रामचाेकबेसीका महिला सामूहिक लसुन प्याज खेतीमा, चितीमा बाँझो जग्गाको सदुपयोग बढ्दाे

खबरकुञ्ज

बेसीशहर, पुस ९ गते । लमजुङको बेसीशहर नगरपालिका वडा नंं ११ मा बाँझो जग्गाको सदुपयोग गर्दै ब्यवसायीक कृषि गर्नेहरु बढ्न थालेका छन् ।

केही समय अघि उक्त वडाको बजारखुट्टाका महिलाहरुले गाउँघरका बाँझो जग्गामा ब्यवसायीक रुपमा आलु खेती शुरु गरेकामा अहिले सोही वडाको रामचोक बेसीका महिलाहरले ब्यवसायीक रुपमा लसुन र प्याजको खेती शुरु गरेका छन् । 

किनेर लसुन प्याज खानु भन्दा आफै उत्पादन गरी बिक्री समेत गर्ने र आय आर्जन बढाउने उद्देश्यले बेसीशहर नगरपालिकाको वडा नंं ११ रामचोकबेसीमा रहेको समृद्ध आमा समूहमा आवद्ध महिलाहरुले सामूहिक रुपमा लसुन र प्याजको ब्यवसायीक खेती थालेका हुन् ।

चितीकै बजारखुट्टामा राधाकृष्ण आमा समूहमा अवद्ध महिलाहरुले वडा कार्यालयको सहयोगमा सामूहिक आलुखेती गरेको सुनेर हौसिएका त्यहाँका महिलाहरुले वडा कार्यालयसंग समन्वय गरी लसुन र प्याजको खेती गरेका हुन् । ब्यवसायीक कृषिलाई अभियानको रुपमा लैजाने वडा कार्यालयको नीति र वडा अध्यक्ष शिवप्रसाद जोशीको हौसलाले हौसिएका महिलाहरुले चिती रामचोकबेसीको उर्वरफाँटमा ब्यवसायीक खेती थालेका मात्र छैनन्, ब्यवसायीक खेतीलाई अरु विस्तार गर्ने सोच बनाएका छन् ।

धानबाली थन्क्याएपछि बाँझै रहेको रामचोकबेसीको ७ रोपनी क्षेत्रफल जग्गामा उनीहरुले लसुन प्याजको खेती शुरु गरेका हुन् । पहिलो चरणमा शनिबार ३० केजी लसुनको बीउ रोपिएको र आगामी शनिबार फुर्सद मिलाएर बाँकी जग्गामा प्याजका विरुवा रोप्ने तयारी गरिएको समूहका अध्यक्ष सरिता श्रेष्ठले जानकारी दिइन् ।

बजारखुट्टाको राधाकृष्ण आमा समूहले वडा कार्यालयको सहयोगमा सामूहिक आलुखेती गरेको थाह पाएपछि  समृद्धि आमा समूहका अध्यक्ष श्रेष्ठ सहितको टोलीले वडा कार्यालयमा आफूहरु पनि सामूहिक खेती गर्न चाहेको रसहयोग गर्न वडा अध्यक्षसंग अनुरोध गरेका थिए । महिलाहरुको हौसला देखेर वडा अध्यक्ष जोशीले बजेट  नहुँदा नहुँदा पनि चालु बर्षका लागि केही सहयोग गर्ने आश्वासन दिएपछि आमा समूहका महिलाहरु सामूहिक खेती गर्न तम्सिएका श्रेष्ठको भनाई छ ।


अध्यक्ष श्रेष्ठले भनिन्– “आमा समूहले कति गाउँमा नाचगान मात्र गर्ने कति गीत गाउने ? गाउँमा केही उदाहरणीय काम पनि गरौं, काममा सफल भए घरका पुरुषहरुलाई किन विदेश पठाउने ? फाल्तुमा खेर जाने समयको मात्रै सदुपयोग गर्न सके यही सुन फलाउन सकिन्छ । सबैले आलो पालो पालो गरेर खेती गर्ने, मजजल र गोडमेल गर्ने हो भने धेरै गर्न सकिन्छ । काम गर्दै काम सिक्न पनि हुन्छ । सिकाइ नै ठूलो कुरा हो । सफल भइयो भने भोलि थप ब्यवसायीक बन्न सकिन्छ भनेर सामूहिक खेती गरेका हौं ।” आलु खेती गर्ने सोच भए पनि आलुको सिजन सकिएकाले लसुन प्याजको खेती गरिएको उनले बताइन् ।

बेसीशहर वडा नं. ११ का वडा अध्यक्ष शिवप्रसाद जोशीले समृद्ध आमा समूहलाई सामुहिक लसुन तथा प्याज खेतीका लागि वडा कार्यालयले ५० हजार रुपैयाँ बजेट दिएको र आमा समूहले ५० हजार थप गरी सामूहिक खेती शुरु गरेको जानकारी दिए । महिलाहरुलाई हौस्याउन खेतमै पुगेका उनले महिलाहरुले दिएको मकैको खाजा पनि मीठो मानेर खाए र भने– “कृषिलाई ब्यवसायीक बनाएर उत्पादन बृद्धि गर्न सके मात्र देशमा समृद्धि आउने हो, शुरुवात वडाबाट गर्नुपर्छ भनेर सहयोग गरिएको हो । आगमी बर्ष थप बजेटको ब्यवस्था मिलाएर धेरै भन्दा धेरै समूहलाई कृषि उत्पादनमा लगाउने सोच छ । बाँझो जग्गाको सदुपयोग गरी स्थानीयको आय आर्जनमा टेवा पुग्ने थप कार्यक्रम हामी सञ्चालन गर्छौं ।”


बेसीशहर नगरपालिका वडा नंं ११ को चाफाबोट बजरखुट्टामा रहेको राधाकृष्ण आमा समूह मार्फत वडा कार्यालयले हालै आलुखेती कार्यक्रम सञ्चालन गरेको छ । यस कार्यक्रम अन्तर्गत त्यहाँँका १६ जना महिलाहरु सामूहिक आलुखेतीमा लागेका छन् । गाउँमा बाँझो रहेको २० रोपनी जग्गा भाडामा लिएर महिलाहरुले सामूहिक आलु खेती गरे पछि त्यसकै सिको गर्दै रामचोक बेसीकोप समृद्ध आमा समूहका महिलाहरु पनि सामूहिक खेतीमा आकर्षित भएका हुन् । यो समूहमा ४२ जना महिला आवद्ध छन् ।

रामचोकबेसीका महिलाहरुलाई पनि बेसीशहर नगरपालिका कृषि शाखाका कृषि प्राविधिकहरु खेतबारीमै पुगेर किसानहरुलाई उन्नत तरिकाले खेती गर्न सिकाएका छन् ।

नेपाली भान्सामा लसुन र प्याजको निकै प्रयोग हुन्छ । लसुन प्याज बिनाको तरकारीको हामी कल्पना नै गर्दैनौं । नेपालीहरुको भान्सामा लसुन प्याजको असाध्यै प्रयोग हुन्छ । लसुन र प्याज औषधीय गुणले भरिपूर्ण भएकाले पनि परम्परादेखि नेपालीहरुको भान्सामा यिनको प्रयोग हुने गरेको छ । यिनै प्याज लसुनको बजारमा मूल्य पनि बढी छ । तर नेपालमा लसुन र प्याज विदेशबाट आयत गर्नुपर्छ । लसुन र प्याजको ब्यवसायीक उत्पादन नभइरहेको परिवेशमा लमजुङको चितीका महिलाहरुले यसको ब्यवसायीक खेतीको शुरुवात गरेकामा उनीहरूकाे प्रशंसा पनि हुन थालेकाे छ ।


प्रतिक्रिया