बेसीशहर, फागुन १५ । लमजुङ सदरमुकाम बेसीशहरमा बहुला विगविगी बढेको छ । रेविज संक्रमित भुस्याहा कुकुरले सडकमा हिँडेका बटुवालाईसमेत टोक्न थालेपछि स्थानीय त्रसित भएका छन् ।
बेसीशहर बजारमा बहुला कुकुरले टोक्दा मंगलबार एकै दिन ५ जना घाइते भएका छन् । बेसीशहरको भीमसेनस्थानमा सडकमा हिँडिरहेका बटुवालाई बहुला कुकुरले टोकेको हो । मंगलबार बिहान १० बजेदेखि बेसीशहरको भीमसेनस्थान चोकमा हिँडिरहेका नागरिकलाई कुकुरले टोक्न थालेकोमा दिनभर ५ जनालाई टोकेको हो ।
५ जनालाई घाइते बनाउने गरी टोक्ने कुकुरमा अन्ततः रेविज संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयको सहयोगमा उक्त कुकुरलाई नियन्त्रणमा लिई उक्त कुकुरमा रेविज भए नभएको बारे रेपिड टेष्ट गर्दा रेबिज पोजेटिभ पाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. सुनिल न्यौपानेले बताए । रेपिड टेष्ट ९९ प्रतिशत विश्वसनीय हुने उनले बताए । कुकुरले टोकेको घाउको प्रकृति र कहाँ टोकेको छ त्यसको आधारमा इम्युनु ग्लोवुलिन खोप लगाउन पर्ने उनले जानकारी दिए ।
डा. न्यौपानेले बेसीशहर बजारका अन्य सामुदायिक कुकुरहरुमा समेत रेबिज संक्रमण हुनसक्ने भएकाले बुधवार बेसीशहर अन्य सामुदायिक कुकुरहरुमा एण्टीरेबिज खोप लगाउने तयारी भएको जानकारी दिए । यस अघि सडकमा भेटिएका सामुदायिक कुकुरहरुलाई बन्ध्याकरण समेत गरिएको थियो ।
डा. न्यौपानेले घरपालुवा कुकुरहरुलाई केन्द्रले घरघरै गएरसमेत खोप लगाउने गरेको र कुकुर पालकहरुले समेत केन्द्रमै गएर रेविज विरुद्धको खोप लगाउने भएकाले आत्तिन नपर्ने बताए । कुनै कुकुरहरुलाई रेविज खोप नलगाएको भए तुरुन्त लगाउन समेत उनले सुझाव दिए ।
बहुला कुकुरले टोकेर घाइते हुनेमा बेंसीसहर नगरपालिका-७, पुरानो बैंक चोक बस्ने ८५ वर्षका दलबहादुर गुरुङ, १५ बर्षका सोविन गुरुङ, मस्र्याङ्दी गाउँपालिका ८ का ४५ वर्षीया टीका गुरुङ, बेसीशहरका ५७ वर्षीय बुद्धिकुमार श्रेष्ठ र बेंसीसहकै ५७ वर्षीय देवीप्रसाद गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । घाइते भएका मध्ये बुद्धिकुमार श्रेष्ठ बेंसीसहरस्थित लमजुङ अस्पतालमा उपचार र खोप लगाई घर फर्केका छन् । अन्य ४ जना घाइतेहरुलाई रेविजमा प्रभावकारी मानिने इम्युनु ग्लोवुलिन खोप लगाउन पोखरा गएका छन् ।
इमयानु ग्लोबुलिन खोप एण्टिबडीयुक्त खोप हो । यसले रेविज विरुद्ध प्रभावकारी रुपमा काम गर्ने चिकित्सकहरु बताउँछन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. सुनिल न्यौपानेले रेविज संक्रमित कुकुर बढी आक्रामक हुने र धेरै नै संक्रमित भएको कुकुरमा पक्षघात (प्यारालाइसिस)को अवस्था देखिनुका साथै र्याल काढ्ने हुन्छ । त्यस्तो कुकुरले टोकेको खण्डमा जतिसक्दो छिटो रेविज विरुद्धको खोप लगाइ हाल्नुपर्छ ।
रेविजबारे जान्नै पर्ने कुारहरु :-
- कुकुरले टोक्ने बित्तिकै सबैभन्दा पहिले टोकेको घाउमा साबुन-पानीले सफा गर्नुपर्छ।
- साबुन-पानीले सफा गरेपछि सकेसम्म छिटो अस्पताल जानुपर्छ।
- औंलाको टुप्पा, घाँटीभन्दा माथि, गहिरो खालको टोकाइ बढी जोखिमपूर्ण मानिन्छ ।
- जोखिमपूर्ण मानिएका यी भागमा कुकुरले टोक्दा छुट्टै रेबिज इम्युनोग्लोबिन खोपको आवश्यकता पर्छ ।
- कुकुरले टोकेको १० दिनपछि पनि टोक्ने कुकुर स्वस्थ छ भने खोपको आवश्यकता पर्दैन ।
- टोक्ने बित्तिकै कुकुर देखिएन, कुकुर कतै भाग्यो वा भेटिएन भने खोप लगाउनु पर्छ ।
- रेविजको शंका लागेको कुकुरले टोक्यो र छिटो खोप लगाउन सकिएन भने ढिलो भए पनि खोप लगाउनुपर्छ ।
- घरमै पाले पनि कुकुर बाहिरका जनावरसँग पनि सम्पर्कमा आएको छ भने जोखिम हुन्छ ।
- २४सै घण्टा घरको निगरानीमा कुकुर छ भने मात्र केही ढुक्क हुन सकिन्छ।
- रेबिज भएको कुकुरले टोक्दा कुनै व्यक्तिको शरीरमा लक्षण देखिन सामान्यतयाः एकदेखि तीन महिना लाग्न सक्छ ।
- औँलाको टुप्पो, घाँटीभन्दा माथि र एकभन्दा ठाउँमा बढी र गहिरो टोकाइ छ भने एक महिना भित्रैमा पनि लक्षण देखिन सक्छ । तर यी अंग र भाग बाहेक अन्यमा टोकाइ छ भने ६ देखि ९ महिनामा पनि लक्षण देखिन सक्छ ।
- रेविज संक्रमितहरु हावा र पानीबाट डराउने हुन्छन् ।
- केहीमा ढाडको तल्लो भाग असाध्यै दुखेको महसुस हुन्छ ।
- रेबिज लागेको अधिकांश बिरामी असाध्यै आक्रामक हुन्छन्, केही शान्त हुने स्वभाव पनि देखिन सक्छ ।
- पानी र हावासँग डराउने लक्षण देखिएपछि बिरामी अब धेरै दिन बाँच्दैन भनेर बुझ्नुपर्छ ।
- रेबिज लागेपछि शरीरका अंगहरुले काम गर्न छोड्छ ।
- रेबिजले सबैभन्दा पहिले मस्तिष्कको काम गर्ने क्षमतामै समस्या ल्याउँछ ।
- हावा-पानी देखेर डराउन थालेको ५/७ दिनमा व्यक्तिको मृत्यु नै हुन्छ।
- गाउँघरमा कुकुरले टोक्ने बित्तिकै औषधि पसलमा जाने चलन छ, त्यसो गर्न हुन्न, तुरुन्तै अस्पताल गएर खोप लगाउनुपर्छ ।
- रेबिजका कारण मृत्यु हुनेको संख्या अहिले पनि वर्षेनी बढ्दो छ।
- अहिले पनि कुकुरको टोकाइलाई धेरैले हेलचेक्र्यार्ई गरेको देखिन्छ, कुकुरले टोकेको घाउ सानो होस् वा ठूलो हेलचेक्रयाइँ गर्नु हुँदैन ।