काठमाडाैं । बि.सं. २००६ साउन ११ गते । आज भन्दा ७४ बर्ष अघि तत्कालीन पश्चिम ३ नम्बर हालकाे लमजुङ दुराडाँडामा आजकै दिन ऐतिहासिक हलाेक्रान्ति भएकाे थियाे । तत्कालीन समाजमा ब्राह्मणहरूले हलाे जाेत्नु चानचुने कुरै थिएन । समाजका उच्च तहका मानिने ब्राह्मणले हलाे जाेते भन्दा भएकाे साे हलाेक्रान्तिले समाजलाइ मात्र नभै तत्कालीन राणा शासकलाइ नै हल्लाइदिएकाे थियाे । त्यतिबेला हलाे जाेत्ने ब्राह्मणहरू समाजबाटै बहिष्करणमा मात्र परेनन्, राणा शासककाे आँखी बने ।
हलाे जाेतेकामा राणा शासकहरूकाे ताराे बनेका दुराडाँडाका ब्राह्मणहरूलाइ गाउँघरमै बसिनसक्नु भयाे । गाउँमा उनीहरूलाइ अछुतकाे ब्यवहार भयाे । उनीहरूकाे भात पानीसमेत बारियाे, दुराडाँडाका त्यतिबेलाका ठूलाठालुका घरमा पस्न त के, घरवरिपरि ढिम्किन पनि पाएनन् हलाे जाेत्नेहरूले । जस जसले त्यतिबेला हलाे जाेतेका थिए, उनीहरूकहाँ भाराेपर्म गर्न गाउँलेहरू गएनन् । एक हिसाबले उनीहरूलाइ गाउँ बारियाे, उनीहरूकाे छाेरा छाेरीकाे बिवाह राेकियाे । माइत गएका छाेरीहरू घर फर्कन पाएनन्, घरका बुहारीलाइ माइती टाढा भयाे । समाज अस्तव्यस्त भयो । हलाे जाेते पछि जाेत्ने र नजाेत्नेहरूबीच दाजुभाइ, साथीसंगीकाे सम्बन्ध नै टुट्याे ।
जाेत्नेहरू मात्रै हाेइन, जाेतेकाे हेर्ने देख्नेहरूले समेत त्यतिबेला निकै दुःख पाए । कतिले त मैले त देखिन, म त त्यहाँ गइन भनि ढाँटेर काम चलाए ।

ब्राह्मणवाद तथा जातीय भेद्भावसँगै हली प्रथा अन्त्यको लागि पण्डित तोयानाथ अधिकारीको अगुवाइमा दुराडाँडा अर्चल्यानी गाउँमा रहेकाे पण्डित ताेयनाथकाे बाटेगरामा पहिलाे पटक दुराडाँडाका ब्राह्मणहरूले हलाे जाेतेका थिए । ताेयनाथलाइ लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जना बाहुनले साथ दिएका थिए ।
राणाशासनको विरोधमा हलो जोतेको अभियोगमा तत्कालीन सरकारले सामूहिक हलो जोत्नेमध्ये टाठाबाठा ताेयनाथ र श्रीकान्तलाइ पाेखरा गाेश्वारामा पक्रेर लगियाे । गाेश्वारामा केही दिन उनीहरूलाइ केरकार गरियाे । ताेयनाथले शास्त्रमा ब्राह्मणले जाेत्न हुन्न भनेर कहीँ नलेखेकाे तर्क दिएपछि उनीहरूलाइ तारेखमा छाेडियाे ।
गाेश्वाराबाट छुटे पनि ब्राह्मणवाद हावी रहेकाे तत्कालीन समाजमा हलाे जाेत्नेहरूकाे आलाेचना हुन छाेडेन । वेद, शास्त्र पढ्ने बाहुन भएर हलाे जाेतेकाे भन्दै त्यतिबेला दुराडाँडाका हलाे जाेत्ने ब्राह्मणहरूलाइ उल्लाउन यस्ताे कविता नै रचिएकाे थियाे ।
शेषकान्त लेप्टेन, हरिभक्त तिघ्रे, ताेयनाथ पण्डित हलाे जाेति बिग्रे
हलाे जाेत्ने मुख्य यिनै तीनजना हुन्,हलाे जाेति खालान् पाथीभात बाहुन् ।।
बिस्तारै समाजमा हलाे जाेत्नेहरूकाे पक्षमा समाज नरम बन्दै गयाे । देशमा प्रजातन्त्र अाएपछि धनी गरिब, ठूलाे र सानाे बीचकाे दूरी केही कम भएझैं भयाे । विस्तारै हलाे जाेत्ने ब्राह्मणहरूले अपराध गरेकाे नभै क्रान्ति गरेकाे भन्ने कुरा स्थापित हुँदै गयाे र सबै कुरा पहिले जस्तै सामान्य हुँदै गयाे ।
उक्त हलाे क्रान्ति भएकाे अहिले ७४ बर्ष पुरा भएकाे छ । हरेक बर्ष अाजकाे दिनलाइ हलाेक्रान्ति दिवसका रूपमा मनाइन्छ । हलाेक्रन्तिका नायक पण्डित ताेयनाथकाे स्मृतिमा लमजुङमा हलाेक्रान्ति नेपाल तथा ताेयनाथ स्मृति प्रतिष्ठान गठन भएकाे छ । प्रतिष्ठानले हरेक बर्ष साउन ११ मा ताेयनाथकाे स्मरण गर्दै विविध कार्यक्रमकाे आयाेजना गर्छ ।
यस बर्ष प्रतिष्ठानले हलाेक्रन्ति दिवसकाे महत्वलाइ देशब्यापी बनाउने र पण्डित ताेयनाथ लगायत हलाेक्रान्तिका नायकहरूलाइ चिनाउने काठमाडाैंमा कार्यक्रम गरेकाे छ ।

प्रज्ञा प्रतिष्ठानमा भएकाे कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले लमजुङ दुराडाँडाको हलोक्रान्ति नवचेतनाको सुरुवात भएको बताए । नेपाल प्रज्ञा प्रतिष्ठान र हलोक्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठानको सहकार्यमा आयोजित बहुआयामिक हलोक्रान्ति-२००६ विषयक एक दिवसीय विचार गोष्ठीमा डा महतले लमजुङको दुराडाँडामा चेतनाकोस्तर विकसित भएको कारण नै हलोक्रान्ति सम्भव भएकाे बताए ।
उनले भने, “हलोक्रान्ति सामान्य घटना होइन, त्यसबेला ब्राम्हणले हलो जोत्ने घटना असामान्य थियो ।” गलत परम्परालाई हलोक्रान्तिले तोडेको भन्दै उनले गलत प्रवृत्ति, अन्धविश्वासलाई छाड्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले दुराडाँडालाई पहिलेको जस्तो हराभरा र स्मृतिलाई ताजा बनाउन सबै लाग्नुपर्ने बताए ।हलोक्रान्तिको महत्वलाई देशभर लैजानुपर्ने भन्दै उनले दुराडाँडामा निर्माण गर्न लागिएको हलो पार्क र हलो स्तम्भलाई सरकारको तर्फबाट सहयोग हुने बचन दिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले श्रम र शिल्पबाट ठूलो र सानो जातिको उदय भएकाले त्यसलाई अन्त्य गर्न लमजुङबाट हलोक्रान्तिको थालनी भएको बताए । लमजुङकाे सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले हलोक्रान्ति मुलुकको विकृति विसङ्गतीकाविरुद्ध सांस्कृतिक क्रान्तिको थालनी भएको बताए । विश्व हिन्दू महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारीले शोषक र शोषितको दुरी अन्त्य गर्दै समानतामूलक समाज निर्माणका लागि हलोक्रान्ति भएको बताए ।
प्रतिष्ठानका अध्यक्ष डा. लक्ष्मीकान्त पौडेलले दुराडाँडामा हलो पार्क र हलो स्तम्भ निर्माण गर्नका लागि प्रतिष्ठानले काम गरिरहेको बताए। प्रतिष्ठानका उपाध्यक्ष श्रीप्रसाद अधिकारीले हलोक्रान्तिलाई जीवन्त राख्न प्रतिष्ठानले काम गरिरहेको बताए ।
सोही अवसरमा पण्डित तोयनाथ अधिकारीको बुहारी सुशीला अधिकारी, लेफ्टिनेन्ट शेषकान्त अधिकारीका छोरा डा पूणर्कान्त अधिकारी, मुखिया हरिभक्त पौडेलकी बुहारी लक्ष्मी पौडेल र श्रीकान्त अधिकारीकी श्रीमती गायत्री अधिकारीलाई सम्मान गरियाे ।
मिलन शर्मा दनाई