बीबीसी । इक्वेडरमा आसन्न राष्ट्रपतिय चुनावका एक उम्मेदवारको गोली हानी हत्या भएको छ। त्यहाँकाे उत्तरी सहर क्विटोमा बुधवार आयोजित एक कार्यक्रममा त्यहाँका सांसद फर्नान्डो भिल्लाभिसेन्सिओमाथि आक्रमण भएको थियो।
उनको चुनाव प्रचार अभियान समूहका एक सदस्यले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार भिल्लाभिसेन्सिओ आफ्नो कारमा चढ्ने क्रममा एक व्यक्तिले उनको टाउकोमा गोली हानेका थिए।
प्रत्यक्षदर्शीका अनुसार ५९ वर्षीय भिल्लाभिसेन्सिओलाई तीन पटक गोली प्रहार भएको थियो।इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले उनको मृत्यु भएको सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन्।सुरक्षाकर्मीसँग मुठभेड हुँदा सन्दिग्ध व्यक्तिलाई पनि गोली लागेको थियो र पछि उनको मृत्यु भएको त्यहाँका अधिकारीहरूले जानकारी दिएका छन्।
इक्वेडरमा आगामी अगस्ट २० मा राष्ट्रपति पदका लागि पहिलो चरणको निर्वाचन हुँदैछ।राष्ट्रपति लासोले हत्याबाट आफू “आक्रोशित र स्तब्ध” भएको बताउँदै अपराधीलाई दण्ड दिने प्रतिबद्धता व्यक्त गरेका छन्।