स्यांगेबाट घेर्मु जोड्ने गरी मर्स्याङदी नदीमा पक्की मोटरेबल पुल बन्ने

मिलन शर्मा दनाई

उत्तरी लमजुङको स्यांगेबाट घेर्मु जोड्ने गरी मर्स्याङदी नदीमा पक्की मोटरेबल पुल बन्ने भएको छ । बर्षौंदेखि मोटरेबल पुल निर्माणका लागि सबै सरकारी अड्डा धाउँदै र मन्त्रीहरुलाई भेटेर विन्ति बिसाउँर्दै आएका घेर्मु, ताघ्रिङ तथा बाहुनडाँडा क्षेत्रका बासीन्दाको मागको सुनुवाई भए पछि स्थानीय खुशी भएका छन् ।

बर्षौंदेखि मोटरेवल पुलको माग गर्दै आएका त्यहाँका बासीन्दाको सुनुवाई गर्दै गण्डकी प्रदेश सरकारले मोटरेबल पुलका लागि बजेट विनियोजन गरे अनुसार पूर्वाधार विकास कार्यालय लमजुङले पुल निर्माणका लागि ठेक्का आह्वान गरेको छ ।

पूल निर्माणका लागि ठेक्का आह्वान गरिए पछि अब पुल बन्नेमा स्थानीय बासीन्दा ढुक्क भएका छन् । पुलको ठेक्काका लागि पत्रपत्रिकामा सूचना प्रकाशित भएपछि स्थानीयले खुशी हुँदै सामाजिक सञ्जालमा खुशी मनाउँदै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङलाई धन्यवाद दिएका छन् ।

स्थानीयले पूल निर्माणका लागि धेरै पटक अहिलेका संघीय सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ,  पूर्व मन्त्री देव गुरुङ, संविधान सभाका सदस्य जमीन्द्रमान घले लगायतका नेताहरुसंग हारगुहार गरे पनि कतैबाट सहयोग नमिलेको भन्दै प्रदेशका मन्त्री डा. गुरुङको सराहना गरेका हुन् ।

स्थानीयले मोटरेबल पुल निर्माणका लागि सहजीकरण गर्ने मर्स्याङदी गाउँपालिका वडा नंं ५ का वडा अध्यक्ष घनश्याम घले, ४ का अध्यक्ष बलबहादुर गुरुङ र वडा नंं ५ का वडा अध्यक्ष मीनराशी गुरुङलाई पनि धन्यवाद दिएका छन् ।

बिशेष गरी मर्स्याङदी गाउँपालिकाको वडा नंं ५ घेर्मुका बासीन्दालाई मोटरेवल पुलको टडकारो अवाश्यकता परेको थियो । पुल नहुँदा आवत जावत देखि सामान ढुवानी र बिरामी बोक्ने एम्बुलेन्स समेत सञ्चालन हुन नसक्दा स्थानीयलाई निकै समस्या परेको थियो । अब ढिलै भए पनि पुल बन्न लागेकोमा वडा अध्यक्ष घनश्याम घलेले पनि सन्तोष ब्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– “मर्स्याङदी गाउँपालिका वडा नं.५ घेर्मुलाई सडक सन्जालमा जोडिनका लागि बर्षाैँ देखि पहल भईरहेतापनि सार्थक बन्न सकिरहेको थिएन । हिजो मिति २०८१/१२/१० गते भौतिक पुर्वाधार मन्त्रालयले टेन्डर आव्हानको सूचना जारी गरेको छ। यस योजनाको लागि बजेट विनियोजन गर्न विशेष योगदान गर्नुहुने गण्डकी प्रदेश सभा सदस्य एवं माननीय आर्थिक मामिला मन्त्री डाक्टर टकराज गुरुङ प्रति मेरो ब्यक्तिगत ,वडा नं.५ घेर्मुबासी नागरिक तथा सिङ्गो मस्र्याङ्दी गाउपालिकाको तर्फबाट हार्दिक आभार ब्यक्त गर्न चाहन्छौँ। साथै स्रोत सुनिश्चित गर्न पनि विशेष योगदान गर्नुहुने गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डे तथा मन्त्री परिषदको कार्यालय प्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छौँ।”

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा गुरुङले पनि स्यांगेस्थित मस्र्याङदी नदीमा मोटरेवल पुल निर्माणका लागि टेण्डर आह्वान भएको र पुल निर्माण पश्चात स्थानीयलाई आवत जावत गर्न निकै सहज भइ जनजिविकामा टेवा पुग्ने विश्वास ब्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले लमजुङको राइनास नगरपालिकास्थित टिमुरेदेखी बोराङखोलासम्मको सडक पिच, मर्स्याङदी गाउँपालिका–४ स्याँगेस्थित मर्स्याङदी नदिमा मोटरेवल पुल निर्माण र बेसीशहर नगरपालिका–१० स्थित भाचोक खोलामा झोलुङ्गे पुल निर्माणका लागि टेण्डर आव्हान भएको जानकारी गराएका हुन् ।

मर्स्याङदी नदीमा मोटरेबल पुल नहुँदा घेर्मु र स्याँगेका बासीन्दाले हरेक बर्ष हिउँदमा मर्स्याङदीको बहाब कम भएपछि नदीमा कच्ची काठेपुल निर्माण गरी यातायात सञ्चालन गर्दै आएका छन् । हिउँदमा बनाएको काठे पुल बर्षातमा बाढीले बगाइदिने हुनाले बर्षेनी हिउँदमा पुल बनाइ रहनु पर्ने बाध्यता रहेकोमा अब पक्की पुल बन्ने खबरले त्यस क्षेत्रका बासीन्दा खुशी भएका छन् ।

प्रतिक्रिया