बेसीशहर, माघ १६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले देशकाे हावापानी र माटोकाे उपयाेग गरी मुलुकको कायापलन गर्ने शिक्षा आजको आवश्यकता रहेको बताएका छन् ।
लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. २ सोतीपसलस्थित मंगला माविको हिरक जयन्तीका अवसरमा आयोजित विशेष समारोहलाई बुधवार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उद्यामशीलतामा आधारित शिक्षा दिएर उद्यमशील जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान केन्द्रित हुनुपर्ने भन्दै यसका लागि विधायक, सरकार र शिक्षण संस्थाहरुको अर्जुनदृष्टि केन्द्रित हुनुपर्नेमा जोड दिए ।
राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनपछि आर्थिक विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने र गुणस्तरीय शिक्षा नै देश विकासको जग र आधार भएको स्पष्ट पारे । उनले गाउँघरमा विकासका पूर्वाधार र आधुनिक सुविधा थपिँदै गरे पनि गाउँघर रित्तिदै गएकामा चिन्ता ब्यक्त गरे ।
राष्ट्रपतिले राष्ट्रका शक्ति श्रमशक्ति गाउँघरबाट रित्तिदैं गएकामा चिन्ता ब्यक्त गर्दै यो संकटबाट पार पाउनका लाग गाउँघरमै रोजगारी र आम्दानीको बाटो खोल्नुपर्नेमा जोड दिए ।
नेपालीहरुको जीवन गाउँघरकै प्रकृतिमा सुखी र खुशी हुन सक्ने भन्दै उनले कृषिको आधुनिकिकरण र व्यवसायिकीकरण गरी औधोगिकिकरणतर्फ फड्को मार्नुको विकल्प छैन भने । देश विकासका लागि कृषिलाई आधुनिकिकीकरण, व्यवसायीकरण र औधोगिकीकरण गर्ने खालको शिक्षा नै अहिलेको आवश्यकता रहेको उनले बताए ।
राष्ट्रको शक्तिको रुपमा रहेको श्रमशक्ति गाउँघरबाट रित्तिएकोमा चिन्ता व्यक्त गर्दै उनले यो संकटबाट राष्ट्रलाई जोगाउन गाउँमै आम्दानी र रोजगारीको व्यवस्था मिलाउनु पर्नेमा जोड दिए ।
राष्ट्रपति पौडेलले कृषि पेशालाई थोरै मेहेनत र श्रम खर्च गरेर बढी आम्दानी दिने पेशामा रुपान्तरण गर्नपर्ने र कृषिजन्य उद्योग र नयाँ उद्योगधन्दा गाउँगाउँमा खोल्ने प्रवन्ध गरी नेपालको वास्तविकतामा आधारित औधोगिक क्रान्तिको युग ल्याउनुपर्ने बताए ।
देशका मेरुदण्डका रुपमा रहेको ऊर्जाशील श्रमशक्ति रोजगारीको लागि विदेशिएकाले उर्वर, उत्पादनशील र मनोरम गाउँवस्ती बाँझो बन्दै रित्तिएकोमा राष्ट्रपतिले चिन्ता ब्यक्त गरे ।