लमजुङका तामाङ समुदायले हर्षोल्लासका साथ मनाए सोनाम ल्होसार

खबरकुञ्ज

बेसीशहर, माघ १३ गते । मञ्जुश्री सम्बत २८६१ को अवसर पारी लमजुङका तामाङ समुदायले हर्षोल्लासका साथ सोनाम ल्होछार मनाएका छन् ।

तामाङ समुदायको परम्परागत मञ्जुश्री पात्रो अनुसार यस बर्ष डुक ल्होछार परेको छ । ल्हाेछारको सार्वजनिक विदा आउँदाे माघ १८ मा पर्ने भए पनि लमजुङका तामाङ समुदायले शनिबार बेसीशहरमा भब्य रुपमा ल्होछार मनाए । ल्होछार मनाउन उनीहरुले बेसीशहरमा ल्होछार उत्सव नै आयोजना गरी शुभकामना आदन प्रदान मात्र गरेनन्, विबिध सांस्कृतिक कार्यक्रम आयोजना गरी रमाइलो गरे ।

बेसीशहरको फुलबारी मञ्चमा उत्सवको कार्यक्रम गरिएको थियो । यस अघि बेसीशहरको मनाङे चौतारामा परम्परागत भेषभूषामा सजिएर जम्मा भएका तामाङ समुदायले सांस्कृतिक झाँकी र नाचगानका साथ बेसीशहर बजार परिक्रमा गरी फूलबारी मञ्चमा आइ औपचारिक कार्यक्रम गरेका थिए । 

सधै सुनसान जस्तै हुने फूलबारी मञ्च शनिबार दिनभर गुल्जार थियो । बेलुका अबेरसम्मै नाचगान र रमाइलोमा भुल्नेहरु धेरै थिए । मञ्चमा बोलाइएका अतिथिहरु शुभकामना दिएर गए पनि सांगितीक कार्यक्रम अबेरसम्मै चल्यो । दिनभरि नै नाचगान, शुभकामना मन्तब्य र सांगितीक कार्यक्रमको लहर चलिनै रह्यो ।

योसंगै फूलबारी मञ्चमा तामाङ समुदायमा प्रचलित परम्परागत खानाका परिकार चाख्नेहरुको संख्या पनि उल्लेख्य रह्यो ।

उर्गेन दोङ, लक्ष्मी तामाङ, प्रशान्त तामाङ, विशाल तामाङलगायतका कलाकारहरुले ल्होछारको रमाइलोलाई जुरुक्कै उचाले । दिनभर उनीहरुको सांगीतिक प्रस्तुतिमा सिंगो बेसीशहर झुम्यो । कार्यक्रममा प्रमुख अतिथि बनेका गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल लगायतका अतिथिहरु पनि मञ्चमा छमछमी नाचे ।

यस अघि मन्त्री भेषबहादुर पौडेलले औपचारिक कार्यक्रमको उद्घाटन गरे । उनले उद्घाटन मन्तब्य राख्दै नेपााल धेरै जातजाति, भाषाभाषी र समुदायको साझा फूलबारी रहेको चर्चा गर्दै, सबै जातजातिको, भाषा संस्कृति र परम्पराले छुट्ट्रै तर विशिष्ट पहिचान बोकेकाले नै नेपाली संस्कृतिले विश्वको अनुपन संस्कृतिको पहिचान पाएको बताए ।


कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य यसोदा रिमाल, टीकाकुमारी बस्याल, जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ, बेंसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङलगायतले शुभकामना मन्तव्य राखे ।

भाषा, लिपी, मौलिक संस्कृति तामाङको पहिचान, उत्पादन, निर्माण र समृद्धि हाम्रो साझा अभियान भन्ने नाराका साथ मनाइएको उक्त औपचारिक कार्यक्रम नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष होमराज तामाङको अध्यक्षतामा भएकोे थियो । कार्यक्रमको समापनमा तामाङ समुदायको भाषा, संस्कृति संरक्षणका लागि ल्होछार उत्सवको कार्यक्रम गरिएको उनले जानकारी दिए ।


प्रतिक्रिया