बेसीशहर, माघ २० । लमजुङको मध्यनेपाल नगरपालिका ७ करापुटारमा रहेको ईशानेश्वर महादेव मन्दिर परिसरमा आउँदो महाशिवरात्रीका अबसरमा भजन प्रतियोगिता हुने भएको छ ।
नेपालको दोस्रो पशुपतिनाथ र गण्डकी प्रदेशकै प्रमुख धार्मिक स्थलको रुपमा रहेको ईशानेश्वर मन्दिरमा महाशिवरात्रीका अवसरमा समूह समूहमा भजन चुडका गाइने भए पनि पहिलो पटक प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको चाँजोपाँजो ईशानेश्वर बालुन समूहले मिलाएको हो । परम्परागत भजन कीर्तन र बालकको संस्कृति संरक्षणका लागि क्रियाशील ईशानेश्वर बालुन समूहले प्रतियोगिताका लागि आकर्षक पुरस्कार समेत घोषणा गरेको छ ।
यही फागुन १४ र १५ गते आयोजना हुने प्रतियोगितामा पहिलो स्थान पाउने समूहले ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । त्यस्तै दोस्रो स्थान प्राप्त गर्ने समूहले नगद ३० हजार, तृतीय स्थान प्राप्त गर्ने समूहले नगद २० हजार र सान्त्वना स्थान पाउने समूहले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने प्रतियोगिताका संयोजक हरिकृष्ण घिमिरेले जानकारी दिए ।
प्रतियोगिताका लागि १ हजार ५ सय रुपैयाँको प्रवेश शुल्क तोकिएको छ । प्रतियोगितामा भाग लिनका लागि समूहमा कम्तीमा १० जना सहभागी हुनुपर्ने नियम छ । प्रतियोगितामा धर्म संस्कृति सम्बन्धी भजनलाई मात्र समावेश गरिने र प्रतियोगितामा भाग लिनका लागि फागुन १३ गतेभित्र दर्ता भइ सक्नु पर्ने आयोजक समितिले जनाएको छ ।