मर्स्याङदी गाउँपालिकामा अकबरे खुर्सानीको ब्यवसायीक खेती शुरु

मिलन शर्मा दनाई

बेसीशहर, जेठ १२ । मर्स्याङदी गाउँपालिकामा अकबरे खुर्सानीको ब्यवसायीक खेती शुरु गरिएको छ ।

गाउँपालिकाले किसानमुखी योजना, बजेट, नीति तथा कार्यक्रम बनाउँदै किसानहरुको आर्थिक अवस्थामा सुधार ल्याउन अभियानको रुपमा अकबरे खुर्सानीको खेती शुरु गराएको हो ।

गाउँपालिकाको  अनुदान सहयोग र कृषि शाखाको प्राविधिक सहयोगमा त्यहाँका किसानहरुले  व्यवसायिक अकबरे खुर्सानीको ब्यवसायीक खेती शुरु गरेका छन् । कृषिको क्षेत्रमा अधिक सम्भावना बोकेको मर्स्याङदी गाउँपालिका ब्यवसायीक कृषिको हबको रुपमा विकास गर्न गाउँपालिका लागिपरेको छ ।


मर्स्याङदी गाउँपालिकामा ब्यवसायीक कृषिको अपार सम्भावना रहेको छ । नगदे बालीको रुपमा देशभित्र र बाहिर पनि अत्याधिक माग रहेको अकबरे खुर्सानीको ब्यवसायीक खेतीबाट किसानहरुको जीवनस्तर उकास्ने उद्देश्यले पालिकाका विभिन्न वडामा कार्यक्रम सञ्चालन गरिएको र यो अभियान पालिकाको आर्थिक समृद्धिको एउटा खुड्किलो हुनेमा आाफू बिस्वस्त  रहेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।

अध्यक्ष गुरुङले पालिकाका सबै वडामा गरी ३ सय रोपनी क्षेत्रफलमा अकबरेको ब्यवसायीक खेती शुरु गरिएको र यसका लागि गाउँपालिकाले २० लाख रुपैयाँ बिनियोजन जानकारी दिए । २० मध्ये १० लाख अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले आयोजनाको क्षेत्रमा पर्ने वडा नंं १,२,३, ४ र ९ का लागि गाउँपालिका मार्फत उपलब्ध गराएको थियो ।


अकबरेको खेतीका लागि गाउँपालिकाले विरुवामा ८० प्रतिशत र मल्चिङ प्लाष्टिकका लागि ५० प्रतिशत अनुदान तथा किसानहरुलाई आवश्यक तालिम समेत दिएको छ । 

गाउँपालिकाको कृषि विकास शाखाका कृषि अधिकृत अर्जुन घलेले अकबरे खुसार्नी खेतीका लागि पालिकाले बजेट विनियोजन गरेपछि किसान हौसिएका बताए । पालिकाका किसानहरु ब्यक्तिगत र समूहमा मिलेर अकबरे खेती शुरु गरेको जानकारी दिँदै घलेले वडा नं. ७ का किसान गोपाल गुरुङ एक्लैले १० रोपनीमा अकबरे खुर्सानीको खेती गरेका जानकारी दिए ।

किसानहरुले उत्पादन गरको अकबरेको बजारीकरणका लागि पालिकाले सहयोग पनि गर्ने भएको छ । किसानको उत्पादन स्थानीय बजरमा बिक्री हुने अपेक्षा गरिएको छ । कृषि उत्पादन संकलनका लागि कृषि एम्बुलेन्सको व्यवस्था पनि गर्ने र जिल्लाभित्र खपत नभए विभिन्न कम्पनीसँगको  सहकार्यमा जिल्ला बाहिर बजारिकरणको व्यवस्था गर्ने गाउँपालिकाको योजना छ ।


मर्स्याङदी गाउँपालिकाले गाउँपालिकामा फलफूल खेतीको समेत राम्रो सम्भावना भएकाले यसलाई पनि अभियानकै रुपमा अघि बढाउने बताएको छ । एभोकाडो, टिमुर, सुन्तला, दाँते ओखर, किवी लगायतका फलफूलको ब्यवसायीक खेती गर्ने ईच्छुक किसानहरुलाई लक्षित गरी पालिकाले सूचना प्रकाशन गरिसकेको र किसानहरुको निवेदन प्राप्त भएपछि आगामी आर्थिक बर्षका लागि बजेटको ब्यवस्था गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतिक्रिया