आर्थिक वर्ष २०८०/०८१ का लागि यस्ताे छ राइनास नगरपालिकाकाे नीति तथा कार्यक्रम

राईनास । लमजुङको राइनास नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा कृषिमा ब्यवसायीककरण,दीगाे र गुणस्तरीय पूर्वाधार निर्माण, स्वास्थ्य शिक्षा र खानेपानीमा सबैकाे पहुँच र राेजगारी प्रबर्द्धन गरी गरिबी निवारणलाइ प्राथमिकता दिने भएकाे छ ।

शुक्रबार राइनासकाे तीनपिप्लेमा भएकाे राइनास नगरपालिकाकाे १२ अाैं सभामा नीति कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगर प्रमुख खड्कबहादुर गुरूङले आर्थिक वर्ष २०८०/०८१ मा कृषिमा अाधुनिकीकरण,पूर्वाधार निर्माण, पर्यटन, सार्वजनिक सेवा तथा क्षमता विकास, राजश्व प्रणाली तथा कर प्रशासनलगायतका क्षेत्रमा नगरपालिकाले विशेष प्राथमकिता दिने बताए ।

नगरप्रमुख गुरुङले कृषि क्षेत्रमा उत्पादन लागत घटाउने र उत्पादकत्व बढाइ उत्पादनकाे बजार सुनिश्चित गरी कृषि पेशालाई मर्यादित एवं व्यवसायिक पेशाको रुपमा विकास गर्ने र उत्पादनमा आधारित अनुदान दिने व्यवस्था मिलाइएकाे जानकारी दिए । उनले कृषिमा यन्त्रीकरण, सामूहिक खेती प्रणाली, कृषि एवं पशु बीमा कार्यक्रम, कृषि उपज संकलन केन्द्र, रैथाने बाली संरक्षण कार्यक्रम, नश्ल सुधार, सुरुङ्गे खेती, एक वडा एक कृषि प्राविधिक, एक गाउँ, एक उत्पादनको अवधारणा कार्यान्वयमा ल्याइने घाेषणा गरे ।



नगर प्रमुख गुरूङले राइनासकोट एकीकृत पर्यटकीय पूर्वाधार कार्यक्रम अन्तर्गत साइकल ट्रेल, पदमार्ग स्तरोन्नती, प्याराग्लाइडिङ, विभिन्न ठाउँमा पार्क, अतिथि घर, कोशेली घर निर्माण लगायतका कार्यक्रम समावेश गरिएकाे जानकारी दिए ।

नगर सभामा नगर उपप्रमुख पुष्पराज खनाल, प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयल, नगर सभा सदस्यहरु, लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

नीति तथा कार्यक्रम विस्तृतमा हेर्नुहाेस् ।

https://khabarkunja.com/content/epaper/image658o0ntei.pdf

प्रतिक्रिया