भक्ति नमूना माविमा सबै शिक्षककाे लग बुक राख्न शुरू

भोटेओडार । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ९ भोटेओडारमा रहेको भक्ति नमूना माविले प्रत्येक कक्षाकोठामा शिक्षक आउने जाने समय उल्लेख गरी लगबुकको उपयोग गर्न शुरु गरेको छ ।

विद्यालयले शुक्रबार विद्यालयमा अभिभावकहरुको भेला बोलाएर शैक्षिक अन्तरक्रिया गर्ने क्रममा यस्तो जानकारी गराएको हो । प्रभावकारी शिक्षण र गुणस्तरीय शिक्षाका लागि शिक्षक र अभिभावकको हातेमालो जरुरी रहको महशुस गरी शैक्षिक अन्तरक्रिया गरिएको विद्यालयले जानकारी दिएको छ । 

विद्यालयमा शुक्रबार आयोजना गरिएको अन्तरक्रियामा प्रारम्भिक बाल कक्षादेखि कक्षा १० सम्मका विद्यार्थीहरुका अभिभावकहरको उपस्थिति थियो । सो अवसरमा गत जेठ १५–१८ मा गरिएको नमूना विद्यालय अध्ययन अवलोकन भ्रमणमा अनुभूत गरिएका असल अभ्यास र सिकाइहरुलाई विद्यालयमा क्रमशः लागू गर्दै जाने प्रतिबद्धता जनाईएको छ ।


भेलामा विद्यालयले यो बर्षे बिदामा समेत असार २१ देखि साउन १९ सम्म विद्यालय सञ्चालन हुने जानकारी अभिभावकलाई गराएको छ । गत जेठ १५ देखि १८ गतेसम्मको शैक्षिक भ्रमणको सट्टामा असार १०, ११ र १२ गते कक्षा सञ्चालन हुने जानकारी सो अवसरमा गराइएको थियो ।

शिक्षक अभिभावक संघका अध्यक्ष डम्बरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मानकृष्ण आचार्यको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यज्ञराज घिमिरेले सहजीकरण गरेका थिए ।

विद्यालय र अभिभावकबीचको सम्पर्क बढाउन हेलो प्यारेण्ट्स कार्यक्रम अन्तरगत अभिभावक भेलाको आयोजना गरिएको र यस्ता कार्यक्रम समय समयमा आयोजना गरिने विद्यालयका सहायक प्रधानाध्यापक ओम भुजेलले जानकारी दिए ।

विद्यालयले गत बैशाख ३० र ३१ गते शैक्षिक सामग्री निमाृण कार्यशाला र जेठ १२ गते प्राथमिक तहस्तरीय शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न गरेकोमा सुन्दरबजार नगरक्षेत्रका दुई दर्जन विद्यालयले भाग लिएका थिए । विद्यार्थीको सुविधाका लागि विद्यालयमा यसे शेक्षिक सत्रबाट स्कूल बसको समेत ब्यवस्था मिलाइएको छ ।

सुस्त श्रवण र श्रवण शक्ति नै नभएका विद्यार्थीहरुका लागि विशेष कक्षासमेत सञ्चालन भइरको भक्ति नमूना माविमा कक्षा ११ मा विज्ञान, शिक्षा र ब्यवस्थापन विषयको पढाई र  डिप्लोमा ईन सिभिल इन्जिनियरिङको समेत पठन पाठन भइरहेको छ ।


प्रतिक्रिया