बेसीशहर, पुस १९ । बेसीशहर नगरपालिकाले ज्येष्ठ नागरिकहरूकाे राम्राे सेवा र हेरचाह गर्नेहरूलाइ सम्मान गरेकाे छ । बुधबार आयोजना गरिएको नगरसभाको १४ औं अधिवेशनमा नगरपालिका भित्र रहेका ५० जना जेष्ठ नागरिक हेरचाहकर्तालाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुलाई नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख पद्मा गुरुङ र प्रमुख प्रशासकिय अधिकृत चेतनाथ अर्यालले प्रशंसा-पत्र, जनही नगद ५ र टिका लगाएर संयुक्त रुपमा सम्मान गरेका हुन्।
आर्थिक वर्ष २०८०/०८१ को जेष्ठ नागरिक लक्षित कार्यक्रम अन्तरगत नगरपालिका भित्रका रहेका जेष्ठ नागरिक हेरचाहकर्तालाई सम्मान गरिएको नगप्रमुख गुमानसिंह अर्यालयको भनाई छ । ८० वर्ष कटेका र दिर्घरोगी जेष्ठ नागरिकहरुको हेरचाहकर्तालाई थप हौसला मिलोस भन्ने उदेश्यले उद्धेश्यले हेरचाहकर्तालाई सम्मान र नगद प्रदान गरिएको हाे ।
पछिल्लो समय ज्येष्ठ नागरिकहरु अपहेलित र बेसाहारा बन्दै गएको अवस्थामा जेष्ठ नागरिकको हेरचाहकर्तालाई यस कार्यक्रमले थप हौसला प्रदान गर्ने अपेक्षा रहेको नगरप्रमुख अर्यालले बताए ।
सम्मानित हुनेहरु मध्ये बेसीशहर नगरपालिका वडा नम्बर १ को सिता वस्ती, वडा नंं ८ का सुवास श्रेष्ठलगायत छन् । वस्तीले आफ्ना १ सय ४ वर्षका ससुरा र श्रेष्ठले आफ्ना पिताकाे राम्राे हेरचाह गर्दै आएका छन् । उनीहरूले जेष्ठ नागरिकका विषयमा नगरपालिकाले गरेको कार्य सराह्निय रहेको बताउदै जेष्ठ नागरिक हेरचाहकर्ताको रुपमा आफु सम्मानित भएकोमा खुशी व्यक्त गरेका छन् ।
नगरपालिकाले साे अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पनि सम्मान गरेको छ । सम्मानित हुनेहरुमा कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेल, इञ्जिनियर पासाङ जिरेल, सामाजिक परिचालक रामकुमारी घिमिरे र कार्यालय सहयोगी राजेश बराल छन् । 
उनीहरूलाई नगर प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख पद्मा गुरुङ र प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले प्रसंसा-पत्र सहित जनही नगद ६/६ हजार रुपैयाँ पुरस्कार प्रदान गरेका थिए ।