बेसीशहर, बैशाख ९ गते । वरीष्ठ समालाेचक, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य, कवि, साहित्यकार, छन्द गुरु प्रा.डा. देवी नेपाल लमजुङमा सम्मानित भएका छन् ।
नेपाली भाषा र साहित्यकाे क्षेत्रमा पुर्याएकाे अतुलनीय याेगदानकाे उच्च कदर गर्दै पिङ्गल छन्द प्रतिष्ठान लमजुङले प्रा. डा. नेपाललाई दाेसल्ला ओढाइ सम्मान पत्रका साथ सम्मान गरेकाे हाे । प्रतिष्ठानका अध्यक्ष श्रीकृष्ण न्याैपानेका तीनवटा कृतिहरू– बिषालु धरती (महाकाब्य), तिम्राे गमला मसित बाेल्दैन (खण्डकाब्य) र सय छन्द (कविता संग्रह)काे बिमाेचनका क्रममा प्रा.डा नेपाल शुक्रबार लमजुङ आएका थिए ।
प्रतिष्ठानका अध्यक्ष श्रीकृष्ण न्याैपाने र प्रमुख अतिथि लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरूङले उनलाइ दाेसल्ला ओढाएर सम्मान पत्रले सम्मानित गरेका थिए ।
झापा जिल्लाकाे हल्दीबारी गाउँपालिका वडा न -१ गोल्धाप निवासी पिता कुवेरनाथ नेपाल र माता मनमाया नेपालका सुपुत्र नेपाल नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य हुन् । उनी बरिष्ठ समालोचक, श्रेष्ठ कवि, छन्द गुरुकाे रूपमा चिनिन्छन् । "नेपाली भाषा र साहित्यको क्षेत्रमा उहाँले पुर्याउनु भएकाे अतुलनीय योगदानको उच्च कदर गर्दै उहाँलाइ सम्मान गरिएकाे हाे"– प्रतिष्ठानका अध्यक्ष न्याैपानेले भने ।
प्रतिष्ठानकाे उपाध्यक्षमा यमबहादुर रिमाल ( बेसीशहर ६), सचिवमा विष्णु बराल ( बे. न. पा.-२ भकुण्डे), कोषाध्यक्षमा अर्चना अधिकारी( राइनास-१० बोराङ), सह सचिवमा विजय अधिकारी(वैरागी) (बेसीशहर ८) र सदस्यहरूमा विष्णुप्रसाद घिमिरे( बेसीशहर ३) र रामचन्द्र सेढाईँ( बेसीशहर-११) रहेका छन् ।