लमजुङकाे हिलेटक्सारमा पहिराेमा परी १ काे मृत्यु, क्व्हाेंलसाेंथारकाे बगुममा ४ जना बेपत्ता

मिलन शर्मा दनाई
बेसीशहर, असार १२ गते । लमजुङका बिभिन्न ठाउँमा गएराती गएकाे पहिराेमा परी एक जनाकाे मृत्यु हुनुका साथै चार जना बेपत्ता भएका छन् । 
लमजुङकाे दाेर्दी गाउँपालिका वडा नंं ९ हिलेटक्सारकाे सुनारगाउँमा पहिराेले पुरेर एक जनाकाे मृत्यु भएकाे छ भने  क्व्होंलासोंथार गाउँपालिका वडा नंं ३ बगुम गाउँमा गएराती मध्यरातमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् ।
हिलेटक्सारकाे सुनार गाउँमा गएराती स्थानीय रामकाजी सुनारकाे घरलाइ पहिराेले पुर्दा उनका १६ बर्षका छाेरा विकल विककाे मृत्यु भएकाे र १८ बर्षिय छाेरा मिलन वि.क घाइते भएका स्थानीय सुरेशबाबु पाण्डेले जानकारी दिए ।

हिलेटक्सार ९ मा  पहिराेले क्षतिग्रस्त रामकाजी सुनारकाे घर । स्वीर साैजन्यः हरि घिमिरे
बेसीशहर नगरपालिका वडा नंं ११ का वडाध्यक्ष शिवप्रसाद जाेशीका अनुसार पहिराेमा परी घाइते भएका दुवै जनालाइ उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटाेमा मृत्यु भएकाे हाे । चितीकाे रिठ्ठेबगरबाट बेसीशहरकाे वडा नंं १ उदीपुरतर्फ जाने सडकमा गएकाे पहिराेका कारण एम्बुलेन्स कट्न नसक्दा बेसीशहरबाट अर्काे एम्बुलेन्स बाेलाएर घाइतेहरूलाइ अस्पताल लगिए पनि एक जनाकाे बाटाेमै मृत्यु भएकाे उनले बताए ।

                                                                                            हिलेटक्सार ९ मा  पहिराेले क्षतिग्रस्त रामकाजी सुनारकाे घर । स्वीर साैजन्यः हरि घिमिरे
उता क्व्हाेंलसाेंथार ३ बगुममा गएराती मध्यरातमा भीषण बर्षासंगै गएकाे पहिराेले त्यहाँका ३ वटा घर बगाएकाे हाे । पहिराेमा परी त्यहाँका २ घरका दुइ बालिकासहित ४ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाइँका अनुसार पहिराेमा परी स्थानीय रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ, इच्छा र नम्रता गुरूङ बेपत्ता भएका हुन् ।
 
क्व्हाेंलसाेंथार ३ बगुमकाे पहिराेः तस्वीर सामाजिक सञ्जाल
प्रहरी निरक्षक चापागाइँले पहिराेमा परेर बेपत्ता भइरहेकाहरूकाे खाेजी कार्य भइरहेकाे बताए । खाेजी तथा उद्धारका लागि मालिङ प्रहरी चाैकीबाट प्रहरीहरू घटनास्थल पुगिसकेका र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेकाे नेतृत्वमा प्रहरी टाेली घटनास्थलतर्फ लागेकाे चापागाइँले जानकारी दिए ।
स्थानीयका अनुसार पहिरोमा परेर अन्दाजी ३६ वर्षीय भीमबहादुर घले घाइते भएका छन् । उनलाइ पहिराेले बगाएर केही तल सम्म पुर्याएकाे र उनी बचेर फर्किएकाे बताइएकाे छ । 
प्रहरीले पहिराेमा परेकाहरूकाे अवस्था अझै अज्ञात रहेकाे र उनीहरूकाे खाेजी कार्य भइरहेकाे जनाएकाे छ ।

प्रतिक्रिया