बेसीशहर, फागुन ५ गते । एक थुकी सुकी, सय थुकी नदी भन्ने उखान लमजुङको सुर्यपाल नेवार हटियाका बासीन्दाले चरितार्थ गरेका छन् । लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. ३ सुर्यपालको हटियागाउँमा स्थानीयको पहलमा ढुंगेधारो, पोखरीसहितको आकर्षक पार्क र चाैताराे पुनर्निर्माण भएपछि उक्त उखानको चरितार्थ भएको हो ।
त्यहाँका स्थानीयबासीले स्वतस्फूर्त रुपमा चन्दा संकलन गरी परम्परादेखि रहेको चौतारो, पोखरी र पँधेरोलाई पुननिर्माण गरी आकर्षक स्थलको रुपमा विकास गरेका हुन् । गाउँलेहरुको सक्रियतामा अहिले त्यहाँ आकर्षक ढुंगेधारा, पोखरी र पार्कसमेत बनेपछि हटिया गाउँको मुहारै बदलिएको छ । यी संरचना बनेपछि अहिले त्यहाँ हेर्न जानेहरुको समेत भीड लाग्ने गरेको छ ।
सुर्यपाल एकता समाज काठमाडौंको संयोजन र स्थानीय नागभैरब बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष क्या. सन्तलाल श्रेष्ठको सक्रियतामामा यो कार्य सम्भव भएको हो ।
सुर्यपालको हटिया गाउँमा केही बर्ष अघिसम्म बाक्लो नेवार वस्ती थियो । समयक्रमसंगै गाउँ विरानो बन्दै गयो । कुनैबेला गुल्जार रहेको गाउँमा बसाइँ सराई, युवाहरु रोजगारीका क्रममा बाहिरिने प्रचलन बढेसंगै सुनसान हुन थालेपछि सो गाउँमा जन्मेर हाल रोजगारीका सिलसिलामा विभिन्न स्थानमा पुगेका स्थानीयले चन्दा संकलन गरी यति राम्रो संरचनाको निर्माण गरेका स्थानीय शिक्षक रामकुमार श्रेष्ठ “फूच्चे”ले जानकारी दिए ।

श्रेष्ठका अनुसार अहिले पार्क बनाइएको स्थानमा धेरै बर्ष पहिले नेवार समुदायको भीमसेन मन्दिर थियो । समयक्रमसंगै मन्दिर जीणर् हुँदै गयो । मन्दिरमा बरपीपल उम्रिएर पछि विशाल रुप लिन थाले । परम्परा अनुसार बर पीपल भएको ठाउँमा बलि दिन नहुने भएपछि मन्दिर अन्यत्र सारियो । र मन्दिरको ठाउँमा चौतारो बन्यो । चौताराकै छेउमा पानीको पँधेरो थियो । पँधेरोमा गाउँलेहरु पानी थाप्ने, नुहाउने, लुगाधुने गर्दथे । पँधेरो मुनी गाई भैसीले पानी खाने र आहाल बस्ने गरी एउटा पोखरी थियो । विस्तारै पँधेरोसमेत जीणर् भइ पोखरी समेत पुरियो । चौतारोसमेत जीणर् भएपछि स्थानीयहरुले सरसल्लाह गरी ती संरचनाको पुननिर्माण गरेका हुन् ।
श्रेष्ठले भने- “पछिल्लो समय हटिया गाउँमा खानेपानीको समेत अभाव थियो । गाउँलेहरुको सल्लाहमा पुरानो पँधेरो भएको ठाउँमा आकर्षक ढुंगेधारा बनाइएको हो । ढुंगेधारासंगै जोडेर स्वीमिङ पुलको झल्को दिने गरी आकर्षक पोखरी बनाइएको छ । यस कार्यमा देश विदेशमा छरिएर रहेका सुर्यपालबासीको योगदान छ ।”
यो पुण्य काम पुरा गर्नका लागि सुर्यपालबासीको करीब १२ लाख रुपैयाँ खर्च भएको श्रेष्ठले जानकारी दिए । यस पुण्य कार्यमा स्थानीयको मात्र लगानी छ । संघ, प्रदेश वा स्थानीय सरकारको लगानी छैन । सरकारी रकम पाउनै गाह्रो, पाए पनि असाध्यै झञ्जटिलो र धेरै प्रक्रिया पुरा गर्नुपर्ने भएकाले गाउँलेहरुले स्वतस्फूर्त रुपमा चन्दा संकलन गरी काम गरेका उनले बताए ।

यसका लागि सुर्यपाल लमजुङ एकता समाज काठमाडौंले अभिभावकीय भूमिका र स्थानीय क्या. सन्तलाल श्रेष्ठको नेतृत्वमा यो सम्भव भएको उनले बताए ।
श्रेष्ठले भने - शुरुमा अहिले जस्तो धेरै संरचना बनाउने योजना थिएन । तर काम गर्दै जाँदा धारासंगै पोखरी र चौतारोलाई समेटेर पार्कको रुप दिने सल्लाह भयो । योजनालाई पूणर्ता दिन फेरि सबैसंग सहयोगको आह्वान गरियो, स्थानीयबासी, क्लव, आमा समूह, शिक्षक, बुद्धिजिवी एवं सहयोगी अन्य संघसंस्थाकोे सहयोग प्राप्त भयो र योजना सम्पन्न भयो ।”

श्रेष्ठले भने- “अहिले त्यहाँको चौतारामा गणेशको मूर्ति स्थापना गरिएको छ । चौतारो पुननिर्माण भएको छ । चौतारोको पेटी तथा जगैदेखि सिमेण्ट प्लाष्टर गरिएको छ । चौतारामा चारैतर्फ रेलिङ राखेर आकर्षक बनाइएको छ । कहाँको पहिलेको सामान्य पँधेरो, कहाँको अहिलेको कलात्मक ढुंगेधारो । कहाँ हिजोको हिलाम्य पोखरी ? कहाँ आजको स्वीमिङ पुल जस्तो पोखरी । पोखरीमा पानीका लागि छुट्टै श्रोतको ब्यवस्था गरिएको छ । पँधेराको पानीको निकास अन्यत्रै ब्यवस्था मिलाइएको छ । अहिले त्यहाँ निकै परिवर्तन भएको छ र यो कामले हटिया गाउँको सुन्दरता अरु बढाइदिएको छ ।”
यस पुण्य कार्यका लागि ५ हजार भन्दा बढी दान गर्नेहरुको नाम कुँदेर शिलालेखमा राखिएको श्रेष्ठले जानकारी दिए ।
यो सुन्दर पार्कको शनिबार मध्यनेपालका मेयर रमेश कुमार पाण्डेले उद्घाटन गरेका छन् ।
तस्वीरहरू साैजन्यः MNL