घलेगाउँ, (लमजुङ) बैशाख १ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङको घलेगाउँबाट देशका अन्य पर्यटन गाउँहरुले पाठ सिक्नुपर्ने बताएका छन् ।
लमजुङको स्मार्ट गाउँ घलेगाउँमा आयोजित पर्यटन रजत जयन्तीको उद्घाटन गर्दै मन्त्री गुरुङले घलेगाउँले अहिले प्राप्त गरेको उपलब्धीबाट देशका अन्य भागमा सञ्चालन भएका होमस्टेहरले सिक्नुपर्ने बताएका हुन् । ग्रामीण पर्यटनको माध्यमले स्थानीयको जीवन स्तर उकास्न सकिन्छ भन्ने कुरा घलेगाउँले प्रमाणित गरेको भन्दै उनले स्थानीय संस्कृति र प्रकृतिको सही सदुुपयोगबाटै पर्यटक भित्र्याएर गाउँघरमा आम्दानी गर्न सकिने बताए ।
प्राकृतिक र सांस्कृतिक रुपमा सुन्दर हुँदा हुँदै पनि २०५७ सालसम्म घलेगाउँ आझेलमा रहेकोमा गाउँमा ग्रामीण पर्यटनको शुरुवात भएपछि गाउँको मुहार फेरिनुका साथै गाउँलेहरुको आय आर्जनमा टेवा पुगेको भन्दै मन्त्री गुरुङले पर्यटनबाट सिंगो देशले समृद्धि हासिल गर्न सक्ने र यसकै माध्यमबाट देशमा विद्यमान गरिबी न्यूनिकरण गर्न सकिने धारणा राखे ।

मन्त्री गुरुङले भने– नेपालमै पहिलो पटक संस्थागत रुपमा घलेगाउँले ग्रामीण पर्यटनको शुरुवात गरेर नेपालकै नमूना गाउँ बन्न सकेकोमा घलेगाउँलाई बधाई छ । नाम र दाम कमाउन सफल भएकोमा घलेगाउँबासीलई नेपाल सरकारको तर्फबाट धेरै धेरै बधाई छ । हिजो दुःख पाएको घलेगाउँलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न यहाँका अगुवा प्रेम घलेले देखेको सपना पुरा भएको भन्दै प्रेम घलेको अठोटm नेतृत्व र गाउँलेहरुको एकताले घलेगाउँको पर्यटनले सफलता पाएको मन्त्री गुरुङले बताए ।
मन्त्री गुरुङले नेपालका सबै गाउँहरुमा पर्यटनको सम्भावना रहेको र ग्रामीण पर्यटनको विकासबाट जनताको जीवनस्तर उकास्न सकिने बताए । “हाम्रा परम्परागत संस्कृतिहरु अझै जिवन्त छन्, यी हाम्रा जीवित संग्राहलय पनि हुन्, यिनको समुचित प्रयोग गरेर समृद्धि हासिल गर्न सकिदो रहेछ भन्ने घलेगाउँले प्रमाणित गरेको छ ।” आधुनिकतासंगै देशका मौलिक संस्कृति हराउँदै गएको चर्चा गर्दै मन्त्री गुरुङले ग्रामीण पर्यटनकै कारण घलेगाउँँमा परम्परागत संस्कृतिहरु अझै जीवन्त रहन सकेको धारणा राखे ।
मन्त्री गुरुङले भने– “नेपालको संविधानले समाजवादको परिकल्पना गरे अनुसार घलेगाउँ समाजवाद उन्मुख छ । घलेगाउँले गरेको सामूहिक होमस्टे, चिया खेती, भेडा पालन, स्वास्थ्य बिमा, एक घर एक धारा जस्ता कार्यक्रमले समाजवादको आधार तयार गरेका छन् ।”

सञ्चारमन्त्री गुरुङले सोमबार नै घलेगाउँमा पर्यटन रजत जयन्ती, स्वास्थ्य बिमा, एक घर एक धारा, स्वास्थ्य चौकीको उद्घाटन र घलेगाउँ प्रेरणा, संघर्ष र सिर्जना नामक पुस्तकको विमोचन गरे ।
कार्यक्रममा संविधानसभाका सदस्य जमीन्द्रमान घले लगायतले घलेगाउँको ग्रामीण पर्यटन र यसका विविध पक्षका बारेमा प्रकास पार्दै घलेगाउँको सफलताबट अन्य पर्यटकीय गाउँहरुले सिको गर्नुपर्ने बताएका थिए ।
कार्यक्रम घलेगाउँ पर्यटन ब्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेको अध्यक्षतमा सम्पन्न भएको थियो ।
घलेगाउँको पर्यटनको रजत जयन्तीका अवसरमा घलेगाउँमा आजैबाट आमन्त्रित राष्ट्रब्यापी फुटबल प्रतियोगिता पनि शुरु भएको छ ।
घलेगाउँको पर्यटन यात्राले २५ बर्ष पुरा गरेको अवसरमा रजत जयन्ती मनाइएको हो । समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाइमा रहेको क्व्होलासोंथर गाउँपालिका–३ मा अबस्थित घलेगाउँमा रहेको १ सय ३० घरमध्ये अहिे ४६ घरमा होमस्टे सञ्चालित छन् । होमस्टे फस्टाउन थालेसंगै अमेरिका, बेलायत गएकाहरुसमेत घलेगाउँ फर्केर होमस्टे चलाउन थालेका छन् ।
खबरकुञ्ज