बेसीशहर । लमजुङको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७६ करोड ७२ लाख ६० हजारको बजेट ल्याएको छ । आईतबार सम्पन्न नगरसभाको तेस्रो अधिवेशनमा नगर उपप्रमुख पद्मा गुरुङले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेकी हुन् ।
नगरसभामा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, स्वरोजगार लगायतलाई समेटेर उपप्रमुख पद्मा गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नगरपालिकाको बजेट नीति तथा कार्यक्रम अनुसार नगरसभामा छलफल गरी आगामी असार २५ गते पास गरिने नगरप्रमुख गुमानसिंह अर्यालले बताए ।
उपप्रमुख गुरुङले पेश गरेकोे बजेटमा चालुतर्फ ४५ करोड ३३ लाख र पुँजीगत तर्फ ३१ करोड ३९ लाख ६० हजार रहेको बताइएको छ । संघीय र प्रदेश समानिकरण अनुदानबाट १५ करोड ११ हजार, संघीय र प्रदेश राजस्वबाट १२ करोड ५४ लाख १३ हजार, आन्तरिक आय र स्थानिय राजस्वबाट ११ करोड २६ लाख ३६ हजार, संघीय र प्रदेश सशर्त तर्फ ३१ करोड ७७ लाख, संघीय र प्रदेश समपूरक विशेषतर्फ ३ करोड ५० लाख र अन्य तर्फ कुल २ करोड ६५ लाख अनुमानित बजेट रहेको बजेट प्रस्तुत गर्ने क्रममा उपप्रमुख गुरुङले जानकारी गराइन् ।
नगरपालिका आगामी वर्षका लागि विषयगत क्षेत्रको अनुमानित बजेट पनि प्रस्ताव गरेको छ । प्रस्तावित बजेट अनुसार आर्थिक विकास तर्फ ६ करोड ५५ लाख, सामाजिक विकास तर्फ ३५ करोड ११ लाख, भौतिक पूर्वाधार विकास तर्फ १८ करोड ३३ लाख ६० हजार बजेट प्रस्ताव गरेको छ । वातावरण तथा विपदव्यवस्थापन तर्फ १ करोड ४० लाख र संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ १५ करोड गरि ७६ करोड ७२ लाख ६० हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्ताव गरिएको नगर उपप्रमुख पद्मा गुरुङले बताइन् ।
चालु आर्थिक वर्षको स्वीकृत बजेट भन्दा आगामी आर्थिक वर्षमा ८० लाख ४३ हजार कम बजेट प्रस्ताव गरिएको छ । चालुतर्फ आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेट ३ करोड ४० लाख वृद्धि भएको छ । पुँजीगत तर्फ ४ करोड २० लाख ४३ हजारले न्युन रहेको बताइएको छ ।
नगरसभामा वडा नम्बर २ का वडा अध्यक्ष मदनबहादुर राना, वडा नम्बर ८ का वडाअध्यक्ष पवित्रा थापा राना, वडा नम्बर ७ का वडा अध्यक्ष ऋषिराम बस्नेत, वडानम्बर ६ का वडा अध्यक्ष प्रकाश थापा, कार्यपालिका सदस्य एवं प्रवक्ता हिरालाल विश्वकर्मा, वडा सदस्यहरु लगायतले नीति, कार्यक्रम र बजेटलाई थप प्रभावकारी बनाउन सुझाब दिएका थिए ।
नीति, कार्यक्रम, बजेट र नगरसभामा उठेका सवालहरुलाई नगरप्रमुख गुमानसिंह अर्यालले सम्बोधन गर्दै आवश्यकता र प्रथामिकताका आधारमाबिना भेद्भाव, पक्षपात रहितरुपमा नगरको समृद्धिका लागि सबैका राय, सुझाबलाई .ध्यान दिएर योजनागत रुपमा बजेट ल्याइने प्रतिबद्धता जनाए ।