बेसीशहर, मंसिर १० गते । लमजुङको मध्यनेपाल नगरपालिकाको वडा नं ७ रामबजारमा रहेको चिसंखु स्वास्थ्य चौकीमा दन्त सेवाको शुभारम्भ गरिएको छ ।
सोमबार स्वास्थ्य चौकीमा आयोजित एक समारोहबीच मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले दन्त क्लिनिकको शुभारम्भ गरेका हुन् । जिभाय नेपालको सहयोगमा शुरु गरिएको दन्त क्लिनिकको सोमबार मध्यनेपालका मेयर रमेश पाण्डेले उद्घाटन गरेका छन् ।
दन्त सेवा क्लिनिकको उद्घाटन गर्दै मध्यनेपालका मेयर पाण्डेले मध्यनेपालका नागरिकको स्वास्थ्यका लागि नगरपालिकाले सक्दो काम गर्ने बताउँदै केही समय अघि चितवन मेडिकल कलेजसंग भएको सम्झौताको स्मरण गराए । उनले सरकारले दीर्घरोगीहरुलाई उपलब्ध गराउने ५ हजार रुपैयाँमा नगरपालिकाले ३ हजार थप गरिदिने गरेको पनि स्मरण गराए । मेयर पाण्डेले स्वास्थ्य उपचार महंगो भएकाले स्वास्थ्य उपचार सामान्य मानिसको पहुँच भन्दा बाहिर रहेकाले नगरपालिकाले नगरबासीको स्वास्थ्यका लागि गर्न सक्ने काम गरिरहेको र आगामी दिनमा थप काम गर्ने प्रतिबद्धता जनाए ।
स्मरणीय छ, मध्यनेपाल नगरपालिकाले यस अघि क्यान्सर लगायतका रोगको उपचारका लागि चितवन मेडिकल कलेजमा मध्यनेपालका नागरिकहरुलाई बिशेष छुटको ब्यवस्था गराएको छ ।
कार्यक्रममा नगर उपप्रमुख सीता गुरुङले जिभाय नेपालले मध्यनेपालको स्वास्थ्य क्षेत्रमा गरेको कार्यको सरहना गर्दै यस्ता कार्यक्रम नगरका सबै वडामा सञ्चालन गर्न अनुरोध गरिन् ।
प्रमुख प्रशासकिय अधिकृत चण्डिका पौडेलले क्लिनिक साप्ताहिक रुपमा संचालन हुने र यसबाट नगरबासीहरु लाभान्वित हुने बताए । वडा नंं ७ का अध्यक्ष हिरा गुरुङले दन्त क्लिनिक सञ्चालन भएपछि मध्यनेपालको सुशासन र दिगो बिकासमा लागि थप एउटा ईटा थपिएको धारणा राखे ।
मध्यनेपालमा बढी जनघनत्व भएका वडा नंं ६ र ७ लाई लक्षित गरी दन्त क्लिनिक सेवा शुरु भएको हो । मध्यनेपाल नगरपालिका र जिभाय नेपाल नाम गैरसरकारी संस्थाबीच सम्झौता भइ दन्त शिविर सञ्चालन गरिएको हो । यो सम्झौता अनुसार जिभाय नेपालले मध्यनेपालको वडा नंं ६ भोर्लेटारमा समेत दन्त क्लिनिक सञ्चालन गर्ने छ । यसबाहेक मध्यनेपालका विभिन्न विद्यालयहरुमा पनि दन्त शिविर सञ्चालन गर्ने सम्बन्धमा नगरपालिका र जिभाय नेपालबीच सम्झौता भएको मध्यनेपाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले जानकारी दिए ।
सम्झौता अनुसार अब मध्यनेपालको चिसंखु स्वास्थ्य चौकी र भोर्लेटार स्वास्थ्य चौकीमा हप्ताको १ दिन दन्त क्लिनिक सञ्चालन हुने छ । चिसंखु स्वास्थ्य चौकीमा हरेक हप्ता मंगलबार क्लिनिक सञ्चालन हुने र भोर्लेटारमा पछि दिन तय गरिने पौडेलले बताए ।
दन्त क्लिनिक सञ्चालनका लागि मध्यनेपाल नगरपालिकाले तत्कालका लागि २ लाख रुपैयाँ लगानी गरेको छ । यस क्लिनिकका लागि नगरपालिकाले १ जना स्वास्थ्यकर्मी उपलब्ध गराउने छ । क्लिनिकका लागि आवश्यक पर्ने उपकरण, स्वास्थ्य सामग्री र अन्य जनशक्ति जिभाय नेपालले ब्यवस्था गर्ने छ । तत्कालका लागि जिभाय नेपालले ३३ लाख रुपैयाँका स्वास्थ्य सामग्री र उपकरणको ब्यवस्थापन गर्ने प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।
यसबाहेक जिभाय नेपालले मध्यनेपालका विभिन्न विद्यालयहरुमा गएर मुख स्वास्थ्य सम्बन्धी सामान्य जाँच गर्ने र विद्यार्थीहरुको दाँत वा मुख स्वास्थ्यमा समस्या देखिए उपचारका लागि स्वास्थ्य केन्द्रहरुमा सिफारिस गर्ने छ ।
यस क्रममा विद्यालयहरुमा अभिमुखीकरण र स्वास्थ्य परीक्षण समेत हुने उनले बताए उनका अनुसार तत्कालका लागि जिभाय नेपालले ३ लाख ७० हजार बराबरका स्वास्थ्य सामग्री नगरपालिकालाई हस्तान्तरण गरेको छ ।