बेसीशहर, माघ २९ । लमजुङको सुन्दरबजारमा रहेको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, लमजुङ क्याम्पस अनिश्चितकालका लागि बन्द गरिएकाे छ ।
गत शनिबार क्याम्पसमा अध्ययनरत विद्यार्थीबीच झडप हुँदा १५ जना विद्यार्थी घाइते भए पछि उत्पन्न परिस्थितिले तत्काल पठन पाठन गराउन नसिकिने भएपछि क्याम्पस प्रशासनले आइतबार एक सूचना जारी गरी क्याम्पसकाे शैक्षिक गतिविधि अर्काे सूचना नभएसम्मका लागि लागि बन्द गरिएकाे जनाएकाे हाे ।
क्याम्पसमा आफ्नाे संगठनकाे बर्चस्व कायम राख्ने हाेडबाजीका बीच नयाँ भर्ना हुन आएका विद्यार्थीलाइ आफ्नाे संगठनमा तान्ने क्रममा शनिबार नेपाली कांग्रेस निकटकाे नेविसंघ र नेकपा एमाले निकटकाे अनेरास्ववियूका विद्यार्थीबीच कुटाकुट हुँदा छैटौँ र सातौं सेमेस्टरमा अध्ययनरत १५ जना विद्यार्थी घाइते भएका थिए । घाइते सबै अनेरास्ववियूका विद्यार्थी रहेकाे बुझिएकाे छ ।
घाइते विद्यार्थीहरुलाई उपचारका लागि नमूना सामुदायिक अस्पताल सुन्दरबजारमा लगिएकोमा ४ जना विद्यार्थीहरू मदन रिजाल, वेदान्त घिमिरे, विराज सुवेदी र टीकाराम ढकाललाइ थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रिफर गरिएको थियाे । रिफर भएकामध्ये ढकालकाे चितवन मेडिकल कलेजमा उपचार भइरहेकाे छ । अन्य घाइतेहरू उपचार पछि फर्केका र उनीहरूकाे अवस्था सामान्य रहेको बताइएकाे छ।
अनेरास्ववियूले नेविसंघका विद्यार्थीहरूले छात्राबासमा बसेका अनेरास्ववियूका विद्यार्थीहरूलाइ विनाकारण निर्ममतापूर्वक कुटपीट गरिएकाे र केहीलाइ छात्राबासकाे छतबाट खसालिएकाे दावी गर्दै घटनाकाे भर्त्सना गरेकाे छ । साे संगठनले घटनाकाे सत्यतथ्य छानवीन गरी दाेषीलाइ कडा कारबाही गर्न पनि माग गरेकाे छ ।
लमजुङ क्याम्पसका निमित्त क्याम्पस प्रमुख अमित खनालका अनुसार झडपपछि शनिबार नै क्याम्पसकाे छात्रबास खाली गराइएकाेमा तत्काल पठनपाठन शुरू गर्दा पुन झडप हुन सक्ने देखिएकाले आइतबार एक सूचना जारी गरी अर्काे सूचना जारी नहुन्जेल क्याम्पसकाे प्रशासनमात्र खुल्ने गरी क्याम्पसका सबै शैक्षिक गतिबिधि बन्द गरिएकाे हाे ।

अहिले क्याम्पसमा परीक्षा फर्म भर्ने समय रहेकाे र छैटाैं सेमिस्टारकाे ब्याकपेपरकाे परीक्षासमेत आउन लागेकाले क्याम्पस प्रशासन भने खुला राखिए आन्तरिक छलफललाइ निरन्तरता दिइएकाे खनालले बताए ।
हाल क्याम्पस प्रमुख डा. नारायण न्याैपाने बाहिर रहेका र झडपका सम्बन्धमा छानवीन गरी दाेषीलाइ कारबाहीसमेत गर्नु पर्ने भएकाले यस सम्बन्धमा छलफल चलिरहेकाे निमित्त क्याम्पस प्रमुख खनालले बताए । राजनीतिक दल, विद्यार्थी संगठन, सुरक्षा निकाय, क्याम्पस प्रशासन र सराेकारवालाबीच छलफल भएपछि क्याम्पसकाे पठनपाठन सुचारू गरिने उनले बताए ।
झडपपछि लमजुङ क्याम्पसमा सुरक्षा ब्यवस्था कडा पारिएको छ । अहिले क्याम्पसको अवस्था सामान्य रहे पनि विद्यार्थीहरुबीच पुनः झडप हुन सक्ने सम्भावनालाई ख्याल राख्दै सुरक्षा ब्यवस्था कडा पारिएको क्याम्पस प्रशासनले जनाएकाे छ ।
लमजुङ क्याम्पसमा अध्यनका लागि आउने नयाँ विद्यार्थीहरुलाई आफ्नो संगठनमा तान्ने होडबाजीमा हरेक बर्ष विद्यार्थी संगठनहरुबीच झडप हुने गरेको छ । शनिबारको झडपसमेत सोही कारण भएको हाे ।