ग्रामीण पर्यटनको रजत जयन्ती मनाउँदै घलेगाउँ, नयाँ बर्षमा भब्य रुपले मनाइने

मिलन शर्मा दनाई

आन्तरिक पर्यटकका लागि पहिलो रोजाईमा पर्ने ग्रामीण पर्यटनको केन्द्र लमजुङको घलेगाउँ ग्रामीण पर्यटनको रजत जयन्ती मनाउने तयारीमा जुटेको छ । 

यही बैशाखबाट घलेगाउँमा ग्रामीण पर्यटन शुरु भएको २५ बर्ष लाग्दै छ । २०५७ सालमा पहिलो पटक घलेगाउँ महोत्सव आयोजना गरी त्यहाँ होमस्टेको शुरुवात गरिएको थियो । मुलुक सशस्त्र द्वन्द्धको चपेटामा परिरहेको कहालीलाग्दो अवस्थामा गाउँलाई पर्यटकीय गाउँको रुपमा विकास गरी गाउँलेहरुको आर्थिक उन्नतिका लागि स्थानीयले ग्रामीण पर्यटनको जग हालेका थिए ।

रजत जयन्तीको अवसरमा यही आउँदो नयाा बर्ष बैशाख १ गते घलेगाउँमा विविध कार्यक्रम आयोजना हुँदैछन् । रजत जयन्तीसंगै रजत जयन्ती स्मारिकाको विमोचन, घलेगाउँ सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन, एक घर एक धारा अन्तर्गत घलेगाउँ खानेपानी आयोजनाका उद्घाटन उद्घाटन गर्ने कार्यक्रम रहेको घलेगाउँ ग्रामीण पर्यटन विकास समितिका अध्यक्ष प्रेमबहादुर घलेले जानकारी दिए । रजत जयन्तीका बारेमा शनिबार बेसीशहरमा पत्रकार सम्मेलन गरी उनले घलेगाउँको विगत र आगतको बारेमा जानकारी गराएका हुन् । 

घलेगाउँबासीका लागि स्वास्थ्य उपचार बीमा शुभारम्भ पनि सोही अवसरमा गरिदैंछ । सो अवसरमा परम्परागत गुरुङ लोक संस्कृतिको प्रदर्शनका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति पनि आयोजना गरिएको घलेले जानकारी दिए ।

रजत जयन्तीकै अवसरमा घलेगाउँमा स्मार्ट भिलेज आमन्त्रित गोल्ड कप फुटबल प्रतियोगिताको समेत आयोजना गरिएको छ । प्रतियोगितामा नेपाल र भारतका टीमले समेत सहभागिता जनाउने भएका छन् ।

ग्रामीण पर्यटनका अभिभावक स्थानीय प्रेमबहादुर घलेको नेतृत्वमा स्थानीयको लगातारका प्रयासले घलेगाउँको अहिले नतिजा दिन शुरु गरिसकेको छ । सार्क राष्ट्रको नमूना गाउँ, सुखी गाउँ हुँदै स्मार्ट भिलेजमा परिणत भइसकेको छ ।

नेपालमा मात्र होइन, विदेशमा पनि ख्याति आर्जन गर्न सफल घलेगाउँ अहिले ब्राण्ड नै बनेको छ । अनुपम प्राकृतिक छटाका साथै कला र संस्कृतिको खानी घलेगाउँ त्यसै ब्राण्ड बनेको चाहिँ होइन । स्थानीयको मीठो बोलीबचन, आत्मीयता, पाहुनालाई भगवान मान्ने संस्कार र त्यहाँ पाइने रैथाने परिकारको स्वाद नै घलेगाउँ आजको अवस्थामा पुग्न सफल भएको हो ।

२०५६ सालदेखि पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु शुरु गरी २०५७ सालमा पहिलो महोत्सव गरी घलेगाउँले विश्वमा आफूलाई चिनाउने प्रयास थालेको थियो । शुरुमा १३ घरबाट घरबासको कार्यक्रम शुरु गरेको घलेगाउँले विस्तारै सडक, विजुली, सञ्चार जस्ता आधारभूत पूर्वाधार पुरा गरी पर्यटकलाई स्तरीय सेवा दिन थाल्यो । पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ)बाट २०७६ सालमा नेपालकै उत्कृष्ट होमस्टेको रुपमा पुरस्कृत समेत भइसकेको छ ।  अहिले घलेगाउँमा आन्तरिक पर्यटकको ओइरो नै लाग्छ ।

१३ घरबाट होमस्टे थालिएको घलेगाउँमा अहिले ४५ घरमा होमस्टे सञ्चालित छ ।  पर्यटकको आवागमन बढ्दै गर्दा अहिले त्यहाँ तीनवटा सुविधा सम्पन्न होटल नै सञ्चालनमा आएका छन् । गाउँ पर्यटनको हब बन्दै गर्दा रोजगारीको खोजीमा विदेश गएकाहरु र अमेरिका, बेलायत जस्ता मुलुकमा स्थायी बसोबास गरेका स्थानीय पनि गाउँ फर्कन थालेका छन् ।

समुद्री सतहदेखि करिव २१०० मिटरको उचाइमा रहेको घलेगाउँबाट माछापुच्छ«े, अन्नपूर्ण, लमजुङ हिमाल, मनासुलु, डा. हर्क पिक, हिमालचुली, बौद्ध हिमाल लगायत दर्जनौ हिम श्रृंखला, मिदिम र मस्र्याङदी नदी बगेको मनोरम दृष्य र लमजुङ, तनहूँ र कास्कीका दर्जनौं स्थानको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ ।

घलेगाउँ चौबीसे राज्यकालमा घलेराजाले शासन गरेको ठाउँसमेत हो । घले राजाले शासन गरेको र घले जातिको बाहुल्य भएकाले यो गाउँको नाम पछि घलेगाउँ रहन गएको मानिन्छ । घलेगाउँमा गुरुङ जातिका अन्तिम राजाको, गुरुङजातिको शास्त्रीय पाठाशाला व्होईबो धिँ, परम्परागत गुरुङ संग्रहालय, गोर्खा आर्मी पार्क भ्यू टावर,  उत्तरकन्या मन्दिर र चियावारी त्यहाँका घुम्ने ठाउँहरु हुन् ।

घलेगाउँ पुग्न लमजुङ सदरमुकाम बेसीसहरबाट जानुपर्छ । काठमाडौंबाट तनहुँको डुम्रे हुँदै बेसीशहर हुँदै, पोखरादेखि बेसीसहर हुँदै घलेगाउँ पुग्न सकिन्छ । बेसीशहरबाट २४ किलोमिटर दुरीमा रहेको यो गाउँ पुग्न पोखरा वा दमौलीबाट पनि सिधै जान सकिन्छ । दमौलीबाट भोर्लेटार करापु, साल्मेभञ्ज्याङ घाम्राङ भुजुङ हुँदै र पोखराबाट कालिका सौर्य, पसगाउँ भुजुङ हुँदै पनि पुग्न सकिन्छ ।

प्रतिक्रिया