँमा मकै भने पाकिसकेका छैनन् । मकै पाकेपछि त्यहाँ पनि कोदो रोपिन्छ ।
तामाङका अनुसार छिनखोला गाउँमा धेरै थोरै सबै किसानले आलु उत्पादन गर्छन् । अलैंचीको राम्रो उत्पादन हुने छिनखोला गाउँमा आलुसंगै कोदो, मकैको पनि राम्रो उत्पादन हुने गर्छ । अधिकांश गाउँलेहरु कृषि पेशामै निर्भर छन् । अलैंची उत्पादनमा नाम कमाएको छिनखोला गाउँ आलु उत्पादनमा पनि उत्तिकै अगाडि छ ।

यसपाली छिनखोलामा २६ टन भन्दा बढी आलु उत्पादन हुने अनुमान गरिएको तामाङले बताए । तामाङका अनुसार अहिले उत्पादन भएको आलु भण्डारण गरेर राखिन्छ । अहिले भण्डारण गरेर राखेको आलु असोज कार्तिकतिर निकालेर विक्री गरिन्छ । यसरी भण्डारण गरेर विक्री गर्दा किसानलाई राम्रो मुनाफा आउँछ ।

छिनखोलाका किसानले उत्पादन गरेको आलुको बजार राम्रो छ । नजिकैको ङादीबजार, भुलभुले, खुदी र बेसीशहरमा छिनखोलको आलुको ठूलाे माग छ। राम्रो गुणस्तर र स्वादिलो भएकाले उपभोक्ताहरु त्यहाँको आलु खोजी खोजी खरिद गर्छन् ।