बेसीशहर, माघ १७ गते । प्रहरीकाे फरार सूचीमा रहेकी बेसीशहरकाे कालिका सहकारीका काेषाध्यक्ष बिनिता अधिकारी घिमिरे जिल्ला अदालत लमजुङले ताेकेकाे धराैटी राखेर रिहा भए लगत्तै पुनः पक्राउ परेकी छन् ।
उनलाइ प्रहरीले सम्पत्ती सुद्धिकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६४ काे परिच्छेद ३ अनुसारकाे कसुर गरेकाे अभियाेगमा पुनः पक्राउ गरेकाे हाे । उनीसहित उनका श्रीमान मृगेन्द्र घिमिरेले सहकारीलाइ माध्यम बनाइ संकास्पद सम्पती आर्जन गरेकाे अभियाेग समेत लागेकाे छ । पुनः पक्राउ परेकी घिमिरेलाइ बुधवार जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखी बिहीबार सम्पती सुद्धिकरण अनुसन्धान विभागमा लगेर बुझाइने प्रहरीले जनाएकाे छ ।
कालिका सहकारीकाे काेषाध्यक्ष रहेकी उनी बुधवार जिल्ला अदालतमा उपस्थित भएकीमा अदालतले उनीसंग १२ लाख ५० हजार रूपैयाँ धराैटी माग गरेकाे थियाे । उक्त धराैटी रकम बुझाएर अदालत परिसरबाट निस्कनासाथ प्रहरीले उनलाइ पुनः सम्पत्ती सुद्धिकरण मुद्दामा पक्राउ गरेकाे हाे ।
मंगलबार जिल्ला अदालतमा उनकाे बयानपछि थुनछेककाे बहस भएकाे थियाे। वादी नेपाल सरकार रहेकाे साे मुद्दाकाे पक्षमा जिल्ला न्यायाधीवक्ता पूर्णबहादुर थापा मगर र प्रतिवादी बिनिता अधिकारी घिमिरेकाे तर्फबाटअधिवक्ता विजयप्रकास अधिकारीले बहस पैरवी गरेका थिए ।
सहकारी ऐन अन्तरगतकाे कसुर र ठगीसम्बन्धी कसुरमा उनलाइ प्रहरीले मंसिर १० गतेदेखि खाेजीरहे उनी फरार थिइन् । उनीसंगै फरार रहेका उनका श्रीमान् मृगेन्द्र घिमिरे गत पुस २२ गते काठमाडाैंबाट पक्राउ परेका थिए । उनलाइ पुस २३ गते अदालतमा उपस्थित गराइएकाे थियाे । साे दिन बयान नसकिएपछि २४ पुसमा पुनः अदालत लगिएकाेमा जिल्ला अदालतले ३० लाख रूपैयाँ धराैटी लिइ छाेडेकाे थियाे । साे दिन उनी धराैटीमा छुट्नासाथ अदालतकाे गेटबाटै सम्पत्ती सुद्धिकरण मुद्दामा पुनः पक्राउ परेका थिए । पुस २५ गते त्यहाँ समेत १५ लाख धराैटी बुझाइ उनी छुटेका थिए ।
कालिका सहकारीसम्बन्धी मुद्दामा अहिलेम्सम ३० जनाकाे बयान सकिएकाे छ । अझै ४ जना अदालतमा उपस्थित भएका छैनन् । साे मुद्दामा संस्थाका अध्यक्षसहित ३४ जना बिरूद्ध जिल्ला अदालत लमजुङमा मुद्दा चलेकाेमा अदालतले उनीहरूलाइ २ लाख ५० हजारदेखि ३० लाख रूपैयाँसम्म धराैटी लिएर छाेडेकाे छ।