लमजुङ र कास्कीकाे सिमाना रूदीखाेलामा एकजना बेपत्ता, खाेजी कार्य जारी

खबरकुञ्ज
बेसीशहर, साउन ४ गते । लमजुङ र कास्कीकाे सिमाना रहेकाे रूदी खाेलामा एकजना बेपत्ता भएका छन् । लमजुङकाे क्व्होलासोंथार गाउँपालिका वडा नं.६ रहूडाँडाका मंगल बहादुर विक गत साउन १ गतेदेखि बेपत्ता भएका हुन् ।

साउन १ गते साँझ करिब साढे ५ बजे वडा नंं ५ काे सिङ्दी बेसीदेखि बगैँचा तर्फ ९ बर्षकी छोरी चन्द्रमाया विकसंगै फर्कदै गर्दा कास्कीकाे मादी गाउँपालिकासंगकाे सिमाना रुदी खोलामा उनी बेपत्ता भएका हुन् । रूदीखाेलाकाे माेटरेबल पुलबाट छाेरीसंगै खाेलाे तरेका उनी पुल कटिसकेपछि फेरि खाेलामा हामफालेका थिए ।

पुल तरिसकेपछि लगाएकाे चप्पल बाटाेमा फुकालेर उनी हामफालेपछि छाेरीले नजिकै रहेकाे रूदीखाेला जलविद्युत याेजनाका कामदारलाइ खबर गरेकी थिइन् । याेजनाका कामदार र केही स्थानीय समेतले खाेलामा हामफालेका वि.क.काे खाेजी गरे पनि भेट्न सकेनन् । साउन १ गते रूदीखाेला बढेकाे र पानीकाे बहाव बढी हुँदा खाेजी गरे पनि उनीहरू सफल हुन नसकेकाे बताइएकाे छ ।


उनी खाेलामा बेपत्ता भएकाे खबर पाए पछि बिहीबार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ र गिलुङ प्रहरी चाैकीका प्रहरीसहितकाे टाेलीले घटनास्थल पुगी बेपत्ताको खोजी गरेकाे थियाे । बिहीबार उनी नभेटिए पछि शुक्रबार पनि खाेजी कार्य जारी राखिएकाे क्व्हाेलसाेंथार गाउँपालिकाका अध्यक्ष सुर्यप्रसाद गुरूङले जानकारी दिए ।

बाबु बेपत्ता भएसंगै उनकी छाेरी चन्द्रमाया एक्ली भएकी छन् । घरमा बाबुमात्रै रहेकामा बाबु नै बेपत्ता भएपछि उनलाइ गिलुङ निवासी फुपुकाे जिम्मा लगाइएकाे अध्यक्ष गुरूङले बताए ।

प्रतिक्रिया