गाउँशहरकाे श्रीमद्भागवत ज्ञान महायज्ञमा दानवीहरु बढ्दै, २९ लाख भन्दा बढी रकम संकलन

खबरकुञ्ज

बेसीशहर, मंसिर ७ । लमजुङको ऐतिहािसक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय गाउँशहरमा आयोजित श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञमा स्थानीयकाे सहभागिता बढेसंगै दान रकम पनि बढ्दै गएकाे छ । गत मंसिर २ गतेबाट शुरु भएको महायज्ञको पाँचौ दिनसम्म २९ लाख भन्दा बढी रकम संकलन भइसकेको छ ।

बेसीशहर नगरपालिकाको वडा नंं ३ गाउँशहरमा रहेको लमजुङ दरबार र कालिका मन्दिर परिसरको समग्र विकास, मन्दिरमा नियमित पुजारी ब्यवस्थापन, धर्मशाला र अन्य ब्यवस्थापकीय कार्यका साथै मन्दिर क्षेत्रको विकासका लागि अर्थ संकलन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । महायज्ञको छैटौं दिनमात्रै आईतबार ११ लाख ८० हजार बढी दान रकम संकलन भएको छ ।


महायज्ञको छैटौं दिन आईतबार गाउँशहरका प्रजातन्त्र सेनानी, समाजसेवी, शिक्षासेवी नवीन बानिया र उनकी धर्मपत्नी बसन्ता बानियाँले सर्वाधिक १ लाख ११ हजार १११ रुपैयाँ दान गरेका छन् । आइतबार नै गाउँशहरका समाजसेवी पूर्व प्रधानपञ्च प्रेमबहादुर थापाको परिवारले ५० हजार ५१ रुपैयाँ दान गरेका छन् । उनका छोरा हाल अमेरिकामा कार्यरत रामशरण थापाको तर्फबाट उक्त रकम प्राप्त भएको आयोजकले जनाएको छ ।

महायज्ञमा गाउँशहर निवासी इन्जिनियर अमर बहादुर थापा र उनकी धर्मपत्नी सुभद्रा थापाले १ लाख १ हजार १११, गाउँशहर, चितवन, नवलपुर सम्पर्क समाजले १ लाख ४२ हजार रुपैयाँ दान गरेका छन् । दानदाता ब्यक्ति, संस्थाका प्रतिनिधिलाई महायज्ञस्थलमा संखध्वनीसहित दोसल्ला ओढाई फूलमाला, अबिरजात्रा र सम्मानपत्रसहित लमजुङ कालिका मन्दिर परिक्रमा गराइएको थियो । महोत्सवमा दान गर्ने अन्य दानवीरहरुलाई समेत फूलमाला, रामनामी ओढाएर अविर टिका सहित सम्मान पत्र दिइएको छ ।

महायज्ञमा शनिबार सर्वाधित भक्तजनको भीड लागेको थियो । लोक स्वर सम्राट राजु परियारको समेत आगामन भएको र विदाको दिनसमेत परेकाले महायज्ञ स्थलमा भक्तजनहरुको खचाखत भीड लागेको थियो । शनिबार मात्रै महायज्ञमा ११ लाख भन्दा बढी रकम संकलन भएको महायज्ञको सञ्चार तथा प्रचार प्रसार समितिका संयोजक राजेन्द्र बोहराले जानकारी दिए । उनका अनुसार महोत्सवको चौथो  दिन २ लाख ५१ हजार, तेस्रो दिन २ लाख ४१ हजार, दोस्रो दिन १ लाख २६ हजार र उदघाटनका दिन २८ हजार रुपैयाँ दान संकलन भएको थियो ।

महायज्ञमा समाजसेवी पण्डित दीपक प्रसाद पौडेलले संगीत र नाटकमय भागवत कथा वाचन गरिरहेका छन् । महायज्ञमा बिहान ६ बजेदेखि ९ बजेसम्म सतचण्डी, मंसिर १० गतेसम्म सञ्चालन हुने महायज्ञमा विभिन्न देवलिला सँगै धार्मिक चेतनामूलक नाटक प्रस्तुति सहित पण्डित दिपकप्रसाद पौडेलबाट कथावाचन भईरहेको छ। 

प्रतिक्रिया