बेसीशहर, फागुन १३ । लमजुङमा आजदेखि दादुरा–रूबेला विरुद्धको खोप अभियान शुरू भएको छ । दादुरा–रूबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको परिपत्र अनुसार लमजुङमा खोप अभियान शुरु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार देशभर फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन हुने छ तर लमजुङ भने यही फागुन २७ गतेसम्म अभियान सञ्चालन हुने छ । जिल्लाका स्थानिय तहहरुमा फरक फरक चरणमा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविण कुमार खनालले जानकारी दिए ।
पहिलो चरणमा मस्र्याङदी, दोर्दी र दूधपोखरी गाउँपालिकामा १३ देखि १६ गतेसम्म दादुरा–रुबेला बिरुद्धको खोप अभियान सञ्चालन हुने छ । सुन्दरवजारमा १३ देखि १७ गते, बेसीशहर नगरपालिकामा १३ गतेदेखि १८ गतेसम्म, क्होलासोँथार गाउँपालिका र राईनास नगरपालिकामा फागुन २१ गतेदेखि २४ गतेसम्म र मध्यनेपाल नगरपालिकामा फागुन २२ गतेदेखि २७ गतेसम्म अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।
लमजुङका नौ महिनादेखि पाँच वर्षमुनिका नौ हजार आठसय १५ बालबालिकालाई दादुरा–रूबेला विरुद्धको खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयका प्रमुख खनालले जानकारी दिए ।
स्वास्थ्य सेवा भिागले भारतसँग सीमा जोडिएका दादुरा–रूबेलाबाट अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका र देशका सबै जिल्लाका बालबालिकालाई दादुरा–रुबेला बिरुद्धको खोप लगाउने कार्यक्रम रहेको जनाएको छ । जाजरकोट र रुकुम पश्चिममा भने यसअघि नै खोप अभियान सञ्चालन भएकोले यस पटक अभियान सञ्चालन नहुने बिभागले जनाएको छ । यस खोप अभियानका क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने स्वास्थ्य बिभागले जनाएको छ ।
नेपाल सरकारले सन् २०२६ सम्म दादुरा–रूबेला निवारण गर्ने लक्ष्य राखेको छ । दादुरा–रूबेला सवैभन्दा बढी संक्रामक रोग भएको र एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्ने जोखिम भएकोले यस वर्ष देशभरी नै खोप अभियान सञ्चालन गरीएको छ ।
खबरकुञ्ज