लमजुङका प्रजातान्त्रिक योद्धाहरुको सम्मान

खबरकुञ्ज

बेसीशहर, मंसिर ३ गते । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जेल जीवन समेत विताएका लमजुङका प्रजातान्त्रिक योद्धाहरुको बेसीशहरमा सम्मान गरिएको छ ।

गत कार्तिक २९ गते नेपाली कांग्रेस निकटको प्रजातन्त्र सेनानी संघ लमजुङको दोस्रो जिल्ला अधिवेशनका क्रममा प्रजातन्त्र सेनानीहरु बेसीशहर नगरपालिका वडा नंं ३ का नविन बानिया, ऋषिराम बराल, सुन्दरबजारका हरिकान्त खनाल र बेसीशहर ८ का भरत श्रेष्ठ सम्मानित भएका हुन् । उनीहरुलाई नेपाली कांग्रेसका गण्डकी प्रदेश  कार्य समितिका सभापति शुक्रराज शर्मा, पूर्व सांसद रामचन्द्र पोखरेल लगायतले सम्मान गरेका थिए ।

पञ्चायती शासनको जगजगीका बीच देशमा प्रजातन्त्र स्थापनाका लागि नेपाली कांग्रेसको संगठन विस्तार गरेको भन्दै तत्कालीन शासकले उनीहरुलाई २०२९ सालमा पक्राउ गरी जेलमा राखेका थिए । बानिया र बरालले २ बर्ष बढी जेल जीवन विताएका थिए भने खनाल र श्रेष्ठ १८ महिना जेल बसेका थिए ।

अधिवेशनको उद्घाटन गर्दै प्रदेश सभापति शर्माले कम्युनिष्टहरुको संगतमा लागेर कांग्रेसले आफ्नो सिद्धान्तबाट बिचलित भएको गुनासो गरे । विपी कोइरालाले बनाएको कांग्रेस अहिलेसम्म आइपुग्दा कम्युनिष्टहरुलाई शान्ति र प्रजातन्त्रको पाठ सिकाउदै गर्दा संस्थापक विपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सैद्धान्तिक विरासत बिर्सन पुगेको भन्दै कम्युनिष्टहरूलाई शान्ति र लोकतान्त्रिक मार्गमा हिडाउने नाउँमा आफ्नो सैद्धान्तिक विरासत छोड्न नहुने बताए । 

उनले भने “कांग्रेसको संस्थापक भने पनि नेता भने पनि विपी मात्रै हुन्, अरु त हामीजस्तै कार्यकर्ता हुन्, त्यसैले सिद्धान्त परिवर्तन गर्ने अधिकार नेतालाई मात्र हुन्छ, कार्यकर्तालाई हुँदैन ।” नेता शर्माले प्रजातन्त्र भनेको अहिलेको लोकतन्त्र भन्दा पनि उन्नत ब्यवस्था रहेको भन्दै प्रजातन्त्रमा मात्र जनताले स्वतन्त्र र सम्मानपूर्वक बाँच्न पाउने बताए ।

प्रदेश सभापति शर्माले प्रजातन्त्र सेनानी संघले कांग्रेसलाई घच्घच्याउनु पर्नेमा जोड दिए । “कांग्रेस आफ्नो नीति र सिद्धान्तबाट दिग्भ्रमित भएकाले यसलाई ठीक ठाउँमा ल्याउन प्रजातन्त्र सेनानीहरुले भूमिका खेल्नुपर्छ” – उनले भने ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले अग्रजहरुको त्याग र बलिदानबाट अहिलेको उपलब्धी हासिल भएको भन्दै त्यही उपलब्धी नै नेपालको संविधान २०७२ हो भने । उनले संविधानले देशका सबै वर्गको हक अधिकार ग्यारेन्टी गरेकाले यसकै जगमा मुलुकमा समृद्धि हासिल हुने चचा गरे ।

गण्डकी प्रदेशकै वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलेले समयक्रममा पार्टीबाट केही कमी कमजोरी भएको स्वीकार गर्दै कमी कमकमजोरीलाई सुधारेर अघि बढ्नुको विकल्प नभएको बताए । 

नेपाल प्रजातन्त्र सेनानी संघका जिल्ला अध्यक्ष शुभनाथ मिश्रको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस लमजुङका पूर्व सभापति एवं पूर्व सहायकमन्त्री रामचन्द्र अधिकारी, गण्डकी प्रदेशका पूर्व मन्त्री दोवाटे विक, प्रदेश सभा सदस्य पार्वती तामाङ लगायतले प्रजातान्त्रिक योद्धाहरुको योगदानकै कारण आज देशमा परिवर्तन भएको चर्चा गरे ।

अधिवेशनले दामोदर अधिकारीको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नारायणप्रसाद घिमिरे, सचिवमा कृष्णप्रसाद लामिछाने र सदस्यहरूमा रामचन्द्र घिमिरे शास्त्री, जम. लिलबहादुर घले, रणबहादुर गुरुङ, पदमराज कँडेल, हरिश्चन्द्र पण्डित, राधिका पौडेल, दिलबहादुर परियार, रामकृष्ण श्रेष्ठ र पुरुषोत्तम जोशी चयन भएका छन् । अधिवेशनबाट छनोट हुन बाँकी रहेका पदाधिकारी एवं सदस्यहरु आगामी दिन बस्ने जिल्ला कार्य समितिको वैठकबाट मनोनित गरिने जानकारी निर्वाचन मण्डलले दिएका छ ।

प्रतिक्रिया