फोहर ब्यवस्थापनका लागि वैकल्पिक ब्यवस्था गर्न बेसीशहर नगरपालिकालाई एक महिने अल्टिमेटम

खबरकुञ्ज

बेसीशहर, असार २० गते । लमजुङको बेसीसहर नगरपालिका वडा नंं ८ का स्थानीयले एक महिनाभित्र बेसीशहरको फोहर ब्यवस्थापनका लागि वैकल्पिक ब्यवस्था गर्न बेसीशहर नगरपालिकालाई अल्टिमेटम दिएको छ ।

बेसीशहरको वडा नंं ८ मा मलामी चौरमा शनिबार बिहान बसेको स्थानीय बासीन्दा, आमा समूह, युवा क्लव, वडाका बुद्धिजिवी, भद्रभलाद्मीहरु सम्मिलित बृहत भेलाले नगरपालिकाले वडाभित्र पर्ने झिंगेखोला र मस्र्याङदी नदीको दोभानमा २०६९ सालदेखि बेसीशहरको फोहर फाल्ने गरिएकोमा फोहरका कारण मस्र्याङदी नदीको पवित्रता, करपुरेश्वर महादेव मन्दिर प्रतिको धार्मिक विश्वासमा ठेस पुग्नुका साथै स्थानीय बासीन्दा र पर्यावरणमा समेत नकरात्मक असर परेको भन्दै एक महिनाभित्र बैकल्पिक डम्पिङ साइटको ब्यवस्थापन गर्न अल्टिमेटम दिएको हो ।

भेलाले तोकिएको समयसीमाभित्र  वैकल्पिक डम्पिङ साइटको ब्यवस्था नगरिए साउन २१ गतेदेखि मस्र्याङदी नदी तटमा फोहर फाल्न नदिने र फोहर बोकेका सवारी साधनलाई वडाको करपुरेश्वर चोकबाट तल प्रवेश निषेध गर्ने निर्णय गरेको छ ।

कर्पुरेश्वर टोल विकास समितिका अध्यक्ष लोठ बहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले २०६९ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारी, स्थानीय विकास अधिकारी बिष्णुदत्त गौतम, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख केशवलाल शाक्य, नेपाली कांग्रेसका सभापति कृष्ण कोइराला, नेकपा एमालेका उपाध्यक्ष गुमानसिंह अर्याल, बेसीशहर नगर विकास समितिका अध्यक्ष भूपाल बहादुर दनाई, लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भेषबहादुर पौडेल, बेसीशहर गाविसका अध्यक्ष पद्म बहादुर अधिकारी सहितको वैठकले २ बर्षका लागि मात्र उक्त स्थानमा फोहर ब्यवस्थापन गर्ने गरी स्थानीयको सहमति लिएको कुरा नगरपालिकालाई स्मरण गराएको छ ।

साथै उक्त वैठकले फोहर ब्यवस्थापनको काम सन्तोषजनक नभएमा जतिबेला पनि फोहर ब्यवस्थापनको कार्य रोक्न सकिने गरी स्थानीयलाई अधिकार समेत दिएको थियो ।

तत्कालीन अवस्थामा बेसीशहरको फोहर ब्यवस्थापनको काम लमजुङ उद्योग बाणिज्य संघले गर्दै आएको थियो । संघले बेसीशहरकै वडा नंं ८ गौंथलीडाँडाबाट मस्र्याङदी नदीतर्फको भीरमा फोहर फाल्ने गरेकोमा गौंथलीडाँडा र प्रगतिटोलका स्थानीयले फोहर फाल्न नदिएपछि सर्वपक्षीय, सर्वदलीय वैठक आयोजना गरी हालको स्थानमा अल्पकालीन फोहर ब्यवस्थापन गर्न बढीमा दुई बर्षका लागि स्थानीय बासीन्दा, करपुरेश्वर महादेव मन्दिर संरक्षण समिति, स्थानीय करपुरेश्वर सामुदायिक महिला विकास समिति लगायतका संस्थासंग सहमति लिइएको थियो ।

२०७२ मा बेसीशहर नगरपालिका बनेपछि तत्कालीन नगरपालिकाका कर्मचारी र स्थानीय निकायका निर्वाचन पछि नगरप्रमुख गुमानसिंह अर्याललाई स्थानीयले फोहर ब्यवस्थापनका लागि वैकल्पिक ठाउँ खोज्न अनुरोध गर्दै आएका थिए । यद्यपी नगरपालिकाले अहिलेसम्म वैकल्पिक डम्पिङ साइटको ब्यवस्था मिलाएको छैन ।

बेसीशहर नगरपालिकाले गत बैशाख १० गते एक सार्वजनिक सूचना जारी गर्दै फोहर मैला प्रशोधन केन्द्र निर्माण गर्न भनि जग्गा निःशुल्क वा सशुल्क उपलब्ध गराउन सूचना जारी गरेको थियो । सूचना जारी भएपछि वडा नंं २ र वडा नंं ९ का छुट्टा छुट्टै स्थानका स्थानीयले जग्गा उपलब्ध गराउने गरी नगरपालिकामा निवेदन समेत दिएकामा नगरपालिकाले कुनै पनि निर्णय गरेको छैन ।

यही बीचमा नगरपालिकाले हालको डम्पिङ साइटमा एक्साभेटर प्रयोग गरी कुनातर्फको फोहर पन्छाउँदै मस्र्याङदी नदीतर्फको छेउमा थुपार्न थालेको छ । पुरिएर कुहिएको फोहर माथि आउँदा त्यहाँको दुर्घन्धले बेसीशहरको दनैफाँट, गौंथलीडाँडा र बाँझाखेतका बासीन्दालाई आजित बनाएको छ ।

मस्र्याङ्दी नदी किनारमा लामो समयदेखि अव्यवस्थित रूपमा फोहर फालिँदै आएकोमा बेलाबखत कहिले आगो लगाएर फोहर पोल्ने, कहिले एक्साभेटर लगाएर फोहर यता उता सार्ने गरिँदा त्यहाँको फोहरको दुर्गन्धले स्थानीय आजित हुँदै आएका छन् । यसैको फलस्वरुप शनिबारको वैठक र निर्णय भएको स्थानीय भूपाल बहादुर दनाईले बताए ।


प्रतिक्रिया