गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री पौडेललाई पित्रृशोक

खबरकुञ्ज

बेसीशहर, माघ २२ गते । गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेललाइ पितृशोक परेको छ । उनका पिता समाजेवी तिलकबहादुर पौडेलेको ९७ बर्षकाे उमेरमा आज निधन भएको हो ।

बेसीशहर नगरपालिका वडा नं. ७ निवासी स्वर्गिय पौडेल केही बर्षयता श्वास प्रश्वास र खुट्टाको समस्याले पीडित थिए । पाँच बर्षअघि लडेर उनको खुट्टामा चोट लागेपछि उनी हिँडडुल गर्न नसक्ने भएका थिए । बेसीशहरकाे वडा नंं ७ स्थित निवासमा आराम गरिरहेका पौडेल आइतबार एक्कासी बिरामी परेपछि लमजुङ अस्पतालको आईसीयूमा राखि उपचार गराइएकाे थियाे । उनकाे स्वास्थ्य अवस्थामा सुधार नभएपछि पौडेललाई घर ल्याइएकोमा मंगलबार दिउँसो करिब ३ बजे निधन भएको हो  


स्व. पौडेलको आजै बेसीशहरस्थित मर्स्याङदी नदी किनारमा अन्तिम संस्कार  गरिएको छ । उनको शबयात्रामा उनका बन्धु वान्धवसहित नेपाली कांग्रेसका नेता कार्यकर्ता, बेसीशहरका उद्योगी ब्यवसायी, सर्वसाधारण गरि सयौंको सहभागिता थियो । उनको पार्थिव शरिरमा छोराहरु भेषबहादुर पौडेल र डा. राजेश पौडेलले दागवत्ती दिएका छन् । स्व. पौडेलको पार्थिब शरीरमा नेपाली कांग्रेस लमजुङका सभापति डा टकराज गुरुङ लगायतका नेताहरुले पार्टीको झण्डा ओढाएका थिए । 


र्गिय पौडेलका २ श्रीमती २ जना छोरा र ६ जना छोरी छन् ।

स्व. पौडेल तत्कालीन बेसीशहर गाउँ पञ्चायतको दुई पटक सम्म अध्यक्ष भएका थिए । बेसीशहरको मस्र्याङदी बहुमुखी क्यामपसको तीन कार्यकाल अध्यक्ष भएका उनी बेसीशहरको जनविकास मावि, बालमन्दिरका साथै लमजुङ उद्योग बाणिज्य संघको पनि संस्थापक अध्यक्ष भएका थिए ।

स्व.पौडेलले कुन्छाबाट बेसीशहर सदरमुकाम ल्याउन सक्रिय भूमिका खेलेका थिए । त्यतिबेला खगेन्द्रजंग गुरुङको सामाजिक र लिलाबहादुर घिमिरेको प्रशासनिक नेतृत्वमा कुन्छाबाट सदरमुकाम बेसीशहरमा सार्ने अभियानमा उनले बेसीशहरका बासीन्दाको तर्फबाट नेतृत्वदायी भूमिका निभाएका थिए । 


बहुदल आउनु अघि पञ्चायतको समर्थक रहेका स्व. पौडेल २०३६ सालमा केही समय बहदुलमा लागेका पनि थिए तर तत्कालीन प्रधानमन्त्री सुर्यबहादुर थापा लमजुङ आएका बेला उनी पुनः पञ्चायतमा फर्के । प्रजातन्त्र पुनस्र्थापना पछि नेपाली कांग्रेसमा सक्रिय भएका उनी २०५६ मा तत्कालीन बेसीशहर गाविसको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट गाविस अध्यक्षमा उमेदवार भएका थिए । तर उनी तत्कालीन नेकपा एमालेका उमेदवार गुमानसिंह अर्यालसंग पराजित भए ।

पछिल्लो समय पौडेल राजनीतिबाट टाढा भए पनि समाजसेवामा भने तल्लीन थिए । स्व. पौडेलले बेसीशहर र आसपासका सामजिक अभियानमा भौतिक, नैतिक तथा आर्थिक रुपमा योगदान दिका थिए ।

प्रतिक्रिया