बेसीशहर । नेकपा (एमाले)का सचिव गोकर्ण बिष्टले वर्तमान सरकारले देशलाइ अस्थिर र संकटग्रस्त बनाएकाे बताएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी लमजुङकाे नवाैं वैठकलाइ शनिबार बेसीशहरमा सम्बाेधन गर्दै सचिव बिष्टले वर्तमान सरकार लामो समय चले देशको अधोगति निश्चित रहेकाे दाबी गरेका हुन्।
सरकार विदेशीकाे इसारामा चलेकाे भन्दै उनले भने– "याे सरकार आफ्नै खुट्टामा उभिएको छैन। सरकारको नीति, कार्यक्रम, बजेट, कार्यशैली र यसले जनतालाई दिइरहेको सेवालाई हेर्ने हो भने यस्ताे पनि सरकार हुन्छ ? भनेर साेच्नु पर्ने हुन्छ । जनताकाे घरमा चुलाे बल्नै छाेडिसक्याे, त्यसैले याे सरकार जति लामाे समयसम्म टिक्छ, देशलाइ बेफाइदा मात्रै हुन्छ ।"
साे अवसरमा सचिव बिष्टले पार्टीका कार्यकर्ताहरूलाइ कुनै नेताकाे नभइ पार्टीकाे कार्यकर्ता बन्न र जनतासंग एकाकार भएर काम गर्न निर्देशन दिए ।
नेकपा एमाले जिल्ला कमिटी लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीकाे अध्यक्षतामा भएकाे वैठकले विभिन्न निर्णयहरू गरेकाे छ ।
वैठकले एमालेलाई कमजाेर वनाउन आन्तरिक र वाह्य शक्तिहरुले गरिरहेकाे गलत प्रचार र चलखेललाई परास्त गर्न, जनता र कार्यकर्ताहरुकाे विचमा यथार्थ र वास्तविक कुरा पुर्याउनकाे लागि पार्टी कमिटी र जनसंगठनहरुलाई व्यापक परिचालन गर्दै नयाँ परिस्थितिमा पार्टी भित्रका नयाँ युवा शक्तिलाई महत्त्वपूर्ण जिम्मेवारीसहित पार्टी कामलाई व्यवस्थित गर्ने र नेकपा एमालेलाई पुन शक्तिशाली र ठुलाे पार्टी वनाउने अभियान सञ्चालन गर्ने निर्णय गरेकाे छ ।
वैठकले यही असार १५ गतेसम्म सदस्यता नविकरण गरिसक्ने, बार्षिक कार्ययाेजना निर्माण गर्न जिल्ला कमिटीका सचिव सुभाष पाैडेलकाे संयाेजकत्वमा उपसचिव जीतबहादुर गुरूङ र जिल्ला कमिटी सदस्य पवित्रा थापा राना सदस्य रहेकाे कार्यदल गठन गरेकाे छ ।
त्यस्तै वैठकले बार्षिक बजेट निर्माण गर्न उपाध्यक्ष यशाेदा रिमाल संयाेजक, सचिवालय सदस्य अर्जुन गुरूङ र कार्यालय सचिव विवश बुढाथाेकी सदस्य रहेकाे कार्यदल गठन गरेकाे छ ।
वैठकले विक्रम न्याैपानेलाइ जिल्ला कमिटीकाे सदस्यमा मनाेनित गरेकाे छ । याे संगै नेकपा एमाले लमजुङकाे १०९ सदस्यीय जिल्ला कमिटीले पूर्णता पाएकाे जिल्ला कमिटीका अध्यक्ष कृष्ण अधिकारीले जानकारी दिए ।
वैठकले पार्टी प्रदेश कमिटीका सचिवालय सदस्य स्वर्गिय बम बहादुर थापाकाे निधनमा दुःख प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेकाे छ ।
साथै वैठकले पार्टी केन्द्रले गरेकाे निर्णयअनुसार गण्डकी प्रदेशको इञ्चार्जमा पार्टी सचिव गाेकर्ण विष्ट, जिल्ला इञ्चार्जमा केन्द्रीय सदस्य रामशरण वस्नेत र ८ वटै पालिका इञ्चार्जमा पार्टी केन्द्रीय सदस्य जमिन्द्रमान घलेलाई स्वागत गर्दै यस अघिको जिम्मेवारीमा रहेका नेताहरूलाई धन्यवाद ज्ञापन गरेकाे छ।