–हेमराज काफ्ले
प्रकाशकीय/भूमिका
नेपाली भाषा साहित्यको जगेर्नामा करिब आधा शताब्दी समयदेखि क्रियाशील नाम हो श्रीकृष्ण न्यौपाने । वि.सं. २०२२ सालमा भारतीय सैनिक तालिमकेन्द्र डिमापुर भारतमा पिता मेजर टेक बहादुर न्यौपाने र माता दानमाया न्यौपानेको पाँचौँ सन्तानका रूपमा जन्मिएका साहित्यकार श्रीकृष्ण न्यौपानेको कलम वि.सं. २०३० देखि नै सक्रिय छ । वि.सं. २०४८ मा उहाँको पहिलो पुस्तकाकार कृतिको रूपमा छली सामाजिक काव्य प्रकाशित भएको थियो भने २०३५–४५ को बिचमा उहाँका धेरै कविताहरू पत्रपत्रिकामा प्रकाशित भएका थिए । वि.सं. २०५० सालमा रेडियो नेपालको स्वरपरीक्षा उत्तीर्ण गरेपछि लोकगायनमा केही समय केन्द्रित बनेका न्यौपानेको मुख्य पेसा भने शिक्षण हो । वि.सं. २०८० को असोज महिनामा म लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा भएर गएपछि सोही गाउँपालिकाको चैतन्योदयसत्य मा.वि.मा पढाउने उहाँसँग प्रत्यक्ष रूपमा पहिलो पटक भेट भएको थियो । जतिबेला उहाँको आशुलेखन र द्रुतलेखन प्रतिभाले चरमसीमा छोइरहेको थियो, निकै लोभलाग्दो तरिकाले अघि बढिरहेको थियो । मोफसलमा बसेर कुनै लाभको लोभ नलिई नेपाली भाषा साहित्यको क्षेत्रमा अनवरत रूपमा क्रियाशील यस्ता कर्तव्यनिष्ठ स्रष्टासँगको प्रत्यक्ष भेट मेरो लागि अत्यन्तै अविस्मरणीय परिघटना बनेर आएको आज पनि महसुस हुन्छ । यही सिलसिलामा जब उहाँले वि.सं. २०७९ बाट करिब ३ वर्षको छोटो समयमा नै एक दर्जन खण्डकाव्य, आधा दर्जन महाकाव्य, तीन वटा कवितासङ्ग्रह, शास्त्रीय गजलसङ्ग्रह र दुई अन्य काव्यहरूको लेखन सम्पन्न गरी सो को प्रकाशनलाई समेत सार्थक गति दिनुभयो, ती कृतिहरू संख्यात्मक दृष्टिले मात्रै नभएर गुणात्मक मूल्यले समेत युगीन महत्त्व बोकेर आएका र उहाँ बृहत्तर (आर्ष) महाकाव्य लेखनमा समेत जुटिसक्नु भएको जानकारी प्राप्त भयो तब उहाँको यो सत्कर्ममा सहभागी बनौँ/बनौँ लागेर आयो, उहाँलाई सहयोग गरौँ/गरौँ लागेर आयो, उहाँको त्यो प्रतिभालाई सम्मान गरूँ/गरूँ लागेर आयो अनि प्रस्तुत खण्डकाव्य रिङ्की रङ्कनमा मेरो प्रकाशकीय भूमिका रहने अवस्था सिर्जना हुनपुग्यो ।
साहित्यकार श्रीकृष्ण न्यौपानेलाई अद्भुत आशुकवित्व भएका स्वच्छन्दतावादी धाराका कविका रूपमा समेत चिनाउन सकिन्छ । प्रस्तुत खण्डकाव्य “रिङ्की रङ्कन” यही स्वच्छन्दतावादी भाव धाराद्धारा अनुप्राणित सुन्दर काव्य कृति हो । म यो भूमिकामा प्रकाशित हुनुपूर्व नै प्रस्तुत खण्डकाव्यलाई समालोचनाको कसीमा बाँध्न वा कविको कवित्व र व्यक्तित्वको मूल्याङ्कन गरेर निष्कर्ष सुनाउन भन्दा पनि खण्डकाव्य, लोकछन्द, र प्रस्तुत खण्डकाव्य “रिङ्की रङ्कन” मा समावेश भएका विषयवस्तुका बारेमा सङ्क्षिप्त टिप्पणी लिएर उपस्थित भएको छु ।
खण्डकाव्य आकारका हिसाबले फुटकर कविता भन्दा ठूलो र महाकाव्य भन्दा सानो हुन्छ । कतिपय अवस्थामा कविताको लघु र बहृत् रूप छुट्याउने रेखाका रूपमा समेत खण्डकाव्यलाई चिनाउने गरिएपनि खण्डकाव्य साहित्यको स्वतन्त्र विधा हो । फुटकर कविता लम्ब्याएर वा महाकाव्य छोट्याएर खण्डकाव्य बन्ने होइन । अनुभूतिको प्रमुख उपस्थिति हुने फुटकर कवितामा आख्यानले प्रवेश गरी एउटा समय सन्दर्भको विषय बोकेर कविता अगाडि बढ्दै जाँदा खण्डकाव्यको निर्माण हुने गर्दछ । विशिष्ट कालखण्डको प्रतिनिधित्व गरेको र विषयको काव्यिक पूर्णताको अपेक्षा पूरा गरेको, आख्यान र अनुभूतिको सन्तुलित उपस्थिति भएको, आठ सर्गभन्दा सानो ४००÷५०० श्लोकसम्मको कविताको मध्यमरूपलाई नै छोटकरीमा खण्डकाव्यका रूपमा चिनाउन सकिन्छ ।
खण्डकाव्यलाई पनि कथा बोकेर हिँडेको खण्डकाव्य र विचार बोकेर हिँडेको खण्डकाव्यका रूपमा विभाजन गर्न सकिन्छ । आख्यात्मक अर्थात् कथा बोकेर हिँडेको सफल खण्डकाव्यका रूपमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको मुनामदनलाई लिन सकिन्छ भने विचार बोकेर हिँडेको खण्डकाव्यका रूपमा लेखनाथ पौड्यालको ऋतु विचारलाई लिन सकिन्छ । तर पनि आख्यानहीनता खण्डकाव्यको असली चिनारी होइन । श्रीकृष्ण न्यौपानेको प्रस्तुत खण्डकाव्य “रिङ्की रङ्कन” यही महाकवि देवकोटाको मुनामदन शैलीमा आख्यात्मक खण्डकाव्य परम्पराको पछिल्लो कृति हो ।
नेपाली कविताको वर्तमानस्वरूप यही नेपाली लोकजीवनमा गाइने गीत र गाथाहरूको पृष्ठभूमिमा तयार भएको हो । नेपाली साहित्य वि.सं. १८२६ ताका सुवानन्द दासबाट लेखिएको पृथ्वीनारायण कवितालाई पहिलो नेपाली कविताका रूपमा ग्रहण गरी यहाँसम्म आइपुगेको छ । उक्त कविता लोक छन्दमा नै लेखिएको थियो । यसर्थ पनि नेपाली कविताको आजको आधुनिकस्वरूपको आधारविन्दु लोकछन्द नै थियो भनेर अनुमान लगाउन सकिन्छ । नेपाली भाषाको वैधानिक आधार र स्वरूप तयार हुनुपूर्व नै नेपाली जनजीवनमा लोकछन्द समृद्ध थियो । यहाँका पाखा पखेरामा र वनजङ्गलमा मेलापात, घाँस दाउरा र उकाली ओराली गर्दा मान्छेका मुखबाट स्वस्पूmर्त निस्कने गीत, सवाई, झ्याउरे तथा अनगिन्ती लोकलयको समग्रता नै आजको लोकछन्दको स्वरूप हो । यसैको जगमा नेपाली कविताको विकास हुँदै यहाँसम्म आइपुगेको छ र हाल नेपाली भाषामा ४६१ भन्दा बढी महाकाव्यहरू लेखिएको अवस्था छ । गीत, प्रबन्ध गीत(आख्यान गीत) र गीति कविता (गीति काव्य) गरी काव्यविधाको गीति स्वरूपलाई वर्गीकरण गर्न सकिन्छ । अनुभूतिको गेयात्मक अभिव्यक्ति नै गीत हो । गीतमा पनि अनुभूतिको प्रबल प्रवाह हुने हुनाले यसलाई काव्य विधा अन्तर्गत नै समेट्ने गरिएको छ । प्रस्तुत खण्डकाव्य रिङ्की रङ्कन यही लोक/गीति छन्दमा तयार भएको सुन्दर काव्यकृति हो ।
नेपाली भाषा साहित्यको क्षेत्रमा लोकछन्दमा धेरै कविता र काव्यहरूको रचना गरिएको छ । तुलनात्मक रूपमा यस्ता गीत, कविता र काव्यहरू निकै सफल र सबल पनि देखिएकाछन् । गीति साहित्यमा योगदान दिने कालीप्रसाद रिजाल, कृष्णप्रसाद पराजुली, दैवज्ञराज न्यौपाने, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे र प्रह्लाद पोख्रेलजस्ता कविहरूको योगदानबाट आजको गीति कविताको आधुनिक स्वरूपको आधार तयार भएको हो । यही गीति कविता र काव्यलेखन परम्पराको सर्वाधिक पछिल्लो प्राप्तिका रूपमा कवि श्रीकृष्ण न्यौपानेको खण्डकाव्य “रिङ्की रङ्कन” लाई लिन सकिन्छ ।
प्रस्तुत खण्डकाव्य “रिङ्की रङ्कन” नेपाली समाजको वर्तमान यथार्थलाई बाकेर आएको छ । रिङ्की र रङ्कन काव्यका प्रमुख पात्रहरू हुन् । ग्रामिण जीवनका रिङ्की र रङ्कनको विवाहपछि एउटा छोरा र एउटा छोरीको जन्म हुन्छ । उनीहरूलाई क्रमशः अभावले सताउँदै जान्छ अनि रङ्कन विदेश जाने निर्णयमा पुग्छ । आवश्यक कागजात तयार गरी बिहान झिसमिसेमा निदाइरहेका अबोध छोराछोरीलाई छोडेर भविष्यको सुन्दर परिकल्पना बोकेर विदेशको बाटो तताउँछ । तर परिस्थिति सधैँ सोचेजस्तो कहाँ हुन्छ र उनीहरूले सोचेभन्दा ठिक विपरीत परिस्थिति सिर्जना हुनपुग्छ । परिवारको अभाव मेटाउने, सम्पन्न बनाउने र सुन्दर भविष्यको निर्माण गर्ने अभिलाषा लिएर विदेश हानिएको रङ्कनले विदेशमा सोचेको काम पाउँदैन । त्यसमाथि झन् रङ्कनमाथि उक्त कम्पनीको साउनी कलिमीको गलत नजर पर्न पुग्छ । त्यही साहुनीको दबाबले परिवारलाई समय दिन र पैसा पठाउन पाउँदैन, यता रिङ्कीको जीवन अभावले झन् पीडित बन्नपुग्छ । त्यही अभाव मेटाउन गाउँकै एकजना पैसावाला उमेर ढलेको हर्कवीर भन्ने मान्छेसँग रिङ्की अनुचित सम्बन्ध राख्न बाध्य हुन्छे । बिरानो मुलुकमा बाध्यताको जन्जिरले बाँधिएको रङ्कनको पुकार सुनिदिने कोही हुँदैन मात्रै आफ्नो जन्मभूमि सम्झिएर आँसु चुहाउने बाहेक अन्य विकल्प देखिँदैन । लामो समयसम्म रिङ्की र रङ्कनको भेट हुँदैन, सम्पर्क पनि हुँदैन । छोरा छोरीहरू समयसँगै हुर्किसकेका हुन्छन् । ईश्वरको कृपाले छोरी मलिना चर्चित गायिका बन्न पुग्छे । संयोगले कुनै दिन प्रधानमन्त्रीसँग उनको भेट हुन्छ । त्यही सिलसिलामा उसले आफ्नो बाबुको अवस्थाबारे उनलाई बताउँछे र उनको पहलमा रङ्कन स्वदेश फर्कने अवस्था बन्छ । त्यो क्रममा रिङ्कीले उसको साथी जस्मिन जो रङ्कनको कम्पनीमा काम गरिरहेकी हुन्छे उसको साथ पाउँछे । अनि उसलाई लिन रिङ्की स्वयं कतार पुग्छे । त्यसपछि रिङ्की रङ्कन स्वदेश फर्केर आफ्नै गाउँबेँसीमा नै खेती किसानी, कामधन्दा गरेर रमाउँछन् । यही नै प्रस्तुत खण्डकाव्यको प्रमुख विषयवस्तु हो ।
काव्यभित्र उल्लिखित विषयवस्तुसँग जोडिएर आएका ध्वन्यात्मक कवितांशहरू र सूक्तिपूर्ण सिर्जनाहरू प्रशस्त मात्रामा पाइन्छ । त्यसको साक्ष्यका रूपमा केही पद्यलाई निम्नानुसार टिपोट गरेको छु । जस्तैः
आफ्नो देश, आफ्नो परिवेश छाडेर नौलो ठाउँमा जाँदा त्यहाँ आउने समस्या र त्यसको भयानक परिणामबारे जहिल्यै मानिस सतर्क हुनुपर्छ । मनमा दया भएका मानिस साथमा भए बिग्रने कुरा पनि सोझिएर जान्छ अन्यथा मिल्ने कुरा पनि बिग्रन्छ । नौलो ठाउँमा आपूmप्रति दया बोक्ने मानिस खोजेर पाइन्न । मानिसले कहिल्यै पनि अमर्यादित चाहनाहरू बटुल्न हुँदैन झन् नौलो ठाउँमा त त्यसको गुञ्जायस पनि हानिकारक हुन्छ । आफ्नो मर्यादामा सधैँ आफैं बाधिएर रहनुपर्छ भन्ने सन्देशलाई निम्न श्लोकबाट उल्लेख गरिएको छ ।
ननिका इच्छा उब्जिनु हुन्न झन् नौलो ठाउँमा
ढुङ्गाले पनि सल्लाह दिन्छ आफन्त गाउँमा
पराई मन सकिन्न पढ्न हाँसेर बोलेर
मान्छेको मन पराईसित खोलिन्न खोलेर
जीवन र जगत् जतिसुकै सम्पन्न भएपनि मानवीय जीवनको पहिलो प्राथमिकता खाद्यान्न हो । अर्थतन्त्रको आधार कृषि हो र विकासको मेरुदण्ड कृषि उत्पादन हो । देशको उन्नतिका लागि कृषि कर्मबाट क्रमशः आत्मनिर्भर हुँदै जानुपर्छ, परिश्रम गरे लेकाली पाखामा धान, कोदो र फापर लगायतका खाद्यान्न उत्पादन गर्न सकिन्छ । त्यसले मात्रै राज्य निर्माणको आधार बन्न सक्छ भन्ने सन्देशलाई काव्यभित्र निम्नानुसार उल्लेख गरिएको छ ।
लेकाली धान पाखामा झुले कोदो र फापर
छाडेर देश हुँदैन डुल्न बनेर काँतर
उन्नति, प्रगति र समृद्धि सबैको आवश्यकता र आकांक्षा हो । यसको प्राप्ति आफ्नै भूमिमा पसिना बगाएर हुने हो । त्यसको खोजीमा संसार डुलेर होइन भन्ने भनाइलाई कविले निम्न पद्यबाट व्यक्त गर्नुभएको छ ।
हिउँमा परी खुम्रेकाजस्ता ती आसा पलाए
निधारबाट भुइँमा आज पसिना चलाए
खण्डकाव्य रिङ्की रङ्कन नेपाली समाजको प्रतिविम्ब बाकेर आएको सुन्दर काव्यकृति हो । कविले काव्यभित्र निकै सूक्ष्म रूपमा नेपाली समाजको वर्तमान यथार्थभित्र प्रवेश गरी नेपाली जनजीवनको चित्र खिच्ने काम गरेकाछन् । खण्डकाव्यको मूल आख्यान रैखिक ढाँचामा नै अगाडि बढेको छ । तथापि त्यसको साथमा आएका विभिन्न उपकथाहरूले खण्डकाव्यको कोमलतालाई बढाउँदै काव्यिक पूर्णता प्रदान गरेको छ । यस खण्डकाव्यमा कविले बाध्यात्मक रूपमा विदेशिनु पर्ने नेपाली युवाको वर्तमान नियति र त्यसले उसको व्यक्तिगत जीवन, सामाजिक शिष्टता र मर्यादा एवं राष्ट्रिय हितका सवालमा परेको प्रतिकूल प्रभाव के छ ? अहिलेको नेपाली समाजको अवस्था के हो ? लगायतका प्रश्नहरूको सबै वास्तविकता खुलाउदै गएर अन्त्यमा रिङ्की रङ्कनको पुनः भेट भएपछि उनीहरू फर्केर आफ्नै भूमिमा पसिना बगाएर आत्मनिर्भर हुँदै सुखद जीवनयापन गरेको परिघटनामार्पmत नेपाली समाज यस्तो हुनुपर्छ भन्ने सन्देश दिँदै खण्डकाव्यको अन्त्य गरेकाछन्, यसर्थ पनि प्रस्तुत खण्डकाव्य आदर्शोन्मुख यथार्थवादी खण्डकाव्यको रूपमा दर्ज भएको छ ।
अन्त्यमा अत्यन्त सरल, अत्यन्त स्वभाविक र यथार्थपरक कथावस्तुलाई लिएर यति छोटो समयमा यति सुन्दर खण्डकाव्य तयार गर्नुहुने सर्जकको कलालाई उच्च सम्मान गर्दै खण्डकाव्यको समालोचनाको जिम्मा प्रकाशनपछि पाठक तथा समालोचकहरूलाई सुम्पिदै, सर्जकको सिर्जना र हाम्रो लगानीमा प्रकाशित हुन लागेको प्रस्तुत कृतिले अपेक्षित सफलता हासिल गरोस् भन्ने शुभेच्छाका साथ बिदा लिन्छु । (समालोचक दोर्दी गाउँपालिका लमजुङका प्रमुख प्रशासकीय अधिकृत हुन् )
खबरकुञ्ज