लमजुङकाे नाइचेमा पहिरोमा परि एक जनाको मृत्यु, तीन जना घाइते

खबरकुञ्ज

बेसीशहर, साउन २४ । लमजुङको मस्र्याङदी गाउँपालिकामा निर्माणाधीन सुपर न्यादी जलविद्युत आयोजनाको साइटमा खसेको पहिरोमा परि एक जना कामदारको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । 

आयोजनाको मर्स्याङ्दी गाउँपालिकाको वडा नं. ६ नाईचेमा रहेको साईडमा खसेको पहिरोमा परी लमजुङको बेसीशहर नगरपालिका वडा नंं १० रातामाटाका लगनध्वज गुरुङको मृत्यु भएको हो । आयोजनाको क्याम्पमा खान खाने क्रममा एक्कासी पहिरो खसेपछि भाग्ने क्रममा त्यहाँ कार्यरत तीन जना कामदारहरु गम्भीर रुपमा घाइते भएका छन् ।

घाइते हुनेहरुमा लमजुङको मध्यनेपाल नगरपालिका–७ बस्ने ३२ बर्षका भिम बहादुर तामाङ, दोर्दी गाउँपालिका–५ का २२ बर्षका विराज गुरुङ र प्युठान जिल्लाको झिम्रुक गाउँपालिका–६ घर भएका २५ बर्षका विकास विष्ट रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ। गम्भीर घाइते उनीहरुको टाउको, हातखुट्टा र शरिरका विभिन्न भागमा चोट लागेको छ । 

पहिरोमा परी घाइते भएकाहरुको प्रदेश अस्पताल बेसीशहरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राज किशोर साहले जानकारी दिए ।

पहिरो गएको खबर पाउनासाथ बाहुनडाँडा प्रहरी चौकीबाट प्रहरी खटिएका  प्रहरीले आयोजनाका कामदारहरुको सहयोगमा पहिरोमा परेका कामदारहरुको उद्धार गरेका थिए । उक्त क्याम्पसमा ४० जना कामदार रहेकामा बाँकी कामदारहरु सकुशल रहेको बताइएको छ ।

प्रतिक्रिया