•रविकान्त अधिकारी
पृष्ठभूमि
सदियौंदेखि जड संस्कारको वाँझो छिचोलेर चेतनाको बत्ती बाल्ने अठोट राखेर नै चुनौतिपूर्ण घडीमा २००६ सालको हलोक्रान्ति हुन गएको थियो । हुकुमी राणाशाहीको शासनले पेलिएका जनता र गाउँगाउँमा छादिएका जरा ठालू, शोषक र जिम्मुवाल, तालुकदार र तथाकथित पुरोहित पण्डितकोे हैकममा समाज बाँधिएको थियो । बीचमा स्थानीय हाकिम र बडाहाकिमहरुको यस्तै प्रशासन थियो, जसले गर्दा परिवर्तनको हिसावमा र नयां चेतनाको परिकल्पना गर्ने सामर्थ्य कसैसग हुँदैनथ्यो । यस्तो समयमा सुझबुझमा आएका केही सचेत नागरिकहरुमा पिल्सिएको समाजमा केही गरौं भन्ने हुटहुटी पलाएको थियो । यस्तैमा दुराडाँडामा वि.सं. २००३ मा मु.हरिदास अधिकारी, पं. तोयनाथ अधिकारी, ले. शेषकान्त अधिकारी र मु. हरिभक्त पौडेलहरुको एउटा समूह तयार भयो । जसले माथिसम्मको हुकुमी सत्तातिरको टाउको देखि तलका जराहरुलाई हल्लाउने हिसावमा जनमानसमा सचेतना फैलाउने कुरा पहिलो हो भन्ने भएर कार्यक्रम बनाई अगाडी बढ्ने तय गरेको पाइन्छ । जसको पहिलो कदम हुन्छ च्यानपाटाको गंगा चौतारी अगाडी रहेका ठाँटीमा २००३ मा शुरु गरिएको महाभारत पुराण र तेसैको निरन्तरतामा संकल्प गरि हलार्कषणको पुर्वाङ्ग र २००५ को स्वाँराको ठाँटीमा लगाएको महाभारत थियो ।
वास्तवमा हलोक्रान्ति केवल कोरा क्रान्ति नभई एउटा आध्यात्मिक मलजलको माध्यमद्वारा निस्केको, जागरण र विकासको उद्देश्यमा कदम चालिएको सामाजिक क्रान्ति थियो । यसको पूर्वसन्ध्यामा योगीहरुका सत्संगको गर्भबाट महाभारत पुराणको मञ्चले जन्म लियो । अनि महाभारत पुराणको गर्भबाट हलोक्रान्तिले जन्म लिन पुगेको अपूर्व कथा छ । यो नै हलोक्रान्तिको पूर्व सन्ध्या हो, पृष्ठमूमि हो ।
त्यहाँ सुरुभएको महाभारत पुराणको संपूर्ण आयोजना र व्यवस्थापनमा पं. तोयानाथ अधिकारी, मु.हरिदास अधिकारी, ले. शेषकान्त अधिकारी र मु. हरिभक्त पौडेलहरुको अग्रणी भूमिका रह्यो । विशेषतः उहाँहरु चार जनाको चारैप्रकारको अहम् भूमिका थियो । व्यवहारिक कुशलता र मिलनसारितामा विलक्षणता हरिदास अधिकारीको थियो भने देशभित्रको कुरा र बाहिरी जगतकाे पनि विशेष ज्ञान र आत्मबलको हिसावमा ले. शेषकान्त अधिकारीकाे व्यक्तित्वको विशेषता थियो । लेखापढी र कानूनी ज्ञानको क्षेत्रमा आफ्नो पक्षको वहसमा होमिने सामर्थ्य मु. हरिभक्त पौडेलमा थियो । पं. तोयनाथ अधिकारी शास्त्रको ज्ञाता, सत्यको अधिवक्ता, अनि त्याग र सेवाक्षेत्रको संलग्नतामा अग्रणी हुनुहुन्थ्यो ।
छलफलको क्रममा मु. हरिदास अधिकारीले भन्नुभयो “शास्त्र र कानूनमा त ठीक होला अप्ठेरो हुँदैन, तर चलनचल्ती र परम्परा त्यो भन्दा पनि बलियो हुन्छ । त्यसका निम्ति छरछिमेक र थुम–थुमको राय सल्लाह लिएर अनुकूल वातावरण बनाउनुपर्छ, मंजुरनामा लिए वेस हुन्छ” भन्ने प्रस्ताव आयो । यसमा सबैको सहमत भयो । ठाउँ–ठाउँको अनुमति लिने हिसावको चिठीपत्र र सहमति लिने जिम्मा ले.शेषकान्त र मु. हरिभक्तलाई दिएर फाल्गुणमा हलो जोत्ने सहमती भयो ।
उदिपुरका गण्यमान्य मु. ईश्वरीप्रसाद अधिकारी र चिसंकुतिरका पं. भीष्मकान्त, डिट्ठा श्रीप्रसाद घिमिरे लगायतका व्यक्तिहरुसंग कुरा भयो । मु. ईश्वरीले मंजुरनामा गरिसकेपछि चिसंकुतिर पुग्दा नपुग्दै २००५ साल फाल्गुण महिनामा उक्त चारअगुवा मध्येका एक मु. हरिदासको स्वर्गारोहण भयो । मु. हरिदासको मृत्युले हलोको कार्यक्रम केही समय अलमलमा पर्यो र उक्त समूहमा वनारसतिरबाट संस्कृत मध्यमाको परीक्षा समाप्त गरी फर्किएका श्रीकान्त अधिकारी, ताहाचल छाउनीको अाधार शिक्षक तालिम केन्द्रमा तालिम लिंइ घर फर्किएका थिए । जो कृष्ण प्रसाद भट्टराईबाट नेपाली कांग्रेसको सदस्यता लिएर राजनीतिक अभियानमा होमिएका थिए । उनैले आफ्नो बुवा मु. हरिदासको स्थान लिए र अग्रजहरुको पछि लागे । हलो जोत्नेकुरामा अगाडी बढ्न दाजु नरकान्त अधिकारीले समेत जोते हुन्छ भन्ने "ग्रिन सिग्नल" दिनु भएको थियो जसले श्रीकान्तमा साहस भरेको थियो ।
पं. तोयनाथ, ले. शेषकान्त र मु. हरिभक्तबीच सल्लाह भएर २००६ श्रावण ११ गते हलो क्रान्तिलाइ औपचारिकता दिने तय भए बमोजिम सहकर्मीहरुसहित सबै दुराडाँडाकाे अर्चल्यानीमा जम्मा भए । पं. तोयनाथले भाइ बसन्त र बद्रीलाई गोरु तय गर्न जिम्मा दिए । हरिनाथ पौडेलको सहयोगमा गोरु तय भयो र मायानाथ पौडेललाई अर्चल्यानीको बाटेगरामा गोरु ल्याउने काम लगाइयाे । तिल्के र चम्रे गोरुको संयोजन भयो । यहाँ तिल्केले सत्ता र चम्रेले पिछडिएको समुदायलाई प्रतिनिधित्व गरेको कहावत समेत मिसिएको पाइन्छ । जसको संयोजन नै हलो क्रान्तिको उपलब्धि थियो ।
धनी र गरिब, सक्ने र नसक्ने बिचको संगम थियो । सामाजिक विभेदको अन्त्य थियो । दाेश्रो विश्वयुद्धले गाउँ लाहुर जानेक्रम समेत बढेको थियो, कामले माम दिन्छ भन्ने सन्देश थियो । श्रमको पुजा थियो २००६ को हलो क्रान्ति ।
२००६ को हलो क्रान्तिको उद्देश्य
कृषि प्रधान मुलुकमा “आमा धरतीलाई कोर्ने, सिंगार्ने, दुहुने र पोषिने मुख्य साधन हलो हो ।“
• यो आध्यात्मिक क्षेत्रमा आँखा उघार्ने,
• भौतिक क्षेत्रमा हात पसार्ने,
• नैतिक क्षेत्रमा पसिना काड्ने–भिजाउने,
• आर्थिक क्षेत्रमा स्वावलम्वी हुने–आत्मनिर्भर बन्ने,
• राजनीतिक हिसावमा रचनात्मक हुने र
• सामाजिक हिसावमा सेवापरायण हुने
इत्यादि हलोक्रान्तिका उद्देश्य थिए ।
हलो क्रान्तिमा संलग्न हुनेहरु
२००६ साल साउन ११ गते पं तोयनाथ अधिकारीको नेतृत्वमा सुभारम्भ भएको हलो क्रान्तिमा गाईको दूधले हलो पुजा गरि दुराडाँडा अर्चल्यानीको बाटेगरोमा चार सिया लगाई पहिलो दुइ सिया पं तोयनाथले लगाए पछि ले शेषकान्त अधिकारी र मु हरिभक्त पौडेल ले लगाए पछि अन्य २४ जनाले हलो क्रान्तिमा सहभागि भए भने उक्त समारोहमा ५०—६० जना अन्य तात्कालिन युवा जम्मा भएका थिए भने वयो वृद्धहरु हलो जोत्न चाहन्थे तर मर्ने बेलामा किन यसो गर्ने भनि समर्थन गर्नेहरुको कमि थिएन भने केही जोतन तयार भएर पनि समाज सग भन्दा तात्कालिन ठुला ठालुको प्रभावमा परेका थिए र जोत्ने वेलामा भड्कीएका थिए । हलो जोत्ने २७ जनाको विवरण यस्तो छ ।
क्रं.सं. हलाधरको नाम साविक ठेगना
१ पं.तोयनाथ अधिकारी अर्चल्यानी दुराडाँडा
२ लेप्टेन शेषकान्त अधिकारी, स्वाँरा, दुराडाँडा
३ मुखिया हरिभक्त पौडेल, गिरेचौर, दुराडाँडा
४ श्रीकान्त अधिकारी, स्वाराँ, दुराडाँडा
५ वसन्त अधिकारी, अर्चल्यानी, दुराडाँडा
६ वद्रीनाथ अधिकारी, अर्चल्यानी, दुराडाँडा
७ जि.मु.श्रीधर अधिकारी (लटे साहु), चारघरे, दुराडाँडा
८ हरिविलास पौडेल, अर्चल्यानी, दुराडाँडा
९ लक्ष्मीप्रसाद अधिकारी, चारघरे, दुराडाँडा
१० लोकनाथ अधिकारी, चारघरे, दुराडाँडा
११ दिननाथ अधिकारी, उपल्लागाँउ, दुराडाँडा
१२ पशुपति न्यौपाने, गिरेचौर, दुराडाँडा
१३ दुर्गाप्रसाद अधिकारी, चारघरे, दुराडाँडा
१४ ज्ञानशाली अधिकारी, स्वाँरा, दुराडाँडा
१५ केशव अधिकारी, उपल्लोस्वाँरा, दुराडाँडा
१६ लक्ष्मीप्रशाद अधिकारी, राहुले, दुराडाँडा
१७ देवशर्मा अधिकारी, उपल्लोस्वाँरा, दुराडाँडा
१८ जगन्नाथ अधिकारी, उपल्लोस्वाँरा दुराडाँडा
१९ दामोदर अधिकारी, पाँचघरे, दुराडाँडा
२० इश्वरी अधिकारी, राहुले, दुराडाँडा
२१ रामचन्द्र अधिकारी, राहुले, दुराडाँडा
२२ शेखरनाथ अधिकारी, चारघरे, दुराडाँडा
२३ विष्णुप्रसाद अधिकारी, पाँचघरे, दुराडाँडा
२४ डोलनाथ अधिकारी, पाँचघरे, दुराडाँडा
२५ काशीनाथ अधिकारी, गिरेचौर, दुराडाँडा
२६ भोजराज अधिकारी, चारघरे, दुराडाँडा
२७ गंगादत्त अधिकारी, पाँचघरे दुराडाँडा
हलो क्रान्तिले निम्त्याएका चुनौतीहरु
तत्कालिन सासक वर्गका समर्थक र क्रान्तिकारी समर्थक विच दोहरी, सामाजिक द्वन्धमा बढोत्तरी र तिनका कोइरालाफाटका केही कोइरालाहरु, जिम्वुवाल, पंडितहरु हलो अभियानका विरोधमा लेखिएका थिए कविता गित र पक्षमा श्रीकान्त अधिकारी, शोभाकर उपाध्याय, श्रीप्रसाद घिमिरे, तिर्थराज शर्मा, आदीलेखिएका कविता खोज र अनुशन्धानका विषय छन् ।
हलो जोत्ने हरुको योजना र क्रान्ति बिचको ताम्यताको प्रशासनबाट भएको खोज अनुसन्धान हरु समाज भन्दा बाहिरका चुनौति थिए भने प्रत्यक्ष भएका सामाजिक चुनौतिहरु अझ कडा र पिडादायक थिए ।
हलो क्रान्तिको तत्कालिन अवस्थाको कठिनाईः
• जात भातको चुनौति र विभेद
• विवाह बन्धन, घर माइतीको, सोली डोलीको समस्या असमान्जस्यता
• घर निकाला भबदत्त अधिकरी कछारथाेक दाेश्राेचरणाकाे उपल्लागाँउकाे अाहाले गराेमा जाेत्न जादा घर निकाला भै बर्मा जान परेकाे हाल सम्म अवस्था थाहा नभएकाे ।
• आर्थिक लेन देनमा प्रतिबन्ध
• भारो पर्ममा निषेध
• सामाजिक स्थलहरुको उपभोगमा प्रतिशोध आदि
हलोक्रान्तिको सामाजिक मान्यता स्थापित हुदै जाने क्रम
• दुराडाँडाबाट शुरुवात भएको हलार्कषणले पक्ष विपक्षमा बहस हुदै गर्दा हरिदास अधिकारीको पूर्व योजना थुम थुम्काका गन्य मान्यको साथ समर्थन खोज्नु पर्दछ भन्ने मूल्यले लिएको आकारको महत्व,
• हलो क्रान्तिलाई तत्कालीन प्रजातन्त्र प्राप्तिको आन्दोलन संग जोडिन गएकोले भएको साथ समर्थनले प्राप्त गरेको र उक्त आन्दोलनले एउटा उचाई लिएको ।
• दुराडाँडाबाट चुँदी तनहूँ, चिसंकु, कास्की, गोरखा, धादिङ, स्याङजा, अर्घाखाँची हुदै क्रमशः फैलिएको ।
१२ साउन २०८०, शुक्रबार