मध्यनेपालकाे लक्ष्मीबजारमा शहरी स्वास्थ्य केन्द्र स्थापना

बेसीशहर । स्वास्थ्य क्षेत्रमा लमजुङकै सर्वाेत्कृष्ट र गण्डकी प्रदेशकै उत्कृष्ट हुन सफल लमजुङको मध्यनेपाल नगरपालिकाले साेही पालिकाकाे वडा नं. ७, लक्ष्मी बजारमा शहरी स्वास्थ्य केन्द्रको स्थापना गरेको छ ।


स्वास्थ्य सेवाकाे पहुच नपुगेका ग्रामीण क्षेत्रमा नागरिकहरूलाइ सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रभावकारी बनाउन पालिका भित्रका सवै वडाहरुमा शहरी स्वास्थ्य केन्द्र सञ्चालन गर्ने क्रममा लक्ष्मीबजारमा पनि केन्द्रकाे शुरूवात गरिएकाे हाे । मध्यनेपाल नगरपालिकाले वडा नं. ७ करापुटारकाे लक्ष्मी बजार सहित विभिन्न वडाका ११ स्थानमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ ।


केन्द्रकाे नगरप्रमुख रमेश पाण्डेले बुधवार उद्घाटन गरेका छन् । साे अबसरमा बाेल्दै नगरप्रमुख पाण्डेले नगरपालिकाले नगरबासीकाे स्वास्थ्यलाइ प्राथमिकतामा राखि काम गरेकाे बताए । उनले आधारभुत स्वास्थ्य सेवा पाउनु नगरबासीकाे अधिकार हाे भन्दै स्तरीय स्वास्थ्य सेवा गाउँमै उपलब्ध गराउन सके नागरिकहरूले ठूलाे खर्च गरेर जिल्ला बाहिर उपचार गर्न जान नपर्ने बताए ।   


नगरपालिकाले गाउँघर र टोल टाेलमा स्वास्थ्यकर्मी पठाएर ज्येष्ठ नागरिक र दीर्घराेगीहरूकाे स्वास्थ्यपरीक्षण गराइ औषधीसमेत वितरण गर्दै गरेकाे उनले जानकारी दिए । उनले गरिव तथा विपन्न परिवारलाई थप उपचारका लागि पालिका बाहिर जानु परेमा एम्बुलेन्स खर्च उपलब्ध गराउदै आएको जानकारी दिँदै आर्थिक अभावकै कारण उपचार नपाएर मर्नुपर्ने अवस्थाकाे अन्त्यका लागि नगरपालिकाले काम गरिरहेकाे बताए । 


कार्यक्रममा नगर उपप्रमुख सिता गुरुङले स्वास्थ्य उपचार पाउनु जनताकाे आधारभुत अधिकार हाे भन्दै नगरबासीकाे स्वास्थ्य अधिकारका बारेमा नगरपालिका सचेत रहेकाे बताइन् ।

 

कार्यक्रममा बोल्दै मध्येनेपाल नगरपालिका–७ का वडा अध्यक्ष हिरा गुरुङले शहरी स्वास्थ्य केन्द्र स्थापना भएसँगै लक्ष्मी बजारका स्थानीयलाई सामान्य अवस्थामा पनि रामबजार र भोर्लेटार पुग्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै शहरी स्वास्थ्य केन्द्र स्थापनासँगै यसको व्यवस्थापन र दिगोपनका लागि नगरपालिका र सम्वन्धित क्षेत्रको सहयोग र सहकार्य आवश्यक रहेको चर्चा गरे ।


प्रतिक्रिया