बाहुनडाँडा (लमजुङ), बैशाख २१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य, संस्कृति र दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको बताएका छन् ।
लमजुङको पुस्तुन बाहुनडाँडामा राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्मृतिमा निर्माणाधीन माधव घिमिरे पार्क र राष्ट्रकविको पूर्णकदको सालिकको अनावरण गर्दै राष्ट्रपति पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव एवम् पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति हुन् भन्दै यिनकोे संरक्षण, संवर्धन र विकास गर्नु हामी सबैको कर्तव्य भएको धारणा व्यक्त गरे ।
माधव घिमिरे प्रतिष्ठानको आयोजना र मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको सहआयोजनामा बाहुनडाँडा पुस्तुनमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने– “प्रतिभाका धनी स्रष्टा र साहित्यकारलाई समाज र सरकारले साथ, सहयोग र सम्मान गर्न कुनै कञ्जुस्याई गर्न हुँदैन भन्ने मलाइ लाग्दछ ।”

विगतमा तत्कालीन पश्चिम ३ नम्बर लम्जुङ, तनहुँ र कास्की भाषा, साहित्य, संस्कृति र कला मात्र नभई राजनीतिक र सामाजिक जागरणको उर्वर भूमि रहेको चर्चा गर्दै राष्ट्रपतिले लमजुङको दुराडाँडामा भएको हलो क्रान्तिले ल्याएको सामाजिक परिवर्तन र त्यसकै जगमा राणाविरोधी आन्दोलनले गति लिई देशमा प्रजातन्त्रको प्रादुर्भाव भएको स्मरण गरे ।
उनले भने– “जहाँनीया राणा शासन विरोधी क्रान्तिमा तनहुँको बन्दीपुर कब्जा गरेर यो क्षेत्रले देखाएको राजनीतिक जागरुकता र क्रियाशीलताको एउटा युगिन झड्का इतिहासमा चर्चित छ, तीनै राजनीतिक, समाजिक तथा सांस्कृतिक क्रान्तिको जगमा उभिएर आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको होे ।”
मुलुकमा ठूलो राजनीतिक परिवर्तनपछि जनताले मुलुकको समृद्धिको अपेक्षा गरेको तथा जनताको यो अपेक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रले लिएको लक्ष्य अनुसार अब तीव्र विकास, सुशासन र आर्थिक समृद्धितर्फ हामी सबैको ध्यान केन्द्रित हुनुपर्ने सो अवसरमा राष्ट्रपति पौडेलले बताए ।
राष्ट्रपति पौडेलले भने– “कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मभूमि अर्घौअर्चले, जनकविकेशरी धर्मराज थापाको बाटुलेचौर, अलिमियाँको कुँडहरदेखि प्रसिद्ध समालोचक प्राध्यापक यदुनाथ खनालको जन्मभूमि मानुङ, आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा हुँदै राष्ट्रकविको जन्मथलो पुस्तुन बाहुनडाँडासम्मका स्थलहरुलाई समेटी एउटा गण्डकी साहित्य सर्कल (चक्र) निर्माणको लागि म आग्रह गर्दछु ।” साथै यसै सन्दर्भमा तनहुँको आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल बनाउने योजना अघि बढेकोले यसमा सबैको सहयोगको लागि उहाँले आव्हान गर्नुभयो ।
राष्ट्रकविको जन्मस्थान बाहुनडाँडा पुस्तुनमा उनको नाममा बनेको पार्क र निर्मित शालिकसँगै यस क्षेत्रको महत्व र गरिमा बढेर यो समग्र भाषा साहित्यप्रेमीहरूको एउटा आकर्षक गन्तव्यस्थलका रुपमा विकास हुने उहाँले विश्वास व्यक्त गर्दै राष्ट्रपतिले लमजुङ सदरमुकाम बेसीशहरमा पनि राष्ट्रकविको शालिक बनाउन आग्रह गरे ।
हामीले भोगेको समय र समाज, दुःखसुख, जनजीवन एवम् परिवेशको यथार्थ चित्रण स्रष्टाका रचनामा प्रतिविम्बित हुने गर्दछ भन्दै राष्ट्रपति पौडेलले यी रचना एउटा अभिलेखका रुपमा वर्तमानमा मात्र होइन भावी पुस्ताका लागि पनि तत्कालीन परिवेशलाई बुझ्ने जीवन्त दस्तावेज हुने उनको भनाई थियो ।
“गण्डकी प्रदेशको लमजुङ भाषा, साहित्य, संस्कृति र कलाको केन्द्र हो । यहाँका वस्ती र पाखापखेरामा प्रस्तुत हुने बालन, भजन, चुड्का, घाँटु, सोरठी र ठाडो भाकामात्र होइन हिमालको काखमा अवस्थित यहाँको पहाडी रमणीय प्रकृतिले यसलाई स्रष्टा र साहित्यको लागि उर्वर वातावरण दिएको छ”, राष्ट्रपति पौडेलले भने । 
“पूर्वीय जीवन र दर्शनलाई दिशावोध गर्ने चार वेद र अठार पुराणका रचयिता वेदव्यास, नेपाली भाषासाहित्यलाई युगिन बाटोतर्फ डो¥याउने आदिकवि भानुभक्त र कवि शिरोमणि लेखनाथ पौड्याल जस्तै यस्तै हावापानी र प्रकृतिले यो पुस्तुनमा नेपाली काव्यधराका धरोहर माधवप्रसाद घिमिरेको जन्म भयो जो नेपाली साहित्यको क्षेत्रमा अतुलनीय योगदान दिन सफल हुनुभयो ।” राष्ट्रपतिले भने ।
“यहाँको सुरम्य पहाडी, हिमाली र ग्रामिण जनजीवनको धुकधुकीलाई टपक्क टिपेर आफ्ना कैयौ गीत, कविता, खण्डकाव्य, गीतीनाटकसहितका कालजयी रचना सृजना गर्ने राष्ट्रकवि घिमिरेको वैशिष्ट्यताले नेपाली साहित्यजगतलाई महत्वपूर्ण योगदान दिएको छ”, राष्ट्रपति पौडेलले भने ।
राष्ट्रपतिले भने– “राष्ट्रकविका साहित्यिक सृजनामा हाम्रै पाखा पखेराका नेपाली जनजीवनका भोगाई, प्रकृति, संस्कृति र मानवीय संवेदनामात्र होइन राष्ट्रिय भावनाले ओतप्रोत भएको पाईन्छ भन्दै राष्ट्रपति पौडेलले यसबाट भाषा, साहित्यमात्र नभएर समग्र वाङमयको क्षेत्रलाई समृद्ध बनाउन र हाम्रो राष्ट्रिय स्वाभिमानको भावना अभिवृद्धि गर्न योगदान दिएका छन् ।”
“नेपाली हामी रहौला कहाँ नेपालै नरहे होस कि गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली त्यसैका प्रमाण हुन्, अझ मानवीय करुणालाई सुक्ष्म संवेदनाका साथ प्रस्तुत गर्न सक्ने उहाँको क्षमता अद्भुत छ, आफ्ना रचनामा मानवीय संवेदना, प्रकृति र देशप्रेमको उज्यालो पक्षलाई जीवन्त प्रस्तुत गर्न सक्ने क्षमताका कारण उहाँ राष्ट्रकविको उचाइ धारण गर्न सफल हुनुभयो भन्ने मलाई लाग्छ ।” राष्ट्रपति पौडेलले भने ।
राष्ट्रपति पौडेलले सम्वोधनको सुरूमै राष्ट्रकवि घिमिरेले आफ्नो गाँउ, पाखा, पखेराको व्याख्या गर्दै लेखेको “ हामी दम्पत्ति शान्ति, कान्ति कलिला माया र मोह भनी ... “ भन्ने कविताका केही अंश बाचन गर्दा भावविह्वल भइ उनको गला अवरूद्ध भएको थियो ।
माधव घिमिरे प्रतिष्ठानका अध्यक्ष लोकनाथ घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ, वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा राष्ट्रकविकी छोरी शान्ति अधिकारीले राष्ट्रकविको ऋतम्भरा महाकाब्यका कविताहरु वाचन गरेकी थिइन् ।
मिलन शर्मा दनाई