बेसीशहर, जेठ ३ गते । गत फागुन २१ को निर्वाचन पछि झण्डै दुई तिहाईको जनादेश पाइ देशको सबैभन्दा ठूलो राजनीतिक दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनमा होमिएको छ ।
महाधिवेशनको तयारीका लागि रास्वपाको केन्द्रीय कार्यालयले सबै जिल्ला समितिहरुलाई महाधिवेशनको कार्यतालिका अनुसार वडा, नगर तथा गाउँ तथा जिल्ला अधिवेशन सम्पन्न गर्न सर्कुलर जारी गरेको छ । जस अनुसार लमजुङ जिल्लामा पनि जेठ २ गतेबाट अधिबेशनको चटारो शुरु भएको छ । यस क्रममा रास्वपाले देशभर वडा भेला गरिरहेको छ । भेलामार्फत वडा समिति गठन नभएका वडाहरुमा तदर्थ समिति गठन गरिएको छ ।

यसै क्रममा रास्वपा लमजुङले शनिबार लमजुङमा वडा समिति गठन हुन बाँकी विभिन्न पालिकाका १७ वटा वडामा वडा भेला सम्पन्न गरी तदर्थ समिति गठन गरेको छ।
रास्वपा लमजुङका सभापति अशोक सापकोटाले केन्द्रीय कार्यालयको सर्कुलर अनुसार पार्टी संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत वडा भेलाबाट स्थानीय तहमा पार्टी गतिविधिलाई थप सक्रिय बनाउने उद्देश्यले वडा समिति गठन गरिएको जानकारी दिए । सापकोटाका अनुसार बेसीशहरको वडा नंं ४ र ५, सुन्दरबजारको वडा नंं ११, मध्यनेपालको वडा नंं १, राईनासको वडा नंं ५, ६, ८ र १०, मर्स्याङदी गाउँपालिकाको वडा नंं १, ४, ५, ६ र ७, दोर्दी गाउँपालिकाको वडा नंं ३, क्व्होलसोथार गाउँपालिकाको वडा नंं ४ र दूधपोखरीको वडा नंं २ र ५ मा वडाभेला मार्फत तदर्थ वडा समिति गठन गरिएको छ ।

यसैगरि रास्वपाले आज लमजुङका विभिन्न १८ वटा वडा भेलामार्फत वडामा अधिवेशन सम्पन्न गर्न गइरहेको छ । बेसीशहरको वडा नंं १, सुन्दरबजारको २, ३, ४, ५ र १०, मध्यनेपालको १, २, ३ र ७, मर्स्याङदी गाउँपालिकाको वडा नंं २, ३, ८ र ९, दोर्दी गाउँपालिकाको वडा नंं १, २ र ८, क्व्होलसोथार गाउँपालिकाको वडा नंं ४ मा आज वडा अधिवेशन हुन लागेको जिल्ला सचिव रमा खड्काले बताइन् ।।
राष्ट्रिय स्वतन्त्र पार्टीको अघिल्लो शनिबार सम्पन्न सचिवालय बैठकले वडा, पालिका तथा जिल्ला अधिवेशनको मिति तय गरेको हो । रास्वपाले महाधिवेशन केद्रिन्त हुने गरी समिति गठन नभएका वडाहरुको भेला जेठ २ गतेका लागि बोलाएको थियो । वैशाख २० अघि नै समिति गठन भएका वडाको अधिवेशनको मिति जेठ ३ गतेका लागि तोकिएको छ । जेठ ९ गते पालिका भेला गर्ने निर्णय गरेको रास्वपाको सचिवालय बैठकले वैशाख २५ गते अघि समिति गठन भएका पालिकाहरूको अधिवेशन जेठ १० गते गर्ने निर्णय गरेको छ ।
त्यस्तै जेठ ३ अगाडि गठन भएका बाँकी वडा समितिले त्यही महिनाको १६ गते वडा अधिवेशन गर्नुपर्नेछ । जेठ १० गते अगाडि समिति गठन भएका बाँकी पालिकाको अधिवेशन जेठ १७ गतेका लागि तोकिएको छ ।
रास्वपाले यही जेठ २३ र २४ मा जिल्ला अधिवेशन तोकेको छ ।
खबरकुञ्ज