बेसीशहर, चैत २९ गते । लमजुङमा रगत चढाउनु पर्ने बिरामीका लागि सहजै रगत नपाउने अवस्थाको अन्त्य गर्न बेसीशहरका युवाहरु लगि परेका छन् ।
प्रदेश अस्पताल बेसीशहर लगायत जिल्लाका कुनै पनि अस्पतालमा भरपर्दो रक्तसञ्चार सेवा नभएपछि रगतकै अभावमा मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्न बेसीशहरको शेरामा रहेको क्लव बेसीशहर युथ सोसाइटीले पहल शुरु गरेको हो ।
क्लवले आवश्यक परेका बेला तुरुन्त रगत उपलब्ध हुन गरी मोबाइल एप बनाउन लागेको हो । क्लवका अध्यक्ष रविन श्रेष्ठले लमजुङ ब्लड डोनर्स नामको उक्त मोबाइल एपमा ईच्छुक रक्तदाताहरुको नाम, उनीहरुको रक्त समूह र पछिल्लो पटक निजले रक्तदान गरेको मिति उल्लेख हुने र रगतको आवश्यकता पर्ने जो कोहीले पनि उक्त एपमा गएर आफूलाई चाहिएको रगतको समूहको जानकारी गराइ उक्त रक्त समूह भएका रक्तदाताहरु भेट्न सकिने जानकारी दिए । मोबाइल एपमा रक्तदाताहरुको नाम र मोबाइल नम्बर समेत देख्न सकिने छ ।
यस एपमा कसैले रगत चाहिएको जानकारी गराएपछि एपमार्फत रक्तदाताहरुकोमा खबर समेत पुग्नेछ । जसबाट ईच्छुक रक्तदाताहरु स्वयं पनि विरामीको सम्पर्कमा पुग्न सक्ने क्लवका अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार एपमा लमजुङ जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सहरुको जानकारीसहित उनीहरुको अवस्थिति र सम्पर्क नम्बर समेत उपलब्ध हुनेछ ।
शरीरमा रगत चढाउनु पर्ने अवस्थाका विरामी र तिनका आफन्तले भोग्नु परेको समस्या समाधानका लागि क्लवले गर्न लागेको एप निर्माणको लमजुङबासीले खुलेर प्रशंसा गरेका छन् । डिजिटल प्रविधिको बढ्दो उपयोग भइरहेका बेला यसको सदुपयोग गर्दै एप निर्माण गर्न लागिएको र एप निर्माण भएपछि रक्तदाताको सहज पहिचान हुनुका साथै चाहेको बेला विरामीलाई रगत उपलब्ध हुन सक्ने क्लवका अध्यक्ष श्रेष्ठले बताए ।
मोबाइल एप निर्माण भएपछि लमजुङमा रक्तदाताको समुदायको निर्माण हुनेछ । यसबाट रक्तदान गर्न प्ररित गरी रक्तदाताहरुको सख्या बढ्ने अपेक्षा गरिएको छ । एपमार्फत आपतकालीन अवस्थामा तत्काल रक्तदाता उपलब्ध हुनसक्ने विश्वास गरीएको छ । अध्यक्ष श्रेष्ठले भने– "मानव रगत कुनै कारखानामा बन्दैन, यसको श्रोत मानव नै हो । मोबाइल एप बनेपछि अहिलेको समस्या धेरै हदसम्म समाधान हुने विश्वास लिएका छौं ।"
यस एप निर्माणका लागि क्लवले बेसीशहरका अन्य विभिन्न क्लवहरुसंग सहकार्य गरिरहेको छ । बेसीशहरका मस्र्याङदी युवाक्लव, त्रिवेणी युवाक्लव, आदर्श युवाक्लव, लिटलस्टार युवाक्लव, लाङदीदेवी युवाक्लव नाल्मा यस अभियानमा जोडिएका छन् ।
क्लवले एप निर्माणका लागि आर्थिक संकलन अभियान पनि सञ्चालन गरेको छ । आर्थिक संकलन सँगै रक्तदान सम्बन्धी बृहत सचेतना फैलाउन क्लवले यही नयाँ वर्षको अवसर पारेर आगामी बैशाख १ गते बेसीशहरको फूलबारी मञ्चमा बृहत सांगीतिक साँझ आयोजना गरेको छ । ब्याक टु नाइन्टीज नाम दिइएको उक्त सांगीतिक साँझमा १९९० काे दशकका ६ वटा चर्चित सांगीतिक व्याण्डहरु डिमोर्चा, देउराली, ब्रोसिस, मध्यान्ह, लेकाली र भेगााबोर्डको प्रस्तुति रहने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
सदरमुकाम बेसीशहरमा रहेको प्रदेश अस्पताल सहित जिल्लाका कुनै पनि अस्पतालमा विरामीलाई आवश्यक परेका बेला रगत पाउन मुश्किल छ । दुर्घटना आदिका कारण आकस्मिक रुपमा भर्ना भएका विरामी वा शल्यक्रिया गर्ने अवस्थाका विरामीलाई पहिले रगतको ब्यवस्थ
ा गरेर मात्र उपचार थाल्नुपर्ने बाध्यता छ । चाहिएको समूहको रगत नभेटे विरामीलाई काठमाडौं, पोखरा वा चितवन लैजानु पर्ने अवस्था छ ।
खबरकुञ्ज