लमजुङको दोर्दी गाउँपालिकाले प्रतीक चिन्ह बनाउन जारी गर्याे सूचना

खबरकुञ्ज

बेसीशहर, मंसिर १० गते । लमजुङको दोर्दी गाउँपालिकाले गाउँपालिकाको प्रतीक चिन्ह बनाउने भएको छ । गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) निर्माण गरी प्रयोगमा ल्याउने प्रयोजनका लागि गाउँपालिकाले एक सूचना जारी गर्दै छनोट भएको लोगो डिजाईनकर्तालाई २५ हजार रुपैयाँ उपलब्ध गराउने बताएको छ ।

गाउँपालिकाको प्रतीक चिन्ह बनाउँदा गाउँपालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक, भाषा, धर्म, संस्कार, आर्थिक गतिविधि एवं विशिष्ट मौलिक पहिचान झल्कने हुनुपर्ने गाउँपालिकाको सूचनामा उल्लेख छ । 

लोगोको डिजाइनमा देशको राष्ट्रिय झण्डा र गाउँपालिकाको नाम अनिवार्य हुनुपर्ने र कुनै धर्म तथा सम्प्रदायप्रति विभेद झल्कने र सामाजिक सद्भावमा खलल पुग्ने तथा देशको सार्वभौमिकता, एकता र अखण्डतामा प्रतिकूल असर गर्ने संकेत प्रयोग गर्न नपाइने प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताए ।

लोगो मौलिक र अन्यत्रबाट नक्कल नगरिएको, बुहरंगमा छपाई गरी प्रयोगमा ल्याउन सकिने हुनुपर्ने र डिजाइनकर्ताले प्रयोग गरिएका संकेतहरुको संक्षिप्त ब्याख्या गर्नुपर्ने शर्त सूचनामा राखिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत काफ्लेले लोगो छनोट गर्ने सम्पूर्ण अधिकार कार्यपालिकाको हुने र उक्त लोगोको सर्वाधिकार गाउँपालिकामा रहने बताए । उनका अनुसार प्राप्त चिन्हमा आवश्यक परिमार्जन गर्न आग्रह गरिएमा डिजाइनकर्ताले परिमार्जन समेत  गरदिनुपर्ने शर्त रहेको जानकारी दिए ।


प्रतिक्रिया