मर्स्याङदी बेसी जलविद्युत आयोजनाका उपकरणहरुको चापी संङ्घर्ष समितिद्वारा जफत

खबरकुञ्ज

बेसीशहर, मंसिर ११ । मर्स्याङदी बेसी जलविद्युत आयोजना स्थानीयको हित विपरित भएको भन्दै बन्द गर्न आन्दोलनरत मस्र्याङदी बचाउ संघर्ष समितिले बिहीबार आयोजनाको निर्माणस्थलमा पुगी आयोजना निर्माण कार्य बन्द गर्न पुनः चेतावनी दिएको छ ।

यस अघि नै आयोजना बन्द गर्न माग गर्दै पत्र बुझाएको संघर्ष समितिलाई आयोजनाले काम बन्द गरिएको जानकारी गराए पनि काम सुचारु भइरहेको खबर पाएपछि संघर्ष समितिका पदाधिकारी सहित आयोजनाको प्रभावित क्षेत्रका स्थानीय आयोजनाको निर्माणस्थल पुगेका थिए । बेसीशहरको वडा नं. १० मा पर्ने आयोजनाको चुहान (बिद्युत गृह क्षेत्र)मा आयोजनाले काम सुचारु  गरिरहेको सूचनाका आधारमा त्यहाँ पुगेका संघर्ष समितिका पदाधिकारी एवं स्थानीयले काममा प्रयोग भएका उपकरणहरुको चापी जफत गरेका छन् ।


आयोजनाको विद्युत गृह निर्माण क्षेत्रमा प्रयोग भइरहेका जेसिबी, मिक्स्चर, केस मेसिन, मिक्स्चर, ड्रिल मेसिन र जेनेरेटरको चापी संघर्ष समितिले जफत गरेको हो । संघर्ष समितिले ती सामान जफत गर्दै आयोजनाको काम तत्काल बन्द गर्न र आयोजनास्थलबाट निर्माण सामग्री र उपकरण तत्काल हटाउन चेतावनी पनि दिएको छ । 

जफत गरिएका सामग्री संघर्ष समितिले बेसीशहर नगरपालिकामा बुझाउन ल्याएको थियो । यसअघि आयोजनाको काम रोक्न बेसीशहर नगरपालिकाले आयोजनालाई पत्राचार गरेको थियो । तर नगरपालिकाको पत्र, स्थानीयको बिरोध र संघर्ष समितिको चेतावनीलाई वेवास्ता गर्दै आयोजनाको काम सुचारु गरेको आयोजनाले बिहीबारको घटना पछि काम रोक्ने प्रतिबद्धता जनाएको छ ।

बेसीशहर नगरपालिकाको कार्यालयमा चापी बुझाउन आएका संघर्ष समितिका पदाधिकारी र सदस्य तथा प्रभावित क्षेत्रका बासीन्दाहरुसंगको छलफलका क्रममा बेसीशहर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सुमन अधिकारीले आयोजनाका ब्यवस्थापक उमेश नेपाल लगायतलाई मोबाइल सम्पर्क गरी संघर्ष समितिका माग र स्थानीयका सरोकार तथा आन्दोलनका बिषयमा जानकारी गराउँदै काम रोक्ने बिषयमा जानकारी माग गरेका थिए । अधिकारीसंगको कुराकानीमा ब्यवस्थापक नेपालले काम रोक्न तयार रहेको प्रतिबद्धता जनाए ।

आयोजनाबाट संघर्ष समितिले जफल गरेका आयोजनाका निर्माण उपकरणको चापी लिने सन्दर्भमा भने आफूहरु एकदुई दिनपछि चापी बुझ्न आउने र त्यतिञ्जेल संघर्ष समितिमै चापी राख्न अनुरोध गरेपछि आयोजनाबाट जफत गरिएका चापी संघर्ष समितिकै जिम्मामा रहने  गरी छलफल टुंगिएको छ ।

छलफलका क्रममा संघर्ष समितिका पदाधिकारीले नगर प्रमुख गुमानसिंह अर्याललाई सम्पर्क गरेर नगरपालिका कार्यालयमा आउन अनुरोध गरे पनि नगरप्रमुख अर्याल भने कार्यालय आएनन् । दिउसो २ बजेदेखि नगरपालिकामा जम्मा भएका संघर्ष समितिका पदाधिकारी र प्रभावित स्थानीय राती ८ बजेसम्म नगरपालिकाको कार्यालयमा उनलाई कुरि रहेका थिए । 


नगर प्रमुख नगरपालिका नगइ प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीलाई कार्यालय पठाई संघर्ष  समितिसंग छलफल गर्न खटाएका थिए । संघर्ष समितिले चापी नगरपालिकालाई बुझाउन खोज्दा अधिकृत अधिकारीले पनि चापी बुझ्न मानेनन् । उनले प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेसंग समन्वय गरी प्रहरी र आयोजनाको प्रबद्र्धक दिब्यज्योति हाइड्रोपावरका सञ्चालकसंग चापी बुझ्न आग्रह गर्दा दुवै पक्षले चापी बुझ्न नमान पछि जफत गरिएका चापी संघर्ष समितिले नै राखेको छ । 

संघर्ष समितिका संयोजक रामबहादुर थापाले आयोजना स्थानीय र सिंगो बेसीशहरको हितमा नरहेकाले आफूहरुले आयोजना बन्न नहुने एक सुत्रीय माग राख्दै शान्तिपूर्ण रुपमा आन्दोलन गरिहेको र प्रभावित स्थानीय र उनीहरुको आन्दोलनलाई कमजोर आँकिए भोलिका दिन कडा आन्दोलन हुने र कसैले रोकेर नरोकिने चेतावनी दिए ।

संघर्ष  समितिका सहसंयोजक जनकराज बस्नेतले संघर्ष समिति र प्रभावित स्थानीयको सदासयतालाई कमजोरीको रुपमा नलिन चेतावनी दिँदै आवश्यक परे जस्तो सुकै मूल्य चुकाउन पनि संघर्ष समिति तयार रहेको बताए ।

संघर्ष समितिका सचिव सुरेश कुमार प्रधानले भने– “हाम्रो आन्दोलन कुनै प्रकारको अनुचित लेनदेनका लागि होइन, संघर्ष समितिको एकसूत्रीय माग आयोजना बन्द गराउनु हो, बन्द गराएरै छोड्छौं । यो आयोजना सिंगो बेसीशहरको हितमा छैन, यसले दीर्घकालीन रुपमा बेसीशहर र सिंगो लमजुङलाई नकरात्मक प्रभाव मात्रै पार्छ । आयोजनाले स्थानीय बासीन्दा तथा पर्यावरणलाई हानी पु¥याउँछ र सिमित ब्यक्तिहरुको मात्र पक्षपोषण गर्छ, त्यसैले यो आयोजना बन्न हुँदैन ।”

संघर्ष समितिले आयोजना बन्द नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । संघर्ष समितिका पदाधिकारी, सदस्य र प्रभावित स्थानीयले मस्र्याङदीलाई सुरुङमा पठाइ नदी सुकाउने र प्राकृतिक प्रकोप निम्त्याउन आफूहरु तयार नभएकाले जस्तोसुकै परिस्थितिमा पनि मस्र्याङदी जोगाउने प्रतिबद्धता जनाएका छन् ।

यस अघि संघर्ष समितिले बेसीशहर नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने, आयोजनाको विरुद्ध हस्ताक्षर अभियान सञ्चालन गर्ने, बिरोध जुलुस निकाल्ने लगायतका आन्दोलनका कार्यक्रम गर्दैै आएका छन् ।

प्रतिक्रिया